निबृत्तिभरण नपाएको भन्दै उदयपुर सिमेन्टका पूर्व कर्मचारी सातादिनदेखि आन्दोलित

२ महिना अघि

२0८१ असार २१ बिहीबार
निबृत्तिभरण नपाएको भन्दै उदयपुर सिमेन्टका पूर्व कर्मचारी सातादिनदेखि आन्दोलित


उदयपुर, असार २०

उदयपुर सिमेन्ट उद्योग जलजलेका सेवा निबृत्त कर्मचारीहरुको आन्दोलन सातादिनयता जारी छ । जागीर छाडेको ३ वर्षसम्म पनि निबृत्तिभरण (उपदान) सुविधका नपाएको भन्दै ५ दर्जन बढी पूर्व कर्मचारीहरुले आन्दोलन जारी राखेका हुन् । 

 

आफुले पाउनुपर्ने उपदानवापतको सेवा सुविधा पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएर सुरु गरेको आन्दोलन अझै जारी रहेको छ । माग पुरा नभएसम्म आन्दोलन फिर्ता नहुने अडान पनि पूर्वकर्मचारहिरुले लिएको ज्ञापनपत्रमा उल्लेख छ । 


पूर्व कर्मचारी संघर्ष समितिका संयोजक जगरनाथ चौधरीका अनुसार उमेर हदका कारण र स्वैच्छिक अवकाश लिएका गरी ६५ जना कर्मचारीले अहिलेसम्म निबृत्तिभरण रकम पाएका छैनन् । ३ वर्षअघि नै अवकाश पाईसकेकादेखि १ वर्षअघि सेवानिबृत्त भएका कर्मचारीसम्मले उपदान रकम नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको संयोजक चौधरीले बताए । 


पूर्व कर्मचारीहरु दिनहुँ उद्योग परिसरमा भेला भई धर्ना बस्दै आएका छन् । ‘पूर्व कर्मचारी संघर्ष समिति’ गठत गरेर आन्दोलनलाई निरन्तरता दिन थालेका उनीहरुले पाउनुपर्ने सेवा सुविधा १५ दिनभित्र नपाए यथास्थानमा काममा फर्केर सेवा पाउनुपर्ने अडानसमेत लिएका छन् । 


सेवा निबृत्त भईसकेका कर्मचारीहरुले पाउनुपर्ने उपदान रकम तत्काल उपलब्ध गराउनुपर्ने अन्यथा पहिला जुन पदमा रहेर काम गर्दै आएको हो, त्यही पदमा पुनः काम गर्न पाउनुपर्ने अडान लिएको पूर्व कर्मचारीमध्येका एक रामबहादुर जिसीले बताए । जिसीका अनुसार सेवा निबृत्त हुने कर्मचारीमा तहविहीनदेखि १० औँ तहसम्मका कर्मचारी रहेका छन् । 


संघर्ष समितिका अनुसार उद्योगको कर्मचारी सेवा शर्त नियमावली २०५६ (संशोधनसहित) को दफा ४२ को उपदफा ३ (ग) अनुसार घर बिदा, दफा ४२ को ४ (घ) अनुसार विरामी बिदा, दफा ६३ को उपदफा २ अनुसार सञ्चयकोष, दफा ७८ अनुृसार उपदान र दफा ६७ को उपदफा १ अनुसार औषधि उपचार खर्चको सेवा सुविधा पाउने व्यवस्था छ । तर, जागीर छाडेको ३ वर्ष पुग्न लाग्दासम्म पनि नियमावलीले तोके अनुसारको सेवा सुविधा नपाएकाले संघर्ष गर्नुपरेको गुनासो पूर्व कर्मचारीहरुको छ । 


उद्योग नियमावलीले बहाल रहेका बेला मासिक तलवबाट कट्टा गरिएको तर, सञ्चय कोष र नागरिक लगानी कोषमा दाखिला नभएको रकम र जीवन बिमावापतको प्रिमियर रकम समेत दाखिला नभएको पाइएकाले तत्काल दाखिला गरेर आफुहरुलाई उपलब्ध गराउनुपर्ने माग पनि संघर्ष समितिले गरेको छ । 


नियमावलीले कर्मचारीको सेवा अन्त्य भएपछि सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउनु पर्ने प्रावधान छ । उद्योगको नियमावली र नेपाल सरकारको विद्यमान ऐन र प्रचलित कानुन अनुसार सेवानिबृत्त भएको १५ दिनभित्र सेवा सुविधा उपलब्ध् गराईसक्नुपर्ने नियम भएकोमा वर्षौँसम्म उपलबध् नगराएकाले आफुहरु धेरै मार्कामा परेको महाप्रबन्धकलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । 


उद्योगको यस्तो लापरबाहीले श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा उल्लेखित ‘जुनसुकै कारणले रोजगारी अन्त्य भए पनि श्रमिकले पाउनुपर्ने पारिश्रमिक र सेवा सुविधा रकम १५ दिनभित्र उपलब्ध गराउनु पर्ने प्रावधानको खिल्ली उडाइएको उनीहरुको गुनासो छ । 


संघर्ष समितिका अनुसार उद्योगको विभिन्न तहमा कार्यरत कर्मचारीहरु ०७८ असोज १५ गतेदेखि सेवा निबृत्त भएकाहरले उपदान रकम पाउन सकेका छैनन् । जसमा अनिवार्य अवकाश लिनेदेखि स्वैच्छिक अवकाश पाएका कर्मचारीसम्म रहेका छन् ।