साकेलाको बजेट ३१ करोड २२ लाख

३ महिना अघि

२0८१ असार १२ मंगलवार
साकेलाको बजेट ३१ करोड २२ लाख

साकेला, असार ११

खोटाङको साकेला गाउँपालिकाले आगामी वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ । ‘सुसँस्कृत, सँस्थागत र समृद्ध साकेला’ भन्ने नाराका साथ सोमबार आयोजित १४ औँ गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८१–०८२ को बजेट तथा नीति कार्यक्रम बृहत छलफलपछि पारित भएको हो । 


गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै थप कार्यक्रमका साथ नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा ३१ करोड २२ लाख रुपैँयाको अनुमानित आयव्यय प्रक्षेपण गरिएको छ । 


आगामी वर्षका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ६ करोड ९३ लाख, राजश्व बाँडफाँड ६ करोड ३८ लाख प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । त्यस्तै सशर्त अनुदान २४ करोड ४३ लाख ८ हजार तथा समपुरक अनुदान ६० लाख रुपैंया प्राप्त हुने अनुमान छ । 


त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण ३९ लाख ५९ हजार, सवारी करबाट  २६ लाख ५१ हजार, सशर्त अनुदान ९६ लाख ८२ हजार र समपुरक अनुदान १ करोड रुपैंया प्राप्त हुने बजेटमा उल्लेख छ । बजेटमा गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाख रुपैंया हुने प्रक्षेपण गरिएको छ ।


गाउँपालिकाले चालु वर्ष २०८०–०८१ मा ३३ करोड ८८ लाख ९१ हजार रकम विनियोजन गरेकोमा असार ९ गतेसम्ममा २३ करोड ६२ लाख ९० हजार खर्च भएको यथार्थ विवरण उल्लेख छ । यो खर्च अंश कूल बजेटको ६०.८२ प्रतिशत हो । 


गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रममा अध्यक्ष राईले १२ औँदेखि १४ औँं गाउँसभासम्म आईपुग्दा समग्र साकेलाको विकास प्रकृयामा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने तथा सल्लाह सुझाव दिने राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र समग्र साकेलावासीलाई धन्यवाद दिएका थिए ।


सो अवसरमा साकेलाको गौरवका योजनाहरुलाई पुरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै जाने अध्यक्ष राईले बताए । उनले पर्यटनको माध्यमबाट गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजान सकिने भएकाले तावाभञ्ज्याङक्षेत्रमा वृहत्त पर्यटन पूर्वाधार, तावाताल, धार्मिक पार्क, साँंस्कृतिक गाउँ लगायतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर साँस्कृतिक गाउँ निर्माण कार्य सुरु भईसकेको बताए । 


त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभानलाई पर्यटकीयक्षेत्रको रुपमा विकास गरिने पनि अध्यक्ष राईको योजना छ । साकेलाको वृहत पर्यटकीयक्षेत्रको विकास गरी आगामी ४ वर्षभित्र नमूना गाउँपालिका निर्माण गर्न आवधिक योजनामा समेटिएका पूर्वाधारहरुमध्ये गाउँपालिकाको सीमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा डिजिटल गाउँपालिका बनाउने कार्यलाई प्राथमिकता दिईने अध्यक्ष राईले बताए । 


बढ्दो बसाईसराई रोक्न यसअघि गाउँ छाडी गएका साकेलाबासी बसाई सरी आएमा त्यस्ता परिवारलाई ५ हजार प्रोत्साहन अनुदान दिने विगत वर्षको कार्यक्रमलाई निरन्तरता दिने योजना पनि अध्यक्ष राईले सुनाए । पछिल्लो समय साकेलाबाट बसाई सर्ने क्रम बढिरहेका कारण जनसंख्या घटिरहेको अवस्थामा गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सुरु नीति कार्यक्रम सो प्रोत्साहन अनुदान दिन थालिएको छ । 


यो कार्यक्रम अन्तर्गत बसाई सराईलाई न्यूनिकरण गर्नका साथै आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधालगायत कुरामा जोड दिइने गाउँपालिकाको नीति छ । यो कार्यक्रमले गाउँपालिकाको जनसङ्ख्या सन्तुलनमा राख्न मद्धत गर्ने अपेक्षा गरिएको छ ।