विद्यालयमा दलीय सङ्गठन बनाउन रोक 

१ महिना अघि

२0८१ श्रावण ३२ शुक्रबार
विद्यालयमा दलीय सङ्गठन बनाउन रोक 

उदयपुर, साउन ३१

खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा राजनीतिक दलको गतिबिधि मनाही गरिएको छ । पठनपाठनमा असर गर्ने र विद्यार्थीको भविष्य बिगार्ने भएकाले अध्ययनरत बालबालिकालाई कुनै पनि राजनीति कलको संगठनहरुमा संलग्न नगराउने निर्णय गगरिएको हो । 


त्यसका लागि यसअघि हुने गरेको विभिन्न राजनीतिक दलको भातृसंस्थाको संगठन निर्माण र त्यसमा आवद्ध गराउन बन्द गरिएको गाउँ शिक्षा समितिले जनाएको छ । विद्यालयमा राजनीतिक दलीय संगठन निर्माण गर्ने, प्रशिक्षण दिने र राजनीतिक क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउँदा शैक्षिक गुणस्तर र प्रभावकारी नतिजा ल्याउन गम्भीर असर परेको निष्कर्ष निकाल्दै यस्तो कदम चालिएको गाउँपालिकाले जनाएको छ । 


गाउँ शिक्षा समितिको भर्खरै सम्पन्न बैठकले विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि नगर्न तथा बालवालिकालाई राजनीतिक गतिबिधिमा सहभागी हुन नदिने निर्णय गरेको हो ।


गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रविप्रकाश राईको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । सामुदायिक विद्यालयमा अध्ययनरत  विद्यार्थीहरु १६ वर्षभन्दा मुनि उमेरका हुने भएकाले नाबालक ठहरिने उनीहरुलाई राजनीतिमा भन्दा पठनपाठनमै केन्द्रित गराउनुपर्ने ठहर बैठकले गरेको छ । 


सो आवश्यकता महसुस गर्दै बालबालिकाहरुलाई राजनीतिबाट टाढा राख्न दलीय संगठनहरु सामुदायिक विद्यालयमा गठन नगर्न निर्देशन दिइएको अध्यक्ष राईले बताए । दलीय संस्थामा आवद्ध गराउँदा बालबालिकालाई विभिन्न प्रलोभन देखाएर संगठनमा आवद्ध गराउने गरिएको र उनीहरुको पढाई खस्कँदो अवस्थामा पुगेको विद्यालय व्यवस्थापन समिति र अभिभावकको गुनासो आए अनुसार यस्तो कदम चालिएको अध्यक्ष राईले बताए । 


विद्यालयलाई राजनीतिक गतिविधिबाट टाढै राख्नुपर्ने सुझाव अबिभावकबाट आएपछि गाउँ शिक्षा समितिले वैठकबाटै निर्णय गरेर कदम चालेको अध्यक्ष राईको भनाई छ । नाबालक उमेरका बालबालिकालाई पठनपाठनको ठाउँमा राजनीतिमा संलग्न गराउनु नेपालको संविधानविपरित कार्य हुन जाने कुरा संविधानको धारा १७ र ३९ लाई टेकेर निर्माण भएको बालबालिका ऐन्, २०७५ को परिच्छेद ८ को बालबालिकाविरुद्ध हुने कसुरको दफा ६६ को उपदफा २ को (छ) मा उल्लेख छ । 


सो दफामा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठीत गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाउने उल्लेख छ । सो अनुसार गाउँ शिक्षा समितिले विद्यालयहरुमा विद्यार्थी संगठन निर्माणमा प्रतिवन्ध गर्ने निर्णय गरेको हो ।

 

यस्तो निर्णयपछि गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा गठन भएका राजनीतिक दलीय संघ संगठनमा बालबालिकालाई आवद्ध गराउन, राजनीतिक प्रशिक्षण दिन, गतिविधिमा सहभागी गराउन नपाइने भएको छ । त्यसैगरी कुनै विद्यालयमा संगठन निर्माण भएको भए खारेज गरी बालवालिकाले लिएको सदस्यता फिर्ता गर्न र विद्यालयमा राजनीतिक दलको सङ्गठन नभएको स्पष्ट हुने पत्र विद्यालयहरुले गाउँपालिकालाई पठाउन पनि समितिले निर्र्देशन गरेको छ । 


साकेला गाउँपालिकामा एउटा क्याम्पससहित ६ वटा माध्यमिक विद्यालय तथा २२ वटा आधारभूत विद्यालयहरु सञ्चालित रहेको गाउँ शिक्षा समितिले जनाएको छ ।