साकेलाको शैक्षिक सुधार अभियानः विव्यस अध्यक्षसँग छलफल 

१ महिना अघि

२0८१ श्रावण ३0 बुधबार
साकेलाको शैक्षिक सुधार अभियानः विव्यस अध्यक्षसँग छलफल 

उदयपुृर, साउन ३०

सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा जुटेको खोटाङको साकेला गाउँपालिकाले विद्यालय लक्षित विविध गतिबिधि सुरु गरेको छ । शिक्षामा सुधार नभएसम्म अन्य सुधार संभव नहुने निश्कर्ष निकालेको गाउँपालिका पछिल्लो समय आक्रामक शैक्षिक सुधार अभियानमा जुटेको हो । 

 

यस क्रममा सामुदायिक विद्यालयको अनुगमन, आवश्यक सामग्री वितरण, दक्ष जनशक्ति व्यवस्थापन, प्रशासनिक कडाई, शिक्षक विद्यार्थीको नियमित उपस्थिति, तोकिए अनुसार विषयगत पठनपाठन आदि कार्य गराउन थालिएको छ । केहीदिनयता विद्यालयको छड्के अनुगमन थालेको गाउँपालिकाले भर्खरै विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुसँग परामर्श गर्न थालेको छ । 

 

दरवन्दी अनुसार विषयगत शिक्षक नहुनु र अनियमित शिक्षक सरुवा हुने प्रवृत्तिले र्शक्षिक गुणस्तर खस्केको निष्कर्ष पनि गाउँपालिकाले निकालेको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सके मात्र नतिजा सुधार गर्न सकिने उद्देश्यले गाउँपालिकाले विव्यस अध्यक्षहरुसँग परामर्श थालेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उनका अनुसार भर्खरै सम्पन्न विव्यस अध्यक्षहरुसँगको अन्तरक्रियात्मक छलफलबाट यस्तो निष्कर्ष निस्केको हो ।

 

अनियमित तवरले शिक्षक सरुवा गर्नु गुणस्तरीय शिक्षाको मापदण्ड विपरित कार्य भएको निष्कर्ष पनि छलफलले निकालेको छ । छलफलमा विव्यस अध्यक्षहरुले आगामी दिनमा शिक्षक सरुवा गर्दा सम्बन्धित निकाय (सरकार) गम्भीर हुनुपर्ने सुझाव दिएका छन् । मंगलबार अध्यक्ष राईक कार्यकक्षमा सम्पन्न छलफलमा गाउँपालिकाभित्रका ६ वटा माविका
विव्यस अध्यक्षहरु सहभागी थिए । 

 

छलफलमा गाउँपालिकाको समग्र शैक्षिक क्रियाकलापलाई प्रभावकारी र गुणस्तरीय बनाउन शिक्षा शाखाले विविध कार्यक्रमलाई निरन्तरता दिन थालेको र यसमो मुख्य लक्ष्य सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नु रहेकोमा जोड दिइयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि साकेलाभित्रका २८ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकसँग बृहत अन्तरक्रिया यसअघि नै सम्पन्न भईसकेको उनले बताए । 

 

त्यसैगरी विद्यालयको अनुगमन नियमित गर्ने कुरालाई प्राथमिकता दिइएको छ भने हरेक विद्यालयका विव्यससँगको अन्तरकृयालाई निरन्तरता दिदै गुणस्तरीय र नतिजामूलक शिक्षा पद्धतिबारे छलफल सुरु भएको छ । शैक्षिक अवस्था सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सके उत्कृष्ट नतिजा ल्याउन सफल भइने आँकलन गरिएको छ । हरेक शैक्षिक गतिविधिमा शिक्षक, अभिभावक, विद्यार्थीले साथ दिनुपर्ने गाउँपालिका अध्यक्ष राई बताउँछन् । 

 

‘हामी नतिजामूलक, व्यवहारिक र नैतिक शिक्षालाई प्रथमिकता दिएर अघि बढिरहेका छौँ’ अध्यक्ष राई भन्छन् ‘त्यसका लागि गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ ।’ त्यसो त साकेलाभित्रका हरेक विद्यालयमा नैतिक शिक्षाको थालनी यसै शैक्षिक सत्रबाट सुरु भईसकेको छ । गाउँ शिक्षा समितिले निर्णय गरेरै हप्ताको हरेक शुक्रबार अनिवार्य अतिरिक्त क्रियाकलापको सट्टामा नैतिक शिक्षा पठनपाठन गराउन थालिएको छ । 

 

गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दैै विद्यार्थीलाई नतिजामूलक उदेश्य प्राप्तीका लागि केन्द्रित गर्न थालिएको छ । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अन्य विद्यालयका विव्यस अध्यक्ष र पदाधिकारीबीच पनि निरन्तर अन्तरक्रिया तथा प्रत्यक्ष विद्यालय अनुगमन कार्य गरिदै आएको शिक्षा शाखा संयोजक कविराज राईले बताएका छन् ।