बेलकाले ल्यायो ७६ करोड ५७ लाखको बजेट 

२ महिना अघि

२0८१ असार १४ बिहीबार
बेलकाले ल्यायो ७६ करोड ५७ लाखको बजेट 

रामपुर, असार १३

जिल्लाको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि नीति कार्यक्रम तथा पौने अर्ब बढीको बजेट ल्याएको छ । असार १० गते आयोजित ‘१४ औँ अभिवेशन’मा प्रस्तुत नीति कार्यक्रम तथा बजेट पारित गर्नुअघि व्यापक छलफलका लागि खुल्ला गरिएको छ । 


अधिवेशनमा नगरप्रमुख अशोक कार्कीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपमेयर जीरा राईले पेश गरेको ७६ करोड ५७ लाख ३१ हजार ५ सय १ रुपैँयाको वार्षिक अनुमानित आयव्ययलाई छलफलका लागि खुल्ला गरिएको हो । 


प्रस्तुत नीति कार्यक्रम तथा बजेटलाई सुक्ष्म ढंगले अध्यन गरी आवश्यक सुझाव सल्लाहसहित नमूना र उत्कृष्ट बनाउन छलफल, वहस गर्ने बाटो खुल्ला गरिएको मेयर कार्कीलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार ध्रुब कोईरालाले बताए । बजेट पारित गर्ने समयसीमा आगामी २५ गतेसम्म रहेकाले त्यसबेलासम्म व्यापक छलफल गरी नमूना बजेट निर्माण गर्ने उदेश्यले नगरसभा सदस्यहरुलाई छलफल गर्न खुल्ला गरिएको कोईरालाले बताए । 


आगामी वर्षको बजेट तथा नीति कार्यक्रम अन्य स्थानीयतहको भन्दा उत्कृष्ट, नमुना र नगरबासीमैत्री बनाउने योजना अनुरुप छलफल गर्न समय दिइएको मेयर कार्कीको भनाई छ । १४ औँं नगरसभाले बेलकालाई समृद्ध र विकसित बनाउँदै नगरबासीको दीर्घकालीन हितको दिशा निर्देश गर्न यो अवसर दिइएको कोईरालाको भनाई छ ।