वाभोछा वंशावली लोकार्पण

२ महिना अघि

२0८१ असार ३0 शनिबार
वाभोछा वंशावली लोकार्पण

धरान, असार २९

किरात राई चामलिङभित्रको वाभोछा पाछाको वंशावली प्रकाशन भएको छ । धरानस्थित सिङ्गापुर भवनको सभाकक्षमा शनिवार आयोजित एक कार्यक्रममा वंशावली पुस्तक सार्वजनिक गरियो ।


किरात राई चामलिङ खाम्वातिमका सङ्घीय अध्यक्ष तथा किरात राई प्रज्ञा परिषदका उपकुलपति युवराज राई र  परिषदका प्राज्ञ तथा त्रियुगा जनता बहुमुखी क्याम्पस प्रमुख डा. कैलाश राईले संयुक्त रुपमा लोकार्पण गरे ।


३ सय २८ पृष्ठको पुस्तक हार्ड कभरमा रंगिन तस्विरसहित प्रकाशन भएको छ । वंशावलीमा १८ पुस्ता वंश वृक्ष समेटिएको प्काशन समितिका सचिव पुष्प राईले बताए । पुस्तक प्रकाशन समिति संयोजक नरेन्द्र राईका अनुसार १ वर्ष ३ महिनाको अथक प्रयासपछि तयार भएको हो ।


नेपालको खोटाङ साकेला गाउँपालिका मात्तिम उद्गम भई विशेष गरी पूर्वी जिल्लामा बसोबास गर्दै आएका वाभोछा पाछाहरु काठमाडौँ उपत्यका र भारतको सिक्किम र दार्जलिङसम्म बसोबास गर्नेलाई पुस्तकमा समेटिएको सह संयोजक म्याम्बर राईले बताए । 


वंशावली पहिलो संस्करणमा १ हजार प्रति प्रकाशन भएको समितिका सदस्य मोहन राईले बताए । 


लोकार्पण कार्यक्रममा नेपाली साहित्यमा तेस्रो आयामका प्रतिपादक सिक्किमका लेखक ईन्द्रबहादुर राई वाभोछालाई "शिखर व्यक्तित्व" सम्मान गरियो । 


 त्यसैगरी अर्का साहिय्यकार बलदिप प्रभाश्वर राई, पत्रकारद्वय महेश्वर तामलिङ र भोटराज राई तथा नेपाल सरकारका अधिकृत कर्मचारीहरु हरिनारायण राई र तयामी राईलाई "वाभोछा व्यक्तित्व" सम्मान गरियो ।