साकेला विश्वकै 'नमूना एकीकृत साँस्कृतिक बस्ती' बन्ने

२ महिना अघि

२0८१ असार २४ आईतवार
साकेला विश्वकै 'नमूना एकीकृत साँस्कृतिक बस्ती' बन्ने

महेश्वर चामलिङ
खोटाङ, असार २३


खोटाङको साकेला गाउँपालिकामा विश्वकै नमूना साँस्कृतिक पर्यटकीयस्थल बन्न सुरु गरिएको छ । गाउँपालिकाकै प्रमुख पर्यटकीयस्थल बनाउने उदेश्यले ‘एकीकृत बस्ती विकास’ अन्तरगर्त नमूना सांस्कृतिक घरसहितको पर्यटन केन्द्र बनाउन लागिएको हो । 


गाउँपालिकाभित्र बसोबास गर्दै आएका विभिन्न १३ जातजातिको धर्म, सँस्कार र सँस्कृति झल्काउने पुरातात्विक तथा साँस्कृतिक घरहरु निर्मााा गर्ने गरी वडा नम्बर ३ को खिदिमास्थित पर्यटकीयक्षेत्र तावाभञ्ज्याङमा यो योजना अघि बढाइएको हो । गाउँपालिकाको पहलमा सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आर्थिकवर्ष प्राप्त ४३ लाख  बजेटबाट साँस्कृति घर निर्माणको काम सुरु भएको हो । 


नमूना साँस्कृति घर निर्माणको सिल्यान्यास मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष रबिप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रुपमा गरे । पहिलो चरणमा किराँत राई जातिको धर्म सँस्कार र सँस्कृति झल्कने ऐतिहाँसिक घरको निर्माण गर्ने गरी काम अघि बढेको छ । कार्यक्रममा अध्यक्ष र उपाध्यक्षद्वयले किराती समुदायको रीतिरिवाज र परम्परा अनुसार ३ चुला पूजेर नमूना साँस्कृतिक घरको शिलान्यास गरे । 


वडाध्यक्षहरु हेमन राई, गोविन्द तामाङ र प्रमुख प्रशासकीय अधिकृत महेश राईलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा साँस्कृतिक घर सिल्यान्याससँगै साकेला उभाँैली नाचेर शुभकामना आदानप्रदान गरिएको थियो । स्थानीय नछुङ (धामी)ले किराँत सँस्कार र रीतिरिवाज अनुसार तय गरेको ३ चुला पुजेर, ढोल झ्याम्टा बजाउँदै शिली चाच्दै घर निर्माणको औपचारिक काम सुरु भएको हो ।


सिल्यान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले चालुवर्ष किराँत राई समुदायको जातीय साँस्कृतिक घर निर्माण गर्दै ‘एकीकृत साँस्कृतिक गाउँ’ निर्माण कार्य सुरु गरिएको बताए । उनले गाउँपालिकाभित्रका सबै जातजातिलाई समेटेर १३ वटै साँस्कृतिक घर निर्माण सम्पन्न गरेपछि पर्यटनस्थल घोषणा गरी विकास गर्दै लाने योजना रहेको सुनाए । गाउँपालिकाको लक्ष्य अनुसार अघि बढ्न सबै जातजाति, समुदाय, राजनीतिक दल, नागरिक समाज तथा स्थानीयबासीलाई आग्रह गरे । 


गाउँपालिकालाई पर्यटनको माध्यमद्वारा समृद्ध र विकसित बनाउने दीर्घकालीन सोँचका साथ अगाडि बढिरहेको बताउँदै अध्यक्ष राईले यो महान् कार्यलाई सबै क्षेत्रबाट साथ र सहयोग चाहिएको बताए । तावाभञ्ज्याङ क्षेत्रलाई साकेला गाउँपालिकाको प्रमुख पर्यटकीय हवको रुपमा विकास गर्दै दीर्घकालिन योजनाका साथ एकीकृत नमूना साँस्कृतिक बस्ती बनाउने योजनाले यहाँ बसोबास गर्ने सबै जाति र समुदायलाई आआफ्नो पहिचान दिलाउने उनको भनाई थियो । सबै जातजातिको पहिचान झल्काउने संरचना तयार गरेपछि तावाभञ्ज्याङ क्षेत्र विश्वकै नमूना पर्यटकीयक्षेत्रको रुपमा विकास हुने अध्यक्ष राईले ठोकुवा गरे । 


तावाभञ्ज्याङमा रहेको तावाताल तथा अन्य धार्मिक तथा ऐतिहासिकस्थल घुम्न आउनेहरुका लागि एकीकृत नमूना साँस्कृतिक बस्ती बनाएर त्यसलाई ‘धार्मिक पार्क’को रुपमा स्थापित गर्ने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष राईको भनाई छ । तावाभञ्ज्याङ घुम्न आउने हरेक पर्यटकले संसारकै नमूना र वहुआयामिक पर्यटकीयस्थलको रुपमा बुझ्न र अध्ययन गर्न पाउने ठाउँको रुपमा यसलाई विकास गर्नै लागिएको राईको दावी छ । 


सो क्षेत्रमा निर्मित संरचनायुक्त बहुसाँस्कृतिक घरहरुलाई पर्यटकीय सेवाका लागि होमस्टेको रुपमा विकास गरी सञ्चालन गरिने योजना पनि अध्यक्ष राईले सुनाएका छन् । प्राविधिक इस्टीमेट अनुसार त्यहाँ बन्ने हरेक घरहरु २ तलाको हुनेछन् । पहिलो तलामा जातीय सँस्कार, सँस्कृति झल्कने र ऐतिहाँसिक महत्वका सामग्रीसहितको सङ्ग्रहालय राखिनेछन् भने माथिल्लो तलामा अतिथि बस्ने सुविधायुक्त २ ओटा कोठा हुने बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको छ । 


पार्क वरिपरि निर्माण हुने १३ जातजातिको पहिचान र सँस्कृति झल्कने घरहरुको बीचमा अर्को १३ ओटै जातजातिको पहिचान झल्कने सामूहिक घर निर्माण हुने इस्टीमेट पनि डिपिआरमा उल्लेख छ । जहाँ रिसेप्सनसहितको सभाकक्ष बनाएर सामाजिक कार्यक्रम, छलफल तथा बैठक बस्न उपयोग गरिने अध्यक्ष राईको भनाई छ ।


साकेला गाउँपालिकाभित्र १३ जातजातिको बसोबार रहिआएकाले स्थानीय सरकारले आफनो राज्यभित्रका जातजातिलाई समेटेर सो एकीकृत नमूना साँस्कृतिक बस्ती निर्माण गर्न लागेको जनाएको छ । त्यसरी गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिलाई सम्बोधन गर्ने खालको एकीकृत नमूना साँस्कृतिक बस्तीसहितको पर्यटकीयस्थल बनाउने साकेला नेपालमा एक मात्र स्थानीयतह हुने र विश्वमै पहिलो स्थान हुने दावी अध्यक्ष राईको छ । 


साकेलालाई समृद्धिको गन्तव्यमा ¥याउने प्रमुख आधार भनेकै पर्यटन पूर्वाधार भएको ठहरका साथ तावाभञ्ज्याङमा तावा ताल, धार्मिक पार्कजस्ता संरचना निर्माणको योजनालाई गाउँपालिकाले महत्वकांक्षी योजनाको रुपमा लिएर आवधिक योजनामै समावेश गरेको छ । तावाताल र धार्मिक पार्ककोे डिपीआर अनुसार साँस्कृतिक बस्ती निर्माण गर्नका लागि स्थानीयबासीको अगुवाईमा उपभोक्ता समिति गठन पनि गरिएको छ । 


स्थानीयहरुले गाउँपालिकाको यो योजना अत्यन्त महत्वपूर्ण, दुर्गामी र लोकतान्त्रिक भएको भन्दै प्रशंसा गरेका छन् । स्थान्ीय मिनराज राईले साँस्कृतिक बस्ती निर्माणको काम विश्वकै नमूना भएको भन्दै यस्तो महत्वकांक्षी योजना जसरी पनि पुरा गरेरै छाड्नुपर्ने बताएका छन् । महिला नेतृ शान्तिकला राईले गाउँपालिकाले अघि सारेको यस्तो दीर्घकालीन र दुर्गामी महत्व राख्ने योजनालाई सबैले साथ सहयोग गरेर बेलैमा सम्पन्न गर्नुपर्ने बताईन् । 


पर्यटन प्रवद्र्धनबाट मात्र गाउँपालिकाको भविष्य सुन्दर हुने भएकाले यस्ता योजनाहरुलाई सामूहिकरुपमा सम्पन्न गरेर पर्यटन विकासमा सहयोग गर्नुपर्ने अर्का स्थानीय रत्न कटुवाल बताउँछन् । स्थानीय भैरव बुढाथोकीका अनुसार हरेक जातजाति र समुदायलाई सम्बोधन गर्दै निर्माण गर्न लागेको यो योजनालाई सबै मिलेर बेलैमा सम्पन्न गरी पर्यटकीय आकर्षण दिनुपर्ने बताए । 


मनीकुमार विश्वकर्माका अनुसार गाउँपालिकाभित्र रहेका सबै जातजाति र समुदायलाई सम्बोधन गर्ने खालको यस्तो बृहत र महत्वपूर्ण योजनाले गाउँपालिकाको भाग्य र भविष्य उज्वल बनाउने छ । यो परियोजना सम्पन्न भएपछि गाउँपालिकाभित्र बस्ने सबै समुदायका नागरिकहरुले आफ्नो बिम्प पाउने हुनाले यो ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय सबै हिसावले महत्पूर्ण हुने अर्का स्थानीय चिरीमाया परियारको बुझाई छ ।