कटारीले ल्यायो ८७ करोडको बजेट 

३ महिना अघि

२0८१ श्रावण ३0 बुधबार
कटारीले ल्यायो ८७ करोडको बजेट 

कटारी, साउन ३० 

उदयपुरको कटारी नगरपालिकाले तोकिएको मितिभन्दा झण्डै डेढ महिनापछि बजेट तथा नीति कार्यक्रम ल्याएको छ । अघिल्लो आर्थिकवर्षको असार मसान्तभित्रै पारित गरिसक्नुपर्ने चालु आर्थिकवर्षको बजेट नगरपालिकाले भर्खरै पारित गरेको हो ।


गत आईतबार प्रस्तुत भएको चालु आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट सोमबार पारित भएको हो । आईतार नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख गीता खड्काले पेश गरेको बजेट सोही दिन पारित भएको घोषणा गरिएको थियो । बजेट पारित भएको घोषणा गरेर सबै जना घर फर्किसकेको १२ घण्टापछि पुनः विबाद सिर्जना गरेपछि सोमबार पुनः बैठक बसेर बजेट पारित गर्नु परेको बताइएको छ । 


‘साउन २७ गते आयोजित १३ औँ नगरसभामा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रमसँगै उपप्रमुख गीता खड्काद्वारा पेस भएको बजेट सोहीदिन पारित भएको थियो’ एक नगरसभा सदस्यले भने ‘तर, कार्यक्रम सकेर घर फर्केको १२ घण्टापछि फेरि बिबाद देखियो र २८ गते अर्को बैठक राखेर लामो छलफलपछि बजेट पारित गरियो ।’


प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले नगरसभाले चालु वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैंयाको अनुमानित आयव्यय पारित गरेको बताए । भट्टराईको भनाई अनुसार चालु वर्षको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालुतर्फ ४० करोड ६६ लाख ५५ हजार रुपैंया अनुमान गरिएको छ भने पुँजीतर्फ १ करोड ७० लाख २२ हजार, समपूरक अनुदान १ करोड १० लाख र विशेष अनुदान १ करोड २० लाख अनुमान गरिएको छ । 


सङ्घतर्फकै वित्तीय समानीकरण १२ करोड ६६ लाख ६० हजार अनुमान गर्दा राजश्व बाँडफाँड ४० लाख अनुमान गरिएको छ । त्यसै गरी प्रदेशतर्फ सशर्त चालु अनुदान ७४ लाख ३८ हजार, सशर्त पुँजीगत अनुदान १ करोड ७४ लाख ५८ हजार र समपूरक अनुदान १ करोड ३० लाख अनुमान गरिएको छ ।


चालु वर्ष वडाहरूलाई न्यूनतम ७० देखि अधिकतम साढे ७१ लाखसम्म वडा सिलिङ पारित गरेको पनि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताएका छन् । जस अनुसार १४ वटा वडाका लागि  ९ करोड ९२ लाख विनियोजन भएको छ । 


नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर श्रेष्ठले विगतको बजेटको उपलब्धि र घाटा बजेटको नकारात्मक प्रभावबारे जानकारी गराए । उनले घाटा बजेट ल्याउँदाको दूरगामी असर नगर बासीले भोग्नुपरेको प्रस्ट्याउँदै उनले चालु वर्षको बजेटमा सकेसम्म त्यस्तो नहोस् भनेर सचेत हुँदा नगर सभा गर्न ढिलाइ भएको बताए।


चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम गत असार १० गतेभित्र पेस गरेर २५ गतेभित्र पारित गरिसक्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेको छ । तर, विविध कारणले बैठक नै बस्न नसकेका कारण नगरसभा ढिला हुन गएको हो ।