वाम्बुले राईहरुको ढ्वाङकुम धुमधाम 

१ महिना अघि

२0८१ भाद्र ४ मंगलवार
वाम्बुले राईहरुको ढ्वाङकुम धुमधाम 

कटारी, भदौ ४ 

किरात राई समुदायभित्रको एक वाम्बुले राईहरुको महान् चाड ढ्वाङकुम कटारीमा सोमबार धुमधामसँग मनाइएको छ । वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारीस्थित साकेला (भूमेथान)मा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया गर्दै ढ्वाङकुम मनाइएको हुो ।


कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सदस्य रामबहादुर राईले वाम्बुले राईहरुको ढ्वाङकुम महान चाड रहेको भन्दै परापूर्वकालमा वाम्बुले बस्तीमा भूमेस्थानमा गोरुको पुजा गरेर घरबाट ल्याएको कागुनीको भात मासु खाने प्रचलन रहेको स्मरण गराए । 


उनले समयक्रममा तत्कालीन राज्यसत्ताले गाईलाई राष्ट्रिय जनावर घोषित गरेसँगै गोरु काट्न प्रतिवन्ध लगाएपछि राँगा काटेर पुजा गर्न थालेको बताए । अहिले सोही कुराले परम्पराको रुप लिएको केन्द्रीय सदस्य राईले बताए । 


कटारी नगरपालिकाका विभिन्न वडा तथा छिमेकी उदयपुरगढी गाउँपालिकामा बसोबास गर्दै आएका वाम्बुले राईहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमले आगामी दिनमा ढ्वाङकुम विषेश र भव्य रुपमा मनाउने निर्णय गरेको छ । वामरास उदयपुरका अध्यक्ष ऋषि राईले आउँदो ढ्वाङकुुम मनाउँदा कटारीकै साकेलास्थान  क्षेत्रमा भूमेस्थानको स्थापना गरी विधिवत पुजा गरेर मनाउने बताए । 


वाम्बुले राईहरुको मुख्य उद्गम ओखलढुङ्गा र खोटाङ हो । त्यहीबाट बसाई सरी विभिन्न ठाउँमा बसोबास गर्दै आएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा (लिब्जु)लाई चढाउँन ढ्वाङकुम मनाउने गरेको अध्यक्ष राईले बताए । उनका अनुसार ढ्वाङकुमलाई साकेला उभौलीको समापनका रुपमा पनि लिने गरिएको छ । 


वाम्बुले राईको उद्गम थलो मानिने ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ३ उँबुमा ‘ढ्वाङकुमटार’ भन्ने ठाउँ रहेको र त्यहाँ वर्षेनी राँगा काटेर सामूहिक पुजा गर्दै लिब्जुको सम्मान गर्ने गरिएको समाजले जनाएको छ । 


पछिल्लो समय उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्ती वन र सिन्धुलीलगायत विभिन्न जिल्लामा वाम्बुले राईको ढ्वाङकुम लिब्ुको पूजा तथा शुभकामना आदानप्रदान र नाचगान गर्दै मनाउने गरिएको अध्यक्ष राईले बताए ।