साकेलाको शैक्षिक सुधार अभियानः सिद्देश्वरी माविमा छड्के अनुगमन 

१ महिना अघि

२0८१ भाद्र ३ सोमबार
साकेलाको शैक्षिक सुधार अभियानः सिद्देश्वरी माविमा छड्के अनुगमन 

साकेला, भदौ ३ 

शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी, गुणस्तरीय र नतिजामुखी बनाउने उद्देश्यले साकेला गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानलाई तिब्रता दिइएको छ । सो क्रममा केही सातायता थालिएको विद्यालय अनुगमनको क्रम निरन्तर चलिरहेको छ । 

 

यसै क्रममा आईतबार वडा नम्बर ३ स्थित सिद्वेश्वरी माध्यमिक विद्यालयको छड्के अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राई नेतृत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, शिक्षा शाखा संयोजक कविराज राईसहितको टोली विद्यालयको छड्के अनुगमनमा पुगेको हो । अनुगमन क्रममा विद्यालयको पठनपाठन चुस्त, भौतिक अवस्था, सरसफाई र प्रशासनिक क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन टोलीले निर्देशन दिएको छ । 

 

अभिभावकहले प्रभावकारी पठनपाठन नभएको, शिक्षक नियमित उपस्थित नहुने तथा राजनीतिक गतिबिधिका संलग्न हुनुले व्यवस्थित पटनपाठन नभएको, विद्यार्थी समयमा कक्षामा नआउने तथा प्रशासनिक र सरसफाईका क्रियाकलाप अव्यवस्थित भएकोजस्ता गुनासो आउने गरेका कारण गाउँपालिकाले हरेक सामुदायिक विद्यालयमा अनुगमन गर्न थालेको जनाएको छ । 


विद्यालयलाई पूर्ण सरसफाई गर्नुपर्ने, भौतिक संरचना व्यवस्थित बनाउनु पर्ने, प्रशासनिक सुधार गर्नुपर्नेलगायत आवाज पनि अभिभावकहरुले उठाउँदै आएका छन् । सोही माग अनुसार गाउँपालिकाले कदम चाल्न अनुगमन थालेको र यसबाट शैक्षिक सुधार गर्ने उदेश्य लिएको छ ।  


गुणस्तरीय शिक्षा प्राप्तीका लागि नियमित पठनपाठन हुनुपर्ने, विद्यालय, शिक्षक र विद्यार्थीहरु राजनीतिक प्रभावमुक्त हुनुपर्ने योजना गाउँपालिकाले अघि सारेको छ । त्यसका लागि नियमित विद्यालय अनुगमन गरी यथार्थ र वस्तुगत चित्र बुझ्नुपर्ने भएकाले सामुदायिक विद्यालयहरुको अनुगमनलाई निरन्तरता दिइएको अध्यक्ष राईले बताए । 

 

गुणस्तरीय शिक्षा प्रदान गरी अपेक्षामूलक नतिजा ल्याउन विद्यमान कमीकमजोरीको सुक्ष्म ढंगले केलाएर सोही अनुसार आगामी दिनको शैक्षिक खाका कोर्ने लक्ष्य पनि गाउँपालिकाले लिएर अनुगमन कार्यलाई नियमितता दिएको बताए । ‘हामी सामुदायिक विद्यालयहरुको नतिजामा सुधार ल्याई परिणाममुखी शिक्षाको खोजीमा छौं’ अध्यक्ष राईले भने ‘त्यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी, सरोकारवाला व्यक्ति सबैले साथ दिनुपर्छ ।’


अनुगमनको क्रमा अध्यक्ष राईले सो विद्यालयमा अध्ययनरत विद्यार्थी वालवालिकाहरुसँग अन्तक्र्रियासमेत गरेका छन् । नियमित पठनपाठन, विषयवस्तु अनुसारको ज्ञान, समयको पालना, विद्यालय तथा कक्षाकोठा सरसफाईको अवस्था, व्यक्तिगत आचारण र बानी व्यहोरा, जीवनको महत्व, समयको महत्व, विज्ञानले बनाएको समय, नैतिक र व्यवहारिक ज्ञानलगायतबारे कक्षा ९ र १० का विद्यार्थीहरुसँग अध्यक्ष राईले अन्तरक्रिया गरेका हुन् ।

 

विद्यालयको भौतिक, शैक्षिक, अनुशासन, प्रशासनिक, सरसफाई र विद्यार्थी उपस्थितिसम्मको समग्र विषयको सुधारका लागि अनुगमन कार्यलाई निरन्तरता दिइने गाउँ शिक्षा समितिले जनाएको छ । विद्यालयमा शिक्षक शिक्षिका नियमित उपस्थित छन् छैनन, भए पनि पठनपाठन नियमित गरेका छन् कि त्यत्तिकै बसेका छन् अनुगमनमा हेर्ने गरिएको छ । 

 

विद्यालयमा प्रधानाध्यापकले जिम्मेबारी अनुसार प्रशासन चलाएका छन् या छैनन्, शिक्षकहरुले विषयगतभन्दा बाहिर गएर पढाएका छन् कि, विद्यार्थीको उपस्थिति कस्तो छ, सरसफाईको अवस्था के छ आदि इत्यादि विषयहरु अनुगमनका सूचक बनाइएको अध्यक्ष राईले बताउनुभयो । विषयवस्तु अनुसार पठनपाठन गराए नगराएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठिक छ छैन भन्ने कुरा पनि अनुगमन गर्ने गरिएको छ ।

 

शिक्षा शाखा संयोजक कविराज राईले शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शिता कायम गर्न पनि अनुगमन प्रभावकारी र नियमित गर्न थालिउको बताए । उनका अनुसार कक्षा शिक्षणमा समयसम्म रहेर शिक्षण गर्न, शिक्षकहरुले नेपाल सरकारले निर्धारण गरेको पोषाक नियमित लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी तवरले गर्न, विद्यालयमा राजनैतिक गतिविधि र क्रियाकलाप बन्द गर्न, विद्यार्थीका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न लगाइएको छ ।

 

विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षक समाग्रीको प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातवरण सफा राख्ने लगायतका सुझाव अनुगमनको त्रममा विद्यालयलाई दिइएको पनि संयोजक राईे बताएका छन् ।