साकेलाको खिदिमामा टोलटोलबाट सरकारी सेवा 

१ महिना अघि

२0८१ भाद्र ७ शुक्रबार
साकेलाको खिदिमामा टोलटोलबाट सरकारी सेवा 

खोटाङ, भदौ ७

साकेला गाउँपालिका ३ खिदिमाले नागरिकहरुको समस्या वस्तीस्तरबाटै समाधान गर्न टोलटोल पुगेर सरकारी सेवासहितको घुम्ती शिविर सुरु गरेको छ । बिहीबारदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकको स्वास्थ्य परीक्षण, मालपोत कर सङ्कलन र विविध सिफारिससहितको सेवा टोलबाटै उपलब्ध गराउन शिविर  आयोजना गरिएको हो । 


वडाध्यक्ष गोविन्द तामाङका अनुसार एउटै वडामा ४ दिनसम्म शिविर सञ्चालन गरिने छ । पहिलो दिन पुङमा, किवा, बोरा र मखमले टोलमा शिविर सञ्चालन गरिएको छ । दोश्रो दिन शुक्रबार तावाभञ्ज्याङ, लामीडाँडा र सोल्मा तथा तेश्रो दिन शनिबार हात्तिसुँडे, कोक्रा र सौरे तथा शिविरको अन्तिम दिन आईतबार ढाँडे र बोपुङमा सेवा प्रवाह गरिने वडाध्यक्ष तामाङले बताए । शिविरमा वडा कार्यालयमा कार्यरत कर्मचारी तथा वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ ।


भौगोलिक विकटताका कारण स(सानो काम गर्न पनि दिन माया मारेर वडा कार्यालय सम्म धाउनु पर्ने नागरिकको समस्यालाई मध्यनजर राखेर वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिबाट खर्चको व्यवस्थापन गरेर शिविर सञ्चालन गरिएको उक्त वडाका वडासचिव सुवाष राईले बताए । 

 

शिविरमा शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था मिलाईएको छ भने भौगोलिक विकटताका कारण नियमित रुपमा जग्गाको तिरो तिर्न नपाएका सर्वसाधारणको लागि समेत उक्त शिविर उपयोगी मानिएको छ । 


सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको बताइएको छ । शिविरको पहिलो दिन ५५ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण गराएका छन् भने, एक सय घरधुरीले मालपोत कर बुझाएका छन् । त्यस्तै सामान्य प्राथमिक उपचार र सुगर परीक्षण ६५ जनाले गराएका छन् भने ३५ जनाले विभिन्न परामर्श सेवा प्राप्त गरेको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयालले जानकारी दिए । 


नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा पालिकाको सेवा पुर्याउने कोशिष गरिरहेको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोलटोलबाटै प्रदान हुने उनी बताउँछन् । डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्ने पनि उनलेब ताए ।