बरुवा बाँध फुट्दै, गाईघाट बाढीको उच्च जोखिममा

२ महिना अघि

२0८१ असार २६ मंगलवार
बरुवा बाँध फुट्दै, गाईघाट बाढीको उच्च जोखिममा

उदयपुृर, असार २५

लगातारको वर्षाले बरुवा खोलामा आएको बाढीले गाईघाट बजार उच्च जोखिममा परेको छ । केही समययता भईरहेको अविरल वर्षाले उत्तरपूर्व भएर बग्ने बरुवा खोलामा आएको भिषण बाढीले त्रियुगा नगरपालिका ११ स्थित वनभोजस्थलको बाँध भत्काउन थालेपछि पुरै बजार जोखिममा परेको हो । 


बाढीले झण्डै ५० मिटर बाँध भत्काईसकेको छ । बाँध भत्काएर बाढी बजार पस्न लागेको जानकारी पाएलगत्तै प्रहरी, सशस्त्र र नेपाली सेनाको संयुक्त टोलीले बाँध पुननिर्माण कार्य थालेको छ । बाँध फुटेमा सदरमुकामको मुख्य बजारक्षेत्र त्रियुगा नगरपालिका ११ र १२ वडालाई पुरै डुबान र कटानमा पार्ने खतरा छ । 


रातभरी वर्षा भएपछि मंगलबार विहानदेखि बाँध कटान सुरु भएकाले जोखिम टार्न  नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको १ सय २० जना सुरक्षाकर्मी टोली परिचालन गरी बाँध पुनःनिर्माण कार्य भईरहेको छ । 


विहान ९ः०० बजेदेखि सुरु बाँध पुनःनिर्माण कार्य अहिलेसम्म १५ मिटर बाँधिसकेको घट्नास्थलमै रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए । उनका अनुसार बाँध बाढीले भत्काउदै रुख विरुवा ढाल्दै गएपछि वनभोजस्थल फुटेर गाईघाट बजारमा बाढी पस्ने खतरा छ । 


भत्केको ठाउँमा समयमै बाँध पुनःनिर्माण नगरे पुरै बजार उच्च जोखिममा पर्ने अवस्था छ । गतवर्ष पनि सोही ठाउँमा बाढीले बाँध भत्काएको थियो । त्यसबेला पनि सुरक्षाकर्मीकै पहलमा बाँध पुनःनिर्माण गरिएको थियो । 


बाढी कुनै पनि बेला बाँध फुटाएर बजार पस्न सक्ने खतरा रहेकाले बेलैमा मर्मत गर्न बजारबासीले सरोकारवालाहरुलाई आग्रह गरेका छन् । स्थानीयहरुले भत्केको बाँध तत्काल पुनःनिर्माण गर्नुपर्ने तथा वर्षेनी भत्कने बाँधलाई स्थायी र दीर्घकालीन रुपको निकास दिने गरी बाँध बनाउनुपर्ने माग गरेका छन् । 


त्यसका लागि स्थानीयतह एक्लैले नसके प्रदेश र संघीय सरकारसँग सहयोग मागेर अघि बढ्नुपने स्थानीयको जोड छ । तीनैतहको सहयोग जुटाउन सके दीर्घकालीन समाधान गर्नेगरी बाँध निर्माण गर्न सकिने बजारबासीको सुझाव छ । 


बरुवा खोला किनार त्रियुगा नगरपालिका १० बोक्सेको सिमलटारदेखि ढिम्की वजभोजस्थल हुँदै त्रियुगा नदीसम्म जोडिने त्रिबेणीसम्म लगभग ५ किलोमिटर लामो दूरीको स्थायी बाँध निर्माण गर्न सके मात्र गाईघाट बजार सुरक्षित हुने बजारबासी बताउँछन् । 


त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले बरुवा खोलाको बाढीले गाईघाट बजार उच्च जोखिममा परेको भन्दै सबैलाई सतर्क हुन आग्रह गरेका छन् । उृनले हाल जोखिमबाट बँच्न तत्काल सुरक्षाकर्मीको सहयोगमा भत्केको ठाउँमा बाँध मर्मत गर्ने काम भईरहेको बताए । 


बरुवाको कहरबाट बँच्न दीर्घकालीन रुपमा बलियो बाँध निर्माण गर्ने योजना अघि सार्ने पनि मेयर बस्नेतले बताए । उनले त्यसका लागि आगामी आर्थिकवर्ष प्रदेश र संघीय सरकारसँग बजेट माग्ने र नगरपालिकाले पनि सक्दो बजेट व्यवस्था गरेर लागी पर्ने बताएका छन् ।