साकेला माविमा छड्के अनुगमन

१ महिना अघि

२0८१ भाद्र १ शनिबार
साकेला माविमा छड्के अनुगमन

उदयपुर, भदौ १

गाउँ शिक्षामा आमूल सुधारको अभियान थालेको खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा छड्के अनुगमन निरन्तर गरिरहेको छ । सामुदायिक विद्यालयको खस्कदो शैक्षिक अवस्था सुधारका लागि थालिएको अभियानलाई अझ प्रभावकारी बनाउन छड्के अनुमगन गर्न थालेको हो । 

 

विद्यालयको भौतिक, शैक्षिक, अनुशासन, प्रशासनिक, सरसफाई र विद्यार्थी उपस्थितिसम्मको समग्र विषयको सुधारका लागि अनुगमन कार्यलाई निरन्तरता दिइने गाउँ शिक्षा समितिले जनाएको छ । शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले अनुगमनको क्रममा विद्यालयको चौतर्फी अवयवहरुलाई डिठ्याउने गरिएको बताए । उनका अनुसार विद्यालयमा शिक्षक शिक्षिका नियमित उपस्थित छन् छैनन, भए पनि पठनपाठन नियमित गरेका छन् कि त्यत्तिकै बसेका छन् अनुगमनमा हेर्ने गरिएको छ । 


त्यसैगरी विद्यालयमा प्रधानाध्यापकले जिम्मेबारी अनुसार प्रशासन चलाएका छन् या छैनन्, शिक्षकहरुले विषयगतभन्दा बाहिर गएर पढाएका छन् कि, विद्यार्थीको उपस्थिति कस्तो छ, सरसफाईको अवस्था के छ आदि इत्यादि विषयहरु अनुगमनका सूचक बनाइएको अध्यक्ष राईले बताए । विषयवस्तु अनुसार पठनपाठन गराए नगराएको, विद्यालयको प्रशासनिक तथा
व्यवस्थापकीय पक्ष ठिक छ छैन भन्न्े कुरा पनि अनुगमन गर्ने गरिएको छ । 


जन अनुसार शुक्रबार २ नं. वडा रतन्छास्थित साकेला माध्यमिक विद्यालयमा अध्यक्षि राई नेतृत्वको टोलीले छड्के अनुगमन गरेको छ । अनुगमनको क्रममा विद्यालयको पठनपाठन सुधार गर्न विभिन्न सुझाव पनि टोलीले दिएको छ । अनुगमनको क्रममा अध्यक्ष राईलगायत  टोलीमा सहभागी सदस्यहरु विद्यालयको हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा सहभागीसमेत भएका छन् । 


अतिरिक्त क्रियाकलापमा सहभागी हुँदै अध्यक्ष राईले आजाका बालवालिकालाई भविष्यमा नैतिकवान र जिम्मेवार नागरिक बनाउन सबै सामुदायिक विद्यालयले नैतिक शिक्षाको थालनी गर्नुपर्ने बताए । उनले अतिरित्त क्रियाकलापको सट्टा नैतिक शिक्षा दिन थाल्नुपर्ने भन्दै उनले त्यसका लागि विद्यालयले आवश्यक तयारी गर्न सुझावसहित निर्देशन दिए । 


बालबालिकालाई नैतिक शिक्षा दिन सकियो भने मा भविष्यमा समृद्ध समाज निर्माण गर्न सकिने उनको बुझाई छ । भोलिका दिनमा अनुशासित नैतिकवान नागरिक बनाउन सके समाज सभ्य, शान्त र समृद्ध बन्ने भएकाले त्यसतर्फ आजैदेखि विद्यालयहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो । 


कक्षाकोठा, व्यवस्थापकीय अवस्था, भौतिक तथा प्रशासनिक व्यवस्थापन विषयमा गरेको अनुगमन निरीक्षणको क्रममा विद्यालयको शैक्षिक अवस्थाबारे सुक्ष्म ढंगले जानकारी लिएको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक र.विद्यालय व्यवस्थापन समितिलाई अध्यक्ष राईले सुझाएका थिए । गाउँपालिकाभित्र सञ्चालित २८ वटै सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्ने कार्यलाई निरन्तरता दिदै जाने पनि उनले बताए । 


नियमित र छड्के अनुगमनले साकेला गाउँपालिकाको समग्र शैक्षिक अवस्थामा सुधार हुँदै गएको र आगामी दिनमा थप राम्रो नतिजा ल्याउने अपेक्षा लिइएको छ । हरेक विद्यालय पठनपाठनकै समयमा पुगेर गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिने गरेको टोलीले विषयवस्तुप्रति शिक्षक शिक्षिका गम्भीर छन् छैनन् र विद्यार्थीमा अनुशासन र पठनपाठनप्रति लगाव छ छै्न भन्ने कुरासम्मको निगरानी राख्ने अध्यक्ष राईले बताएका छन् । 


अनुगमनको बmममा पठनपाठन नगराएको, सरसफाई नभएको, शिक्षक शिक्षिका राजनीतिक दल र तिनका भ्रातृसंस्थामा आबद्ध रहेको, विद्यार्थीलाई राजनीतिक संगठनमा समावेश गराउने गरेकोलगायत जनगुनासो आउन थालेपछि गाउँपालिकाले अनुगमन थालेको पनि अध्यक्ष राईले बताए । विद्यालयको शैक्षिक सुधारका लागि जुनसुकै बेला जुनसुनै विद्यालयमा अनुगमन गर्ने उनको भनाई छ । 


अनुगमनको क्रममा कमीकमजोरी भेटिए सुधार्ने मौका दिने तर, पटकपटक गल्ती गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि उनले दिएका छन् । उनले ‘साकेलाको शैक्षिक अवस्थामा सुधार ल्याउँदे सुखद र उत्कृष्ट नतिजा ल्याउनका लागि  निरन्तर लागी पर्दै जाने र राम्रोलाई पुरस्कार तथा नराम्रोलाई सजायको भागीदार बनाउने उनको दृढता छ ।