साकेलाका किसानलाई कृषि सामग्री 

२ महिना अघि

२0८१ असार २८ बिहीबार
साकेलाका किसानलाई कृषि सामग्री 

साकेला, असार २७
खोटाङको साकेला गाउँपालिकाले किसानहरुलाई विभिन्न कृषिजन्य सामग्री हस्तान्तरण गरेको छ । ३ नं. वडाको खिदिमास्थित जन विकास बहुउद्देश्यीय सहकारी संस्थामा आबशद्ध किसानहरुका लागि गाउँपालिकाले कृषि सामग्री हस्तान्तरण गरेको हो । 


गाउँपालिका कृषि विकास शाखाको स्वीकृत वार्षिक कार्यक्रम ‘तरकारी खेती प्रवद्र्धन’ अन्तर्गत सहकारी संस्थालाई ९ लाख ७५ हजार र समूहको २ लाख १० हजार ४ सय ४० गरी ११ लाख ८५ लाख ४ सय ४० रुपैंया बजेटबाट सामग्री दिइएको हो । 


गाउँपालिकाले उपलब्ध राएको कृषि सामग्रीहरु १ सय २० थान टनेल, २ थान हाते ट्याक्टर र ४ थान स्पेयर (विषादी छर्किने) मेसिन रहेका छन् । ती सामग्रीहरु समूहमा आबद्ध १ सय २० कृषकलाई वितरण गरिएको छ । 


बुधबार खिदिमामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले सहकारी संस्थामार्फत किसानलाई सामग्री प्रदान गरे । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष राईले गाउँका कृषकलाई कृषि खेती र व्यवसायमार्फत स्वरोजगार बनाउदै आयआर्जन गरेर आत्मनिर्भर र स्वाबलम्बी बनाउन सामग्री हस्तान्तरण गरिएको बताए । 


अध्यक्ष राईले कृषकलाई जति छिटो धनी बनाउन सक्यो उत्ति छिटो गाउँपालिका समृद्ध र विकसित हुने बताए । त्यसका लागि सबै कृषकहरु कुनै न कुनै कृषि पेशा वा पशुपालन गरेर आयआर्जनमा लाग्न उनको आग्रह थियो । गाउँघरमै बसेर कृषि व्इवसायमार्फत आयस्तरमा सुधार ल्याउन सकिने र धनी हुन सकिने उनले बताए ।


उक्त सामग्रीहरु सहकारीमा आबद्ध खिदिमाका किसानहरुले १५ रोपनी जग्गामा साग, सिमी, मूला, टमाटर, अकबरे खुर्सानी, काँक्रा, फर्सीलगायत तरकारी खेतीमा लगाउने सहकारी संस्थाका अध्यक्ष दुधराज तामाङले बताएका छन् ।