बृद्धबृद्धा र अपाङ्गतालाई वडा कार्यालयको छाता 

२ महिना अघि

२0८१ असार १५ शुक्रबार
बृद्धबृद्धा र अपाङ्गतालाई वडा कार्यालयको छाता 

रामपुर, असार १४

बेलका नगरपालिका वडा नं. ३ ले जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिहरुलाई छाता उपहार दिएको छ । बर्खायाममा बृद्धबृद्धा र अशक्रहरुलाई घाम पानीबाट बँचाउन वडाले छाता उपहार दिदै सम्मान गरेको हो । 


बिहीबार दिउँसो वडा कार्यालयमा ‘जेष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिहरुलाई सम्मान कार्यक्रम’को आयोजना गरी वडाले छाता प्रदान गरेको हो । कार्यक्रममा वडाध्यक्ष टंकप्रसाद आचार्य र सदस्यहरुले विभिन्न उमेर समूहका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरु ६७ जनालाई छाता प्रदान गर्दै सम्मान गरे । 


सम्मान पाउनेमध्ये २१ जना ८४ देखि ९७ वर्षसम्मका छन् । उनीहरुलाई वडाध्यक्ष्ँ आचार्यले छातासँगै जनही १ हजार नगद पनि प्रदान गरे । कार्यक्रममा बृद्धाबस्थामा हिडडुल गर्दा घाम पानीबाट बँच्नुपर्ने आवश्यक्ता महसुस गर्दै सजिलोका लागि छाता प्रदान गरिएको वडाध्यक्ष आचार्यले बताए । 


बर्खायामको बेला छाता पाउँदा बृद्धबृद्धाहरु दङ्ग परेका छन् । जनप्रतिनिधिले राम्रो काम गरेको भन्दै ९७ वर्षीया बृद्धा टीकासरी राईले धन्यबाद दिईन् । छाता पाएपछि घामपानीबाट बँच्न सजिलो भएको राईले बताईन् । यो मौसममा बुढाबुढीलाई छाता पाउँदा झरी बादल र घामपानीबाट बँच्न सजिलो हुने स्थानीय वडाबासी तथा नगरप्रमुखका प्रेस सल्लाहकार ध्रुब कोईरालाले बताए । 


वडा सचिव कमलेश महतोका अनुसार छाता वितरण कार्यक्रम वडाको स्वीकृति वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरिएको हो । सामाजिक सुरक्षा शीर्षक अन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रमले वडाभित्रका सामाजिक सुरक्षा लाभग्राही सबैलाई  समेटेको महतोले बताए ।