चौदण्डीगढीको बजेट ७९ करोड ६३ लाख

२ महिना अघि

२0८१ असार १४ बिहीबार
चौदण्डीगढीको बजेट ७९ करोड ६३ लाख

उदयपुर, असार १३

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिकवर्षको नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । असार १० गते सोमाबर तोकिएकै समयमा आयोजित नगरसभा अधिवेशनमा प्रस्तुत आर्थिक वर्ष ०८१÷८२ को नीति कार्यक्रम तथा बजेट व्यापक छलफल र वहसपछि मंगलबार साँभ पारित भएको हो ।  


प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठका अनुसार नगरप्रमुख कालुमान लामाले प्रस्तुत गरेको नीति कार्यक्रमसँगै उपमेयर मणिकादेवी दुलालले पेश गरेको ७९ करोड ६३ लाखको बजेट पारित भएको हो । प्रस्तुत बजेटमा पुँजीगततर्फ ६४ करोड ४८ लाख र चालुतर्फ १५ करोड १५ लाख विनियोजन भएको छ । 


हाकिम श्रेष्ठले बजेटको मुख्य स्रोतको रुपमा संघ र प्रदेशबाट आउने अनुदान, राजश्व बाँडफाँड, आन्तरिक स्रोत र स्थानीय राजश्वलाई मानिएको बताए । जस अनुसार संघ र प्रदेशबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष बजेट राजश्व बाँडफाँड तथा आन्तरिक आय आमदानकिा स्रोत हुन् । 


हाकिम श्रेष्ठका अनुसार आगामी वर्ष संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड १५ लाख, सशर्त ३३ करोड ४८ लाख तथा प्रदेश वित्तीय समानीकरण ८८ लाख ८७ हजार र समानीकरण ३४ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै राजश्व बाँडफाँडतर्फ संघीय सकारबाट १४ करोड ४४ लाख, प्रदेशबाट १ करोड ७० लाखलाई पनि बजेट प्राप्तीको स्रोत नगरसभाले मानेको छ । 


चौदण्डीगढीले आन्तरिक आय ९६ करोड ४४ लाख हुने प्रक्षेपण गरेको छ भने स्थानीय राजश्व २ करोड ९० लाख उठ्ने अनुमान बजेटमा गरिएको हाकिम श्रेष्ठले बताएका छन् । 


चौदण्डीगढी नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत, खानेपानी, जनता आवास, वन, वातावरण र विपत व्यवस्थापनमा विशेष ध्यान दिने नीति लिएको छ । त्यस्तै कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषि तथा फलफुल खेती गर्न प्रोत्साहन गर्ने, स्वरोजगार मुखी कार्यक्रम अघि बढाउने, युवा तथा महिला लक्षित कार्यक्रमहरु गर्ने नीति लिइएको छ । 


खासगरी त्रियुगा नदीले वर्षेनी दुःख दिने गरेको चौदण्डीगढी नगरमा स्थानीय खोलाहरु लुहाले, दुवार, लामा, कालीखोलालगायत दर्जन हाराहारी खोला खहरेको व्यवस्थापन गर्ने पनि नीति कार्यक्रमले औँल्याएको छ । त्यसका लागि स्थायी र अस्थायी तटबाँध निर्माण, नदी खोलाको पानीलाई सिँचाई गरी गरी उन्नत कृषि कार्यमा लगाई उत्पादन बढाउने नदी नियन्त्रणलाई पनि मुल विषयमा समेटेको मेयर लामाको नीति कार्यक्रममा उल्लेख छ । 


त्यसैगरी नगरको १ नं. वडामा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढी दरवार क्षेत्रको संरक्षण, विकास र प्रबद्र्धन गर्दै सो ठाउँलाई मुख्य पर्यटकीय केन्द्र बनाउने लक्ष्य पनि नीति कार्यक्रमले समेटेको छ ।