साकेलाको शैक्षिक सुधारमा जनप्रतिनिधि-शिक्षक एकमत

२ महिना अघि

२0८१ श्रावण १0 बिहीबार
साकेलाको शैक्षिक सुधारमा जनप्रतिनिधि-शिक्षक एकमत

साकेला, साउन १०


खोटाङको साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधार गर्न बहस थालेको छ । पछिल्लो खोटाङको एसईईलगायत अन्य परीक्षामा देखिएको कमजोर नतिजाप्रति सचेत हुँदै  गाउँपालिकाले शैक्षिक सुधारका लागि वहस थालेको हो ।

 

त्यसका लागि गाउपालिकाभित्रका सबै माध्यमिक विद्यालयका विषयगत शिक्षक र प्रधानाध्यापकसँग छलफल थालेको छ । उनीहरुलाई एसईई नतिजा सुधारका लागि खासगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयको पठनपाठनमा निखारपन ल्याउन  सुझाइएको छ । 

 

बुधबारको छलफलमा गणित, विज्ञान र अङ्ग्रेजि विषय शिक्षक र प्रअबाट कमजोर नतिजा आउनुको प्रमुख समस्या र चुनौतीहरुबारे अन्तरक्रिया भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिक्षक, अभिभावक र विद्यार्थीले मनैदेखि जिम्मेवारी पुरा गर्नसके नतिजा राम्रो आउने धारणा राखे ।

 

षाउँपालिकाले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको बताउदै अध्यक्ष राईले गुणस्तरीय शिक्षाका लागि अझ पनि थुप्रै लगानी गर्ने तर, नतिजा बलियो बनाउनुपर्नेमा जोड दिए । तर, शिक्षक र प्रअले मनदेखिनै नलागे सुधार सम्भव नहुने उनले बताए ।

 

 अध्यक्ष राईले विद्यालयको शैक्षिकस्थिति सुधार गर्न अभिभावकको पनि ठूलो भूमिका हुने बताउदै आफ्ना बालबालिकाले राम्ररी अध्ययन गरेका छन् कि छैनन्, नियमित स्कुल जान्छन् जादैनन् भन्ने कुराको निगरानी  गर्न सुझाए । त्यस्तै शिक्षकले आफूसँग भएको ज्ञान, सीपलाई विद्यार्थीले कुन रुपमा ग्रहण गर्न सक्छन्, त्यही अनसुसारको माध्यमअपनाएर पठनपाठन गराउन पनि राईले सुझाए ।

 

पठनपाठन राम्रो गराउन सके कमजोर विद्यार्थी पनि उत्कृष्ट भएर निस्कन सक्ने अध्यक्ष राईको धारणा थियो । शिक्षक समृद्धिको मुहान भएकाले ज्ञान र सीपको सही ढंगले प्रयोग गर्न आग्रह गर्दै अध्यक्ष राईले कतिपय शिक्षक राजनीतिमा लाग्नाले पनि शैक्षिक गुणस्तर खस्कदै गएको स्मरण गराए । त्यसैले शिओकहरु राजनीतिप्रति चिन्तन मनन गर्न छाडेर पठनपाठनमा ध्यान दिन उनको आग्रह थियो । त्यसको साटो कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दिन पर्नेमा उनले जोड दिए । 

 

अन्तरक्रियामा सहभागी प्रअ र विषयगत शिक्षकहरुले आगामी दिनमा साकेलाको शैक्षिकस्तरमा सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न लगनशिल भएर पठनपाठनमा लाग्ने प्रतिवद्धता जनाए । बालबालिकाको पठनपाठनप्रति अभिभावक गम्भीर नबन्नु र विद्यार्थीले लगनशिल भएर ध्यान दिन नसक्नु कमजोर नतिजाको प्रमुख कारण भएको उनीहरुको स्विकारोक्ति थियो । विद्यार्थीहरु नियमित कक्षामा उपस्थित नहुने, अभिभावकको निगरानीमा कमी, अनियमित शिक्षक सरुवा, आधारभूततहमा  विद्यार्थीमा विषयगत ज्ञान सीपको कमी जस्ता कारणले एसईईको नतिजा कमजोर आएको शिक्षकहरुको निश्कर्ष छ । 

 

यसवर्षको एसईईमा साकेला गाउँपालिकाबाट  १ सय २४ जना विद्यार्थी सहभागी भएकोमा ८ जना मात्र उत्तिर्ण थि भएकाए । साकेला १ को राधाकृष्ण माविबाट २५ जना विद्यार्थी सहभागी चएकोमा ४ जना मात्र उत्तिर्ण भए भने २ स्थित साकेला माविका २४  विद्यार्थी सबै अनुत्तिर्ण भए । त्यस्तै वडा नं ३ को सिद्देश्वरी मावि खिदिमाका २१ जना सबैअनुत्तिर्ण भए । साकेलन ५ को बालबालिका मावि २७ परीक्षार्थीमध्ये ३ जना उत्तिर्ण हुदा साकेला ५ स्थित सरस्वती माध्यमिक विद्यालयका २७ मध्ये १ जना मात्र विद्यार्थी सफल भए । 

 

कार्यक्रममा उपाध्यक्ष बिर्सिका राईले शैक्षिक सुधारका लागि गाउँपालिकाले गर्नुपर्ने सबै काम गरिरहेको बताउदै आगामी दिनमा शैक्षिक सुधारका लागि गर्नुपर्ने सम्पूर्ण काम गर्ने बताईन् । उनले अभिभावकलाई पनि शैक्षिक गुणस्तर सुधारका लागि लगानी गर्ने वातावरण तयार गरि जिम्मेवार बनाउनु पर्ने बताउदै नियमित अनुगमनलाई प्राथमिकता दिने धारणा राखिन् । एसईई नतिजामा कमजोर रहेका विषयलाई मजबुत बनाउनका लागि त्यसको कमी कमजोरी पत्ता लगाएर पठनपाठनमा ध्यान दिन उनको आग्रह थियो ।


शैक्षिक सुधारका लागि अवदेखि विद्यालयमा नैतिक शिक्षाको पठनपाठन गर्नुपर्नेमा सबै सहमत भएका छन् । विद्यार्थीहरुलाई नैतिकवान र जिम्मेवार बनाउनका लागि हरेक शुक्रबार नैतिक शिक्षाको आवश्यकता महशुष गरि कार्यान्वयन सुरु गरिएको छ । त्यसका लागि साकेला गाउँपालिकाका २८ वटा सामुदायिक विद्यालयमा हरेक हप्ताको शुक्रबारका दिन अतिरिक्त कृयाकलापको सट्टामा नैतिक र व्यवहारिक शिक्षा पठनपाठन गराउन सुरु गरिने गाउँ शिक्षा समितिको निर्णय गरेको छ ।

 

शिक्षा समितिको निर्णयानुसा, अब हरेक शुक्रबार विद्यालयहरुले नैतिक शिक्षा पढाउनु पर्ने भएको छ । नैतिकता बलियो भयो भने व्यवहारिक पाटो बलियो बन्ने  र त्यसले मात्र समाजमा सुधार ल्याउने गाउँपालिका अध्यक्ष राई बताउँछन् । 

 

'हामीले जीवनको महत्व बुझेका छैनौं, देशको माटोको महत्व बुझेको छैनौं, जीवनको महत्व र समयको महत्व बुझ्नु जरुरी छ' अध्यक्ष  राईले भने 'विज्ञानले बनाएको समय बुझ्नुपर्छ अनि मात्र जीवनले सार्थकता पाउँछ । हामी स्थानीय पाठ्यक्रम निर्माण गरेर नै नैतिक र व्यवहारिक शिक्षाको थालनी गर्ने तयारीमा छौं ।