३ महिना अघि
२0८१ श्रावण ९ बुधबारकाठमाडौँ, साउन ९
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जानेभन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध र सुदृढ बनाउनमा ध्यान केन्द्रीत गरिने बताएका छन् ।
बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
माओवादी पार्टी परिवर्तनको एजेण्डाको मात्रै नभई सुसासन र समृद्धिको एजेण्डाको पनि जननी भएको भन्दै अध्यक्ष प्रचण्डले जनतामा त्यस कुरालाई स्थापित गर्न जरुरी भएको बताए । अहिले आफूहरुलाई हटाउन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा वर्तमान सत्ता गठबन्धन बनेको आरोप पनि उनको थियो । उनले अव पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको उल्लेख गरे।
‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हामीले खेलेको भूमिका परतिकृयाबादीहरुलाई सह्य भएन र निक्कै षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा नै नयाँ गठबन्धन बनेको कुरा आम जनतामा पनि स्थापित भैसकेको छ’, प्रचण्डले भने ‘र उनीहरूको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिरहनुपर्दैन, समाज र आम जनतामा पनि छर्लङ्ङ भएको छ बुझेका छन् ।’
अध्यक्ष प्रचण्डले सामन्ती अवशेषका रूपमा रहेको मिटरव्याज विरोधी कदम र आर्थिक समृद्धिका सवालमा धेरै मेहनत गरेर मुलुकको आर्थिक अवस्थालाई लयमा ल्याउने पहल गरेको चित्त नबुझेपछि बिचौलियाहरू गठबन्धन परिवर्तनमा लागेको बताए । ‘मुख्य रूपमा सुशासनको सवालमा नेपालको इतिहासमै दूरगामी पहल भएपछि एउटा वर्ग, एउटा तप्का,भ्रष्टाचारमा लिप्त हुने तत्त्वहरूलाई सह्य भएन’प्रचण्डको भनाइ थियो ।
प्रचण्डले सरकार छाड्दा पनि आफ्ना कुरालाई सशक्त ढङ्गले संसदमा राखेर छाडेको भन्दै अहिले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको बताए । पुर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न २ जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको भन्दै आफूहरू जनताको मुद्दाबाट टाढा नजाने स्पष्ट पारे ।