कटारीको नगरसभा आउँदो २७ गते 

१ महिना अघि

२0८१ श्रावण १९ शनिबार
कटारीको नगरसभा आउँदो २७ गते 

उदयपुर, साउन १९

कटारी नगरपालिकाले चालु आर्थिक वर्ष ०८१÷८२ को बजेट अधिवेशन आउँदो २७ गते गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० देखि २५ गतेमित्रमा चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरिसक्नुपर्ने थियो । 

 

तर, वडाध्यक्षहरुले माग बमोजिम बजेट नपाउने भएपछि कार्यपालिका बैठक बस्न नसकेर अधिवेशन हुन नसकेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । उनका अनुसार १४ वडा रहेको कटारीमा वडाध्यक्षहरुले ८३ लाखका दरले वडागत बजेट सिलिङ माग गरेका थिए । गतवर्ष पनि घाटा बजेट ल्याएका कारण विकास निर्माणका योजनाहरु प्रभावित भएकाले चालु वर्ष ६५ लाखभन्दा बढी दिन नसक्ने अवस्था जानकारी गराउादा बैठकै बस्न नसकेर अधिवेशन रोकिएको मेयर श्रेष्ठले बताए । 


पटक पटकको छलफलमा बढीमा ७१ लाखसम्म बजेट दिने सहमति भएपछि अधिवेशन गर्न वडाध्यक्षहरु सहमत भएका हुन् । सोही सहमति अनुसार गत बुधबार बसेको कार्यपालिका बैठकले २७ गते चालु वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने मिति तय गरेको मेयर श्रेष्ठले बताए । 


प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले चालु वर्षको बजेट गतवर्षको भन्दा केही बढी हुने बताए । उनका अनुसार गत आर्थिक वर्ष ८३ करोड ८६ लाख ७८ हजार ५ सय रुपैँयाको बजेट ल्याएको नगरले घाटा बेहोर्नु परेका कारण चालु वर्ष धेरै आकारको नल्याउने गरी योजना तर्जुमा गरेको छ । 


गतवर्ष संघतर्पm वित्तीय समानीकरण अनुदान १० करोड ९७ लाख, सशर्त ४२ करोड ७७ लाख ८३ हजार अनुमान गरिएको थियो । त्यसैगरी राजश्व बाँडफाँड १५ करोड ६० लाख ७९ हजार, विशेष अनुदान ७६ लाख र समपूरक १ करोड ७५ लाख अनुमान गरिएको हिाकिम भट्टराईको भनाई छ । प्रदेशतर्फ वित्तीय समानीकरण ३६ लाख २७ हजार, सशर्त २२ लाख २६ हजार र राजश्व बाँडफाँड १ करोड ३० लाख अनुमान थियो भने आन्तरिक स्रोततर्फ ५ करोड ५५ लाख अनुमान गरिएको थियो । 


गतवर्षको अनुमानित बजेट पुरा नभएकाले घाटा बेहोर्नुं परेको नगरपालिकाले जनाएको छ । त्यसैले चालु वर्षको बजेट आकार धेरै नबढाई ल्याउने तयारी भईरहेको इन्जिनियर ओमप्रसाद मिश्रले बताएका छन् । गतवर्षको अनुमानित बजेट फेल खाँदा योजना निर्माणमा धोका भएकाले चालु वर्ष तथ्यमा आधारित भएर बजेट ल्याउने गरी तर्जुमा गरिएको मिश्रले बताए । 


लेखा अधिकृत माधव जोशीका अनुसार चालु वर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० हरोड ९९ लाख प्राप्त हुने अनुमानित अंक प्राप्त भएको छ । त्यस्तै सशर्त ४३ करोड ५६ लाख ७५ हजार, राजश्व बाँडफाँड १६ करोड ५७ लाख तथा आन्तरिक स्रोत ६ करोड ७१ लाख ५० हजार अनुमान गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी प्रदेशतर्फ वित्तीय समानीकरण ६६ लाख १६ हजार, राजश्व बाँडफाँड २ करोड १४ लाख ८७ हजार अनुमानित अंक आएको छ । 


चालु वर्षका लागि प्रदेशबाट प्राप्त हुने सशर्त र समपूरक बजेट अहिलेसम्म निश्चित नभएको जोशीले बताए । नियमानुसार प्राप्त हुने भए पनि हालसम्म मन्त्रालयको एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणाली (एलएमविआईएस)मा कति रकम आउने भन्ने विवरण नखुलाइएको अधिकृत जोशीले बताए ।