टाउन प्लानिङको जमिन कहिले आफ्नो होला ?

१ महिना अघि

२0८१ श्रावण १४ सोमबार
टाउन प्लानिङको जमिन कहिले आफ्नो होला ?

कटारी, साउन १४

साविक जिल्ला विकास समितिबाट प्राप्त टाउन प्लानिङका घडेरीको स्वामित्व पाउन कटारीका उपभोक्ता संगठित भएका छन् । दशकौँ अघि जिविस (हाल जिल्ला समन्वय समिति उदयपुर)ले टाउन प्लानिङ गरी विक्री गरेको कटारी बजारको घडेरीको कानुनी अधिकारका लागि समिति गठन गर्नु परेको हो । 


कटारी बजारमा प्लानिङका १ सय ४ वटा घडेरी छन् । ५ दशक बितिसक्दासम्म किनेको घडेरीको लालपुर्जा नपाएपछि उपभोक्ताले संघर्ष समिति गठन गरेका हुन् । सोमबार उदयपुर उद्योग बाणिज्य संघको सभाकक्षमा भएको भेलाले संघकै अध्यक्ष जमानसिंह बस्नेतको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । 


जमिनको लालपुर्जा प्राप्तीका लागि गठित समितिमा पुस्कर खड्का, प्रयास कार्की, राजदेव चौधरी, दिनेश्वर साह, अस्मित पौडेल, सुरेन्द्र जयसवाल, राजकुमार बुढा र समिम खाँ सदस्य छन् । जमिनको आधिकारिक स्वामित्व पाउनका लागि सम्बन्धित निकायमा औपचारिक माग गर्नका लागि समिति सक्रिय हुने संयोजक बस्नेतले बताए । 


लामो समयसम्म लालपुर्जा नपाएपछि बाध्य भएर जग्गाधनीहरु संगठित भएर माग पुरा गराउने काममा समिति लाग्ने उनको भनाई छ । पहिला पििहला जमिनको कर लिने तथा विक्री वितरण गर्दा नामसारी गरिदिने गरेको जिविसले चालु वर्षदेखि दुवै काम छाडेको छ । जमिनको कर लिने, विक्री वितरण गर्ने सबै अधिकार संघ, प्रदेश र स्थानीय सरकारमातहत आएकाले चालु वर्षदेखि सो कार्य बन्द भएको हो । 


जिससले कर लिन र नामसारी नै नगर्ने भएपछि प्लानिङका जग्गाधनीहरु थप समस्यामा परेको उनीहरुको पीडा छ । यसअघि बैँकिङ कारोबार गर्न नमिले पनि किनबेच र कर लिने काम भईरहेकोमा त्यो पनि हटेपछि उपभोक्ता मार्कामा परेका हुन् । 


जिविसले २०२८ सालदेखि विभिन्न बजारको जमिन प्लानिङ गरी विक्री  िवतरण गरेको थियो । तर, लालपुर्जा भने अहिलेसम्म वितरण नगरेको जमिन कटारीजस्तै सदरमुकाम त्रियुगा नगरपालिका ११ गाँईँघाट र रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पनि छ । सबै जमिनको व्यवस्थापन गर्न जिल्लास्तरीय संघर्ष समिति पनि यसअघि नै गठन भईसकेको छ । 


गाईघाटका जग्गाधनी भीमचन्द्र राईको संयोजकत्वमा गठित समितिले जिल्लाभरको  समस्या समाधान गर्न प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेट्न छिट्टै प्रतिनिधिमण्डल जाने तयारी भईरहेको जनाइएको छ ।