अमेरिका बस्ने वडाध्यक्षको विकल्प माग्दै ज्ञापनपत्र

१ महिना अघि

२0८१ श्रावण २२ मंगलवार
अमेरिका बस्ने वडाध्यक्षको विकल्प माग्दै ज्ञापनपत्र

साकेला, साउन २२

चुनाव जितेलगत्तै अमेरिका भासिएका खोटाङको साकेला गाउँपालिका ४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटुवालविरुद्ध वडाबासीले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । चुनाव जिताएर पठाएका जनप्रतिनिधि गाउँमा नबस्दा नागरिकले धेरै दुख पाएको भन्दै वडाबासीले सोमबार गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईलाई ज्ञापनपत्र बुझाएका हुन् । 

 

०७९ वैशाख २० गतेको स्थानीयतह निर्वाचनमा वडाध्यक्ष विजयी कटवाल ०८०  माघ १७ गतेदेखि वडामा अनुपस्थित रहेको स्थानीयको भनाई छ । उनी अमेरिका भासिपछि एकजना सदस्यले उनको कार्यवाहक अध्यक्ष भएर वडा सञ्चालन गर्दै आएका छन् । वडाध्यक्ष नहुँदा विभिन्न विकास निर्माणका कामदेखि नागरिकको दैनन्दिन सेवा प्रवाहमा दूरगामी असर परेको पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । 

 

स्थानीयवासीले तत्काल कटुवालको विकल्प खुल्ला गर्नुपर्ने माग पनि गरेका छन् । नागरिकको समस्याप्रति वडा अध्यक्ष गैर जिम्मेवार बनेको भन्दै सोही वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वदलीय वैठक बसि निर्णय गरेर नै ज्ञापनपत्र बुझाईएको संयोजक भट्टराईले बताए । वडाध्यक्ष नभएका कारण हामी वडाबासी अत्यन्तै मारमा परेका छौं, नागरिकताको सिफारिसदेखि विभिन्न विकास निर्माणका कार्यमा समेत नागरिकले दुख पाउने गरेको बताउदै उनले जिम्मेवारी पुरा गर्न नसक्ने हो भने वैकल्पिक उपायको लागि बाटो खुल्ला गर्नुपर्ने धारणा राखे । 

 

अर्का स्थानीय वुद्धिजीवि तथा समाजसेवी नागरिक, विभिन्न पार्टीका प्रतिनिधिहरु र स्थानीयले वडाध्यक्षको वैकल्पिक व्यवस्था गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा 
आगामी १५ दिनभित्र समस्या समाधान नगराए साकेला ४ का सम्पूर्ण जनता कडा कदम चाल्न वाध्य हुने चेतावनी दिइएको छ ।


कानून विपरित अधिकारको दुरुपयोग गर्ने कटुवाललाई नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समस्याको समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ । स्थानीयहरुले गाउँपालिकामार्फत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालय खोटाङलाई पनि ज्ञापनपत्र बुझाएका छन् । 


ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले उक्त वडाका वडाध्यक्षको विषयमा धेरै जनगुनासो आएपछि तत्कालका लागि कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको र दिगो समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाए । 


ज्ञापनपत्रमा ४ नम्बर वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, वुद्धिजीवी समाजसेवी गोपिकृष्ण खड्का, महिला वुद्धिजीवि समाजसेवी सरिता खड्का, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि बबिन कटवाल, एमालेका टेकबहादुर कटवाल, नेकपा माओवादी केन्द्रका युवराज दुलाल, जसपाका शिवप्रसाद फुयाल, नेकपा एकीकृत समाजवादीका मनोज खड्का, स्थानीयहरु जीवन श्रेष्ठ, यामकुमार खड्कालगायत ५३ जनाको हस्ताक्षर रहेको छ ।