गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा अनुगमन

१ महिना अघि

२0८१ श्रावण २९ मंगलवार
गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा अनुगमन

साकेला, साउन २९

सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उदेश्यले खोटाङको साकेला गाउँपालिकाले अनुगमन सुरु गरेको छ । शिक्षामा सुधार ल्याउँदै बालबालिकालाई गुणस्तरीय पठनपाठन गराउनका लागि सामुदायिक विद्यालयहरुमा निगरानी बढाएको हो । 


विद्यालयको प्रत्यक्ष अनुगमन गर्दै समग्र शैक्षिक अवस्थाको जानकारी लिन अनुगमन थालिउको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । जस अनुसार अध्यक्ष राई नेतृत्वको टोलीले गाउँपालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयको अनुगमन थालेको हो । विद्यालयको पठनपाठनको समग्र अवस्था, शिक्षक शिक्षिकाले विषयवस्तु अनुसार पठनपाठन स्थिति, नियमित उपस्थिति भए नभएको भन्ने विषयदेखि विद्याथीइहरु नियमित विद्यालय आउने नआउनेबारे जानकारी लिन अनुगमन कार्य थालिएको उनले बताए । 


सामुदायिक विद्यालयको पठनपाठन, शिक्षक विद्यार्थीको अवस्था, प्रशासनिक तथा शैक्षिक कृयाकलाप, सरसफाई र अनुशासनलगायत समग्र गतिबिधिको मूल्यांकन गरी आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले यस्तो कदम चालिएको अध्यक्ष राईले बताए । उनले यस्तो अनुगमन कार्यलाई आगामी दिनर्मा निरन्तरता दिदै लाने पनि बताए । 


गाउँ शिक्षा समिति संयोजकसमेत रहेका अध्यक्ष राईको संयोजकत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, शिक्षा शाखा प्रमुख कविराज राईलगायतको टोलीले सोमबारदेखि अनुगमन थालेको हो । जस अनुसार पहिलो दिन बालबालिका माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयको अनुगमन गरेको छ । अनुगमनको क्रममा विद्यालयहरुको शैक्षिक अवस्थाबारे सुक्ष्म ढंगले जानकारी लिई कमजोरी पाइए सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक र विद्यार्थी दुवैलाई सुझाव दिन थालेको छ ।


अनुगमनले साकेला गाउँपालिकाको समग्र शैक्षिक अवस्थालाई सुधार हुँदै गएको पाइएको तथा आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने वातावरण बनाउने अपेक्षा लिइएको छ । हरेक विद्यालय पठनपाठनकै समयमा पुगेर गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिने गरेको टोलीले विषयवस्तुप्रति शिक्षक शिक्षिका गम्भीर छन् छैनन् र विद्यार्थीहरुमा पठनपाठनप्रति लगाव र अनुशासित छन् छैनन् भन्ने कुरासम्मको निगरानी राख्ने अध्यक्ष राईले बताए । 


विद्यालयमा पठनपाठन नगराएको, सरसफाई नगरेको, शिक्षकहरु राजनीतिक गुटवन्दीमा लागेकोलगायत जनगुनासो आउने गरेकाले छड्के अनुगमन सुरु गरेको पनि अध्यक्ष राईले बताएका छन् । विद्यालयको सुधारका लागि जुनसुकै बेला कुनै पनि विद्यालयम अनुगमन टोली पुग्ने बताउँदै उनले अनुगमनका क्रममा कमीकमजोरी भेटिए सोही बमोजिम कारवाही गर्ने चेतावनी पनि अध्यक्ष राईले दिएका छन् । 

 

‘साकेलाको शैक्षिक अवस्था सुधार गर्दै सुखद र उत्कृष्ट नतिजा ल्याउने प्रयत्नमा हामी निरन्तर लागि रहनेछौं । राम्रोलाई पुरस्कार र नराम्रो गर्नेलाई सजायको भागीदार बशनाइनेछ’ अध्यक्ष राईले चेतावनीको शैलीमा सुझाए ‘त्यसैले सबै विद्यालय र शिक्षक शिक्षिका तथा विद्यार्थी र सरोकारवालाहरुलाई जिम्मेबार र जवाफदेही भएर लाग्न आग्रह गर्दछु ।’


अनुगमनको क्रममा शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शी गर्न, कक्षा शिक्षण समयसम्म गर्न टोलीले सुझाएको छ । त्यसैगरी शिक्षकले सरकारले निर्धारण गरेको पोशाक लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी बनाउन, राजनीतिक गतिविधि नगर्न सुझाएको टोलीले विद्यार्थीका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न, विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षक सामग्री प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातवरण सफा राख्न पनि सुझाएको छ ।