घरेलु उद्योगमार्फत १२ सयलाई रोजगारी 

१ महिना अघि

२0८१ श्रावण २५ शुक्रबार
घरेलु उद्योगमार्फत १२ सयलाई रोजगारी 

उदयपुृर, साउन २५ब


धेरैजसो युवा अहिले विदेश मोहमा फसेका छन् । पढालेखाहरु कक्षा १२ पास गर्नेवित्तिकै शैक्षिक अध्ययनका नाममा विदेशिन्छन् भने निरक्षर तथा पढाई छाडेकाहरु सस्तो रोजगारीमै विदेश जान लालायित देखिन्छन् । युवाशक्ति सबैजसो विदेश जानाले देश बृद्धबृद्धा र बालबालिका मात्र बस्ने ठाउँमा परिणत हुँदै छ । 

 

धेरैको बुझाईमा विदेश जानु बाध्यता हो, रहर होईन । अर्थात नेपालमा केही काम नपाइने, रोजगारी छदैछैन त्यसैले विदेशिन बाध्य भएको हो भन्ने गलत भाष्य खडा गरिएको छ । यथार्थमा त्यसो होईन, बरु नेपालमा अथाह संभावना छ । विदेश जान लाग्ने लगानी नेपालमै लगाए मासिक २५÷३० हजार कमाई घरै बसिबसि परिवार, छोराछोरी र आमावाउसँगै रहेर कमाउन सकिन्छ, जुन खाडी मुलुकमा हुने सरदर कमाई हो । 

 

यहाँ प्रशंग उदयपुरस्थित घरेलु तथा साना उद्योग कार्यालयले सिर्जना गरेको रोजगारीको हो । घरेलु कार्यालयमा आर्थिकवर्ष ०८०÷८१ मा वर्षेनी घरेलु उद्योग तथा व्यवसाय दर्ता गर्ने तथा त्यसले रोजगारी सिर्जना गर्ने काम गरिरहेको छ । उद्योग दर्ता र सञ्चालन गर्ने क्रम बढेसँगै रोजगारी पनि बृद्धि हुँने कुरा छदैछ ।


घरेलु तथा साना उद्योग कार्यालय प्रमुख नरेन्द्र पराजुलीका अनुसार आर्थिकवर्ष ०८०÷८१ मा २४७ वटा नयाँ उद्योग दर्ता भएका छन् । त्यसैगरी बाणिज्यतर्फका उद्यम पनि सो वर्ष १ सय ३३ वटा थपिएका छन् । अघिल्लो वर्ष उद्योगको संख्या ५ हजार २ सय १३ र बाणिज्य संख्या ४ हजार १ सय २९ थियो । 


हाकिम पराजुलीका अनुसार ०८०÷८१ मा २ सय ४७ थपिएसँगै जिल्लामा उद्योगको दर्ता संख्या ५ हजार ४ सय ६० पुगेको छ । त्यस्तै ०७९÷८० मा ४ हजार १ सय २९ रहेको बाणिज्य फर्मको संख्या १ सय ३३ वटा थपिएर ०८०÷८१ मा ४ हजार २ सय ६२ पुगेको छ । 

 

उद्यग व्यवसाय थपएिसँगै जिल्लामा आव ०८०÷८१ मा २ सय ६० नयाँ उद्यमी थपिएका छन् । जसमा महिला १ सय २० र पुरुष १ सय ५० जना छन् । अघिल्लो आर्थिकवर्ष नयाँ उद्यमी महिला १ सय ३८ र पुरुष १ सय ८२ गरी ३ सय २० जना थिए । 


उद्यम व्यवसायिक फर्मले रोजगारी दिने भएकाले जिल्लामै रोजगार हुने मौका मिलेको छ । ०८०÷८१ मा १ हजार २ सय ४० जना रोजगार भएको हाकिम पराजुलीले बताए । रोजगारी पाउनेमा महिला ४ सय ८० र पुरुष ७ दसय ६० जना छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १ सय १४ ले बढी हो । गतवर्ष १ हजार २६ जनाले रोजगारी पाएका थिए । 


उद्योग तथा बाणिज्य फर्महरु बढेसँगै कार्यालयको राजश्व पनि बृद्धि भएको छ ।  ०८०÷८१ मा ५८ लाख ७३ हजार ७ सय ७५ रुपैँया जम्मा राजश्व संकलन भएको पुराजुलीले बताए । उद्योगतर्फ २९ लाख ६६ हजार ६ सय ७५ संकलन हुँदा  बाणिज्यतर्फ २९ लाख ७ हजार १ सय जम्मा भएको हाकिम पराजुलीले बताए । गत आर्थिकवर्ष ०७९÷८० मा दुवैतर्फको राजश्व ३९ लाख ७५ हजार ९ सय ७३ रुपैँया संकलन भएको थियो । 

 

उद्योग व्यवसायीलाई कार्यालयले आवश्यक सिपमुलक तालिम पनि दिने गरेको छ । जस अनुसार दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिदै आव ०८०÷८१ मा ४ सय २८ जनालाई सिपमुलक तालिम दिइएको छ । तालिम दिलाएर दक्ष जनशक्ति उत्पादन गर्नसके गाउँघरमै उद्यम व्यवसाय गरी आयआर्जनमार्फत युवाशक्तिलाई आत्मनिर्भर बनाउन सकिने उनले बताए ।