ताप्लीका कृष्ण कटारीको ‘डम्पिङसाईट’मा मृत फेला

१ महिना अघि

२0८१ भाद्र ६ बिहीबार
ताप्लीका कृष्ण कटारीको ‘डम्पिङसाईट’मा मृत फेला

कटारी, भदौ ६

कटारीमा बुधबार विहान भेटिएको बेवारिसे शव उदयपुरकै ताप्ली गाउँपालिका १ का कृष्ण दमाई भएको पुष्टि भएको छ । कटारी नगरपालिका ३ राजावासस्थित फोहोर (डम्पिङ साईट)मा बुधबार स्थानीयले फेला परोको बेवारिसे शव ५० वर्षीय  दमाई भएको प्रहरीले जनाएको छ । 


बेवारिसे शव दमाईकै भएको कुरा उनकै भाइ मीनबहादुर परियारबाट पुष्टि भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । इप्रका प्रमुख डिएसपी सुवाष राईका अनुसार फोहोरमा भेटिएको बेवारिसे शव दमाईको भन्ने यकिन उनकै भाइ मीनबहादुरले पहिचान भएको हो । 


मीनबहादुरलाई उद्धृत गर्दै डिएसपी राईले बताए अनुसार कृष्ण १४ वर्षअघिदेखि घर छोडेर हिडेको र अहिले कटारी आएर फोहोर संकलन गर्ने गरेका थिए । पछिल्लो केही समययता काठमाडौंबाट कटारी आएर बजारमा फालिएको फोहोरमा खाली बोतल संकलन गर्ने गरेका थिए । यही क्रममा फोहोरमै सुतेको अवस्थामा मृत भेटिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ । 


स्थानीयबाट बेवारिसे शव फेला पारेको खवर प्रहरीले पाएपछि कटारी अस्पताल लगेर सोधीखोजी थालेको थियो । सोही क्रममा पहिचान खुलेपछि पोष्टमार्टम गरी आफन्तको जिम्मा दिने तयारी गरिरहेको डिएसपी राईले बताए । 


दमाईको मदिरा सेवनबाट मृत्यु भएको अनुमान गरिएको छ । फोहोर संकलन गर्ने, फोहोरको थुप्रोमा सुत्ने गरेका उनी अत्याधिक मदिरा सेवनकै कारण सुतेकै अवस्थामा मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । तर, पनि यथार्थ विवरण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरी भनाई छ ।