सिद्धिचरण लोकमार्गमा ट्रक खस्यो

१ महिना अघि

२0८१ श्रावण ३१ बिहीबार
सिद्धिचरण लोकमार्गमा ट्रक खस्यो

उदयपुृर, साउन ३१


कटारी–घुर्मी खण्डको सिद्धिचरण लोकमार्गको पहिरोमा परी विहीबार विहान मालबाहक ट्रक खसेको छ । विहान २ः०० बजेजस्तो समयमा कटारी नगरपालिका १४ को लामीडाँडा भन्ने ठाउँमा पहिरोमा परी ट्रक सडकभन्दा झण्डै २५ मिटर तल पुगेर अड्किएको छ । 


 प्रदेश १–०२–००२ ख ०१२६ नं.को ट्रक घट्ना हुनु अगावै चालक र सहचालक ट्रकबाट निस्केका कारण मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले बताए । उनका अनुसार ट्रक खोटाङदेखि उतिसको काठ लिएर कटारीतर्फ आउँदै गरेको अवस्थामा पहिरोमा परेको हो । 


घट्नास्थल आसपासमै रहेका सडक मजदुर कुमार प्याकुरेलका अनुसार राति अँध्यारोमा चालकले बाटो राम्ररी ठम्याउन नसक्दा ट्रक सडक छेउतर्फ पहिरोले पुरेको दलदलमा फस्न पुगेको हो । दलदलबाट निकाल्न खोज्दा झन् फस्ने देखिएपछि चालक र सहचालक निस्केका काराण् बँचेको उनले बताए । 


ट्रक चालक संखुवासभाका २५ वर्षीय ललित विक र नाम नखुलेका सहचालक सकुशल रहेको र ट्रक निकाल्न क्रेनको खोजीमा लागेको डिएसपी राईले बताए । ट्रक मालिकि विकास रिजालको भन्ने बुझ्नमा आएको र निकाल्न क्रेनको खोजी भईरहेको डिएसपी राईले बताए । अहिले स्थानीय बेतिनी र घुर्मी चौकीका सुरक्षाकर्मीलाई घट्नास्थलको सुरक्ष्ाँमा खटाइएको उनको भनाई छ । 


सिद्धिचरण लोकमार्ग सिराहाको मिर्चयादेखि उदपुरको कटारी–घुर्मी हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जोड्ने प्रमुख सडक हो । तर, आवश्यक बजेट अभावमा वर्षौँदेखि स्तरोन्नति हुन नसक्दा वर्षेनी धेरै दुघट्ना भएर जनधनको क्षति हुँदै आएको छ । 


तत्कालीन शाही नेपाली सेनाको निर्माणमा कालोपत्रेसहितको यो लोकमार्ग ०५८ सालदेखि सञ्चालनमा आएको थियो । मिर्चया–घुर्मी ४७ किलोमिटरमध्ये कटारी–बेतिनी भन्ज्याङ खण्ड मारुती सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने अत्याधिक भारवहनका ट्रक र टिफर दिनरात चल्दा सञ्चालनमा आएको वर्षदिनमै ध्वस्त भएको थियो । 


सिराहाको चोहरवामा रहेको मारुती सिमेन्टका चुनढुंगा सिन्धुलीको ककुरठाकुरस्थित खानीबाट बोक्ने टिफरले लोकमार्गलाई धुले सडकमा परिणत गरेको हो । केही वर्षयता कटारी नगरपालिका ८ सिरिसे र आसपासका २ वटा खानीबाट कसमस र सौर्य सिमेन्टको चुनढुंगा पनि ओसार्न थालेपछि सडक अवस्था थप नाजकु बनेको छ ।