२४ घण्टाभित्र फरार र लागूऔषधसहित ३ पक्राउ 

१ महिना अघि

२0८१ श्रावण २४ बिहीबार
२४ घण्टाभित्र फरार र लागूऔषधसहित ३ पक्राउ 

उदयपुर, साउन २४

यहाँको प्रहरीले २४ घण्टाको अवधिमा विभिन्न आरोपका ३ प्रतिबादीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा लागूऔषध कारोबारी २ र १ जना फरार प्रतिबादी रहेको जनाइएको छ ।
 

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले मंगलबार १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरको ०८० असार ११ गतेको फैसला अनुसार डाका मुद्धामा २ महिना १ दिन कैद र ३ हजार जरिवाना तोकिएका फरार प्रतिबादी  त्रियुगा नगरपालिका ३ मोतिगडाका २८ वर्षीय निशान ठकुरी पक्राउ परेका हुन् । उनलाई फैसला कार्यान्वयनका लागि बुधबार जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।


उता इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले मंगलबार नै औषधी पसल सञ्चालक अशोक यादवलाई पक्राउ गरेको छ । यही साउन १० गते इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले सवारी चेकिङको क्रममा ट्रामानिल ६ सय ट्याब्लेट र कोलिवान ६ सय ट्याब्लेटसहित पक्राउ परेका शेखर तामाङ र सुष्मा राईको बयानका आधारमा उनी पक्राउ परेका हुन् । 


ती प्रतिबन्धित लागूऔषध अशोक यादवको औषधी पसलबाट खरिद गरेको बयानका अधारमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर बजारको बसपार्कछेउ स्वास्थ्य चौकी अगाडि रहेको यादवको औषधी पसलमा लागाूऔषध विक्री वितरण हुने गरेको पाइएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरी भनाई छ ।  


यादवलाई जिल्ला अदालतको साउन १७ गतेको पक्राउ अनुमती आदेश लिएर पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताए । यादव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थायी घर भई फत्तेपुरमा औषधी व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ । 


त्यसैगरी त्रियुगा नगरपालिका ६ लालपत्तास्थित उदयपुर र सप्तरीको सीमानाका भएर सदरमुकाम आउँदै गरेका त्रियुगा ९ बगाहाका २७ वर्षीय पञ्कज बस्नेत पनि प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् । लालपत्तामा सवारी साधन चेकजाँच गर्दा स्कुटरको एयर फिल्टरमा लुकाएर ल्याएको ९० एम्पुल लागूऔषध फेला परेपछि बस्नेत पक्राउ परेका हुन् । 


प्रदेश २–०१–००१ प २२ नं. को स्कुटरमा सवार बस्नेतको साथबाट प्रोमिथाजाईन हाईड्रोक्लोराईड ३०, ब्रोप्रिनोरफाइड २५ र डाइजेपाम ३० गरी जम्मा ९० एम्पुल प्रतिबन्धित लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै प्रोनिक्स स्पास १६ ट्याबलेट, नाईट्राभेट २८ ट्याबलेट, १ थान मोबाईल र स्कुटर पनि बरामद गरिएको छ ।