उदयपुरगढीको बजेट झण्डै ८१ करोड

३ महिना अघि

२0८१ असार १२ मंगलवार
उदयपुरगढीको बजेट झण्डै ८१ करोड

उदयपुरगढी, असार ११

जिल्लाको उदयपुरगढी गाउँपालिकाले झण्डै ८१ करोडको बजेट ल्याउँदै आगामी वर्षको नीति कार्यक्रम पारित गरेको छ । गाउँपालिकातर्फ सबभन्दा बढी जनसंख्या र ठूलो भूगोल भएको उदयपुरगढीले आईतबार सुरु गरेको गाउँसभा सोमबार सम्पन्न गरेको हो । 


गाउँसभामा असार ९ गते अध्यक्ष मानबहादुर केप्छाकी मगरले प्रस्तुत गरेको आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रम र १० गते उपाध्यक्ष जितबहादुर खड्काले प्रस्तुत गरेको ८० करोड ८९ लाख २३ हजार रुपैँयाको बजेट सोमबार साँझ सर्वसम्मत पारित भयो । 


कुल बजेटमध्ये पुँजीगततर्फ २४ करोड ३४ लाख ५२ हजार र चालुतर्फ ५६ करोड ५४ लाख ७१ हजार विनियोजन गरिएको छ । गाउँसभाले पुँजीगततर्फ ३०.१० प्रतिशत र चालुतर्फ ६९.९० प्रतिशत बजेट हिस्सा विनियोजन गरेको छ । प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि गाउँसभा सदस्यहरुको व्यापक छलफल गरेर सर्वसम्मत पारित भएको गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माले बताएका छन् । 


प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईका अनुसार आगामी वर्षका लागि संघ र प्रदेशबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपुरक, राजश्व बाँडफाँड, आन्तरिक आय र विशेष बजेटलाई गाउँपालिकालले मुख्य सोत मानेको छ । संघीय विभाज्य कोष,  स्थानीय पूर्वाधार र सडक बोर्डबाट आउने रकमलाई पनि गाउँसभाले आमदानी मानेको छ ।  


जस अनुसार उदयपुरगढीलाई संघीय सरकारबाट समानीकरणतर्फ १४ करोड ६७ लाख प्राप्त हुनेछ भने सशर्ततर्फ ३४ करोड १ लाख ९ हजार अनुदान पाउने अनुमान छ । त्यस्तै राजश्व बाँडफाँडबाट ११ करोड ६३ लाख ३८ हजार प्राप्त हुनेछ भने संघीय विभाज्य कोषमार्फत ३१ लाख ६० हजार आउने अनुमान छ । स्थानीय पूर्वाधारतर्फ २ करोड, सडक बोर्डबाट २५ लाख र सामाजिक सुरक्षाकोषबाट १२ करोड प्राप्त गर्ने अनुमान गरेको गाउँसभाले आन्तरिक स्रोत १ करोड ६४ लाख २५ हजार प्रक्षेपण बजेटमा गरेको छ ।  


त्यसैगरी प्रदेशबाट समानीकरणतर्फ ९४ लाख २४ हजार, सशर्त १ करोड ८० लाख ७४ हजार आमदानी गर्ने अनमाुन गरेको गाउँस।भाले प्रदेश समपुरकतर्फ १ करोड र राजश्व बाँडफाँडबाट ६१ लाख ९३ हजार प्राप्त हुने प्रक्षेपण गरेको हाकिम गुरागाईले बताए । 

 

गाउँपालिकाले आगामी वर्षका लागि पर्यटन, सडक, खानेपानी, विद्युतलाई मुख्य लगानीको  क्षेत्र बनाउने नीति कार्यक्रम लिएको छ । अध्यक्ष मगरका अनुसार गाउँपालिका केन्द्रसम्म कालोपत्रे गर्नेदेखि केन्द्रबाट गाउँ टोलसम्म सडक सञ्जाल निर्माण गर्ने तथा विद्यमान सडकहरुलाई स्तरोन्नति गर्दै बाह्रै महिना चल्ने बनाउने नीति लिइएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी, कृषि, वन र वातावरण तथा विपत व्यवस्थापनतर्फ पनि आगामी वर्षको नीति कार्यक्रमले उत्तिकै स्थान दिएको आध्यक्ष मगरले बताएका छन् । 


उदयपुरगढी आफैमा ऐतिहासिक र पर्यटन केन्द्रको रुपमा विकास गर्ने प्रचुर संभावना भएको गाउँपालिका हुनाले गढीक्षेत्रमा पर्यटक भित्र्याउने आकर्षण नीति कार्यक्रमले तय गरेको उनले बताए । विपन्नलाई सम्पन्न बनाउन विभिन्न आयआर्जनमुखी योजनाहरु अघि बढाउने तथा व्यवसायिक कृषि र पशुपालनलाई पनि नीति कार्यक्रममा समेटिएको छ ।