भोलि श्रीपुरको नागपोखरीमा मेला लाग्ने

१ महिना अघि

२0८१ श्रावण २४ बिहीबार
भोलि श्रीपुरको नागपोखरीमा मेला लाग्ने

श्रीपुर, साउन २४

त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित मयुरवनस्थित नागकुण्ड (नागक पोखरी)मा े नाग पञ्चमी मेला लाग्ने भएको छ । ‘जगाउँ सँस्कृति, बचाउँ प्रकृति’ भन्ने नाराका साथ शुक्रबार नाग पञ्चमीको अवसर पारेर मेला आयोजना गरिएको हो । 


विगत वर्षहरुदेखि नै लाग्दै आएको मेलालाई यसवर्ष थप विशेष र भव्य बनाउन लागिएको मेला आयोजक स्थानीय सरस्वति सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । समूहका अध्यक्ष दीपक बान्तवाका अनुसार मेलामा नागको पुजा अर्चना गर्नुका साथै पोखरीमा सर्वसाधारणका लागि डुङ्गा शयर गराइने छ । 


प्राचिनकालमा सो क्षेत्रमा नागहरुको बसोबास रहेको किम्बदन्तीका आधारमा वन समूहले त्यहाँ मयुरवन पर्यटकीय क्षेत्र निर्माण गरेको छ । सोही ठाउँमा नाग पोखरी निर्माण गरी पोखरीको बीचमा नागको मूर्ति स्थापना गरिएको छ । नाग पोखरी निर्माण गरेदेखि नै त्यहाँ वर्षेनी नाग पञ्चमीका दिन मेला आयोजना गरिदै आएको अध्यक्ष बान्तवाले बताए । 


युवर्षको मेलालाई भव्यरुपमा सम्पन्न गर्न आयोजक वन समूहले उपभोक्तासँगको सहकार्यमा स्थानीय उत्पादनका वस्तुहरुको प्रदर्शनी गर्नुका साथै मौलिक खानेकुराको स्टलसमेत राख्ने तयारी गरेकोृ छ । अध्यक्ष बान्तवाका अनुसार सो ठाउँलाई त्रियुगा नगरपालिकाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्दै अघि बढाउने योजना पनि वन समूहले गरेको छ ।