३ महिना अघि
२0८१ श्रावण ३0 बुधबारकटारी, साउन ३०
कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले आफुमाथि हुँदै नभएको आरोप लगाएर भ्रष्टाचारी करार गर्न खोजेको दुखेसो गरेका छन् । केही व्यक्तिहरुले तथ्यहीन, कपोलकल्पित र भ्रामक आरोप लगाउँदै आफुलाई भ्रष्टाचार गरेको उनको गुनासो छ ।
बुधबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर श्रेष्ठले गलत आरोप लगाएर नगरबासीमा भ्रम छरेको भन्दै त्यसको खण्डन गरेका हुन् । तोकिएको मितिमा नगर अधिवेशन हुन नसकेर गत २७ गते मात्र पारित गरेको चालु आर्थिक वर्ष ०८१÷८२ को बजेट तथा नीति कार्यक्रमको विषयलाई लिएर आफुविरुद्ध केही गलत मनसाय बोकेका व्यक्तिहरुले सुनियोजित आक्रमण गर्न खोजेको गुनासो श्रेष्ठले गरेका छन् ।
नगर अधिवेशन नियमानुसार सुरु गरेर सौहार्द्रपूण सम्पन्न गरे पनि केही घण्टापछि अनावश्यक विवाद सिर्जना गरेर आफुमाथि भ्रष्टाचारजस्तो गम्भीर आरोप लगाएको उनको दुखेसको छ । नियमानुसार तेह्रौँ नगर अधिवेशनमा उपमेयर गीता खड्काले चालु आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेको, त्यसपछि सभा खुल्ला गरेर सभासदहरुसँग प्रश्नोत्तर भएको र सर्वसम्मत रुपमा कर्तल ध्वनी (ताली बजाएर)का साथ बजेट पारित गर्दै सभा सकिएको मेयर श्रेष्ठले बताए ।
तर, बजेट पारित गरी सबैजना घरघर गईसकेपछि एक्कासी रोयल्टी बाँडफाँडको १ करोड ७६ लाख रकम मेयरले मनोमानी ढंगले खर्च गरेर भ्रष्टाचार गरेको आरोप आफुमाथि लाग्दा चित्त दुखेको गुनासो गरे ।
‘हामीले स्थानीय सरकार सञ्चालन ऐन् अनुसार नगर अधिवेशनमा उपमेयरज्युले बजेट प्रस्तुत गर्नुभयो, त्यसपछि फ्लोर ओपन गरियो’ अधिवेशनको चित्र प्रस्तुत गर्दै श्रेष्ठले भने ‘त्यसपछि उठेका प्रश्नको बुँदागत रुपमा सवाल जवाफ भयो र सबैको जिज्ञाशा समाप्त गरेपछि कर्तल ध्वनीका साथ सर्वसम्मत बजेट पारित भएको हो । तर, केही घण्टापछि नै मेयरले रोयल्टी बाँडफाँडको १ करोड ७६ लाख रकम भ्रष्टाचार गरेको हुँदै नभएको कुरा सामाजिक सञ्जाल र बजार हल्लामा छ्याप्छ्याप्ती पार्दै गम्भीर आरोप लगाइयो ।’
श्रेष्ठले नगरबासीको हितमा केन्द्रित भएर विकास निर्माण र जनपक्षीय काम गर्दा यस्तो हुँदै नभएको आरोप खेप्नु परेको दुखेसो गरे । यस्तो तथ्यहीन आरोप लगाउँनुमा दलीय राजनीतिक मनोविज्ञान र आफुविरुद्ध राजनीतिक इगो साँधेको हुनसक्ने अनुमान उनको छ ।
आरोप लगाएजस्तो १ करोड ७६ लाख भ्रष्टाचार गर्नु त के ७६ पैसा मात्र खाएको प्रमाणित भए पििन राजनीतिबाट सन्यास लिने घोषणा मेयर श्रेष्ठले गरेका छन् । ‘त्यो सबै रकम एक–एक नगर विकास र सकारात्मक काममा खर्च भएको छ’ पत्रकार सम्मेलनमा श्रेष्ठले प्रष्ट्याए ‘सबै शीर्षकको रकममा सम्बन्धित शाखाबाट सिफारिस भई, प्रमुख प्रशासकीय अधिकृतबाट टिप्पणी उठाई सदर गरेर भुक्तानी भएको बील भर्पाई नगरबासीले सबैले हेर्न सक्न्छन्, कतै १ पैसा तलमाथि भएको प्रमाणित भए म राजनीति छाडिदिन्छु ।’
नगरपालिकाले रोयल्टी बाँडफाँडको रकम खर्च गर्ने मेयरको अधिकारक्षेत्रभित्र परे पनि सबैसँगको सरसल्लाहमा विकास निर्माणमै खर्च गर्नेगरी विनियोजन गरेको भन्दै उनले त्यो पनि सकेसम्म कम खर्च गरेको बताए । उनको विवरणमा विभिन्न १९ शीर्षकमा रकम विनियोजन गरेकोमध्ये ५ शीर्षकको रकम खर्च नभएको उल्लेख छ ।
‘जनतासँग मेयर कार्यक्रम’ शीर्षकमा विनियोजित २६ लाख ९८ हजार रकम खर्च भएको छैन भने ‘पाईप खरिद’का लागि विनियोजित १० लाख, ‘प्राविधिक तथा अन्य कर्मचारीका लागि ल्यापटप खरिद’ ५ लाख, ‘फर्निचर तथा फिक्चर्स’ ५ लाख र ‘विमा तथा नवीकरण’ शीर्षकको ५ लाख खर्च नभएको विवरणमा उल्लेख छ ।
त्यसैगरी महँगी भत्ता शीर्षकमा विनियोजित ११ लाखमध्ये ८ लाख ८८ हजार खर्च भएको छ भने विद्युत पोल खरिद तथा व्यवस्थापन ३ लाखमध्ये १ लाख ४४ हजार २ सय ९१, बैठक भत्ता शीर्षकको १० लाख खर्च भएको छ । त्यस्तै १० लाख विनियोजित पानी तथा विजुली शीर्षकको रकममा ७ लाख ७६ हजार ४ सय ४७ रुपैँया खर्च हुँदा प्रस्ताविक मेडिकल कलेजका लागि जग्गा व्यवस्थापन शीर्षकमा विनियोजित १० लाखमध्ये ९ लाख ५५ हजार ३ सय ६२ खर्च भएको विवरणमा उल्लेख छ ।
उता विपत व्यवस्थापनमा विनियोजित १५ लाखमध्ये १२ लाख ७ हजार ९ सय ८४ खर्च हुँदा मसलन्द तथा कार्यालय सामग्रीलाई छुट्याइएको १० लाखमध्ये ९ लाख ८६ हजार ४ सय ९५ खर्च भएको छ । अपाङ्गता भएकालाई स्कुटर किन्न १ लाख ६० हजार छुट्याएकोमा ७९ हजार ८ सय १०, अनुगमन मूल्यांकनमा ८ लाख विनियोजन गर्दा ७ लाख ३५ हजार ३ सय ५० र विविध खर्च १८ लाख छुट्याइएकोमा १७ लाख ९२ हजार ७ सय ५९ रुपैँया खर्च भएको फेहरिस्त मेयर श्रेष्ठले सुनाए ।
त्यस्तै सवारी साधन मर्मतार्थ ५ लाखमध्ये ३ लाख ५२ हजार ९ सय ७९, कार्यालय प्रयोजन इन्धन १५ लाखमध्ये ८ लाख ४८ हजार ८ सय ७५ खर्च हुँदा पत्रपत्रिका छपाई र सूचना प्रकाशन १० लाखमध्ये ७ लाख ७३ हजार ३ सय २० रुपैँया खर्च भएको छ । सम्मेलनमा जारी विज्ञप्तीमा रोयल्टी बाँडफाँड रकमको सबभन्दा ठूलो हिस्सा ६२ लाख ५ हजार ७ सय ६१ रुपैँया गतवर्षको घाटा बजेट पूर्ति गरिएको मेयर श्रेष्ठद्वारा प्रस्तुत विवरणमा उल्लेख छ ।
कटारीले गतवर्ष ल्याएको बजेट अनुमान अनुसार आन्तरिक राजश्व नउठेको तथा संघ र प्रदेशबाट पनि तोकिए बमोजिम बजेट नआउँदा भएको घाटा रोयल्टी बाँडफाँडबाट पूर्ति गर्नु परेको उनले बताए । गतवर्ष ८९ करोड ९४ लाख ४ हजार ९ सय ७१ रुपैँया ६२ पैसाको बजेट ल्याएकोमा ८० करोड २७ लाख २१ हजार १२ रुपैँया २६ पसा मात्र यथार्थ आमदानी भई ९ करोड ९४ लाख घाटा भएको श्रेष्ठले बताए ।
नेपाली काँग्रेसबाट चुनाव जिते पनि आफु जनप्रतिनिधि भएपछि सबैको साझा मेयर भएर काम गर्दा पार्टीका केही व्यक्ति र विपक्षी दलले तारो बनाएको दुखेसो पनि श्रेष्ठले गरेका छन् ।
नगर प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले रोयल्टी बाँडफाँडको रकम सामाजिक सञ्जाल र बजार हल्लामा भनेजस्तो भ्रष्टाचार र अनियमितता नभएको बताए । नगरको आवश्यक्ता अनुसार विनियोजन गरेको रकम शीर्षक अनुसार विधि प्रक्रिया पुरा गरेर मात्र खर्च भएकाले भ्रष्टाचार भन्नै नमिल्ने हाकिम भट्टराईको भनाई छ ।
उनले गतवर्ष बजेट घाटा भएकाले चालुवर्ष बजेट ल्याउँदा यथार्थपरक होस् भन्ने मनसाय लिँदा माग बमोजिम बजेट नपाउदा केही असमmदारीका सुरु भएको र त्यसैले विवादको रुप लिएको बताए । बजेट सौहाद्र्रपूर्ण रुपमा पारित भएको र केही समस्या देखिएकाले प्रष्ट्याउन पत्रकार सम्मेलन गरिएको हाकिम भट्टराईले बताए ।
उपमेयर गीता खड्काले सामान्य कमजोरीका कारण अहिले जटिल मोड लिदै गएको भन्दै यस्तो हुन नहुनेतर्फ सचेत गराईन् । मेयर कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रशारण (लाईभ) हेरेको बताउँदै खड्काले सम्मेलनपछि पत्रकारसँग सामान्य समन्वय अभावले यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिईन् । उनले मेयर र उपमेयर मिलेर मात्र नगरबासीको हितमा काम गर्न सकिने बताएकी छिन् ।
सम्मेलनमा कटारीका १४ मध्ये नेपाली काँग्रेसबाट निर्वाचित ३ र नेकपा (माओबादी केन्द्र)बाट निर्वाचित १ गरी ४ जना वडाध्यक्ष मात्र सहभागी थिए । एमालेबाट विजयी वडाध्यक्षहरु र स्वतन्त्र निर्वाचित वडाध्यक्ष अनुपस्थित हुनुले विवाद हुनुमा दलीय मनोविज्ञानले काम गरेको अनुमान लगाउन गाह्रो थिएन ।