रौतामाईको बजेट ५७ करोड ६ लाख

३ महिना अघि

२0८१ असार ११ सोमबार
रौतामाईको बजेट ५७ करोड ६ लाख

भुट्टार, असार १०


उदयपुरको रौतामाई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को तीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सोमबार गाउँपालिका मुकाम भुट्टारमा आयोजित ‘१५ औँ गाउँसभा’मा अध्यक्ष वीरेन्द्र मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष भूपेन्द्र थापाद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट व्यापक छलफल गरी पारित भएको हो । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ५७ करोड ६ लाख ९७ हजार रुपैँयाको अनुमानित आयव्यय पारित गरेको बताए । उनका अनुसार प्रस्तुत बजेटमा संघीय सशर्त, संघीय वित्तीय समानीकरण, प्रदेश सशर्त र समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आयलाई मुख्य आमदानी मानिएको छ । 


प्रमुख प्रशासकीय का अनुसार बजेटमा संघीय सशर्ततर्फ ३० करोड ८० लाख २५ हजार आय अनुमान गरिएको छ भने वित्तीय समानीकरणतर्फ ९ करोड ५७ लाख प्राप्त हुने अनुमान गरिएको बताए । त्यस्तै प्रदेश सशर्त रकम २ करोड १५ लाख ७२ हजार तथा समानीकरणतर्फ ५७ लाख ३३ हजार अनुमान गरिएको छ । 


लेखा अधिकृत भूपध्वज रायमाझीले बजेटमा संघ र प्रदेश दुवैतर्फको राजश्व बाँडफाँडबाट १० करोड ६९ लाख ९७ हजार प्राप्त हुने अनुमान गरिएको बताए । त्यस्तै आन्तरिक राजश्व ६७ लाख संकलन हुने अनुमान बजेटमा गरिएको छ । चालु आर्थिक वर्षको अल्या र अन्य आमदानी २ करोड ५९ लाख ७० हजार अनुमान गरिएको रायमाझीले बताए ।


‘कृषि, पर्यटन, विकास र पूर्वाधार, समृद्ध रौतामाई निर्माणको आधार’ भन्ने नाराका साथ सम्पन्न गाउँसभाले कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा प्राथमिक्ताका साथ जोड दिएको नीति कार्यक्रमा उल्लेख छ । नीति कार्यक्रम पस्तुत गर्दै अध्यक्ष मगरले रौतामाई पर्यटनको प्रचुर संभावना बोकेको गाउँपालिका भएकाले पर्यटन विकासmलाई महत्वका साथ बजेटले संबोधन गरेको बताए । 

 

ऐतिहासिक तथा धार्मिक महत्वको रौतापाखेरी जस्तो प्रदेशकै नमूना र प्रमुख पर्यटकीयस्थल रहेको गाउँपालिकाले पर्यटनबाटै समृद्धि र विकास हासिल गर्न सक्ने अठोटका साथ नीति कार्यक्रमले प्रमुख स्थान दिएको अध्क्ष मगरको भनाई छ । त्यसैगरी चित्रेथाम जस्तो जिल्लाकै अग्लो भूभाग, ओडारे झर्ना, सुके पोखरी, तामा खानी र उत्तरतर्फ खोटाङ सीमानामा सुन नदी बगिरहेकाले जल पर्यटन (¥याफ्टिङ)को उत्तिकै संभावना रहेको छ । आगामी वर्ष जल र स्थल पर्यटन क्षेत्रमा नीति कार्यक्रमले प्रमुख प्राथमिक्ता दिएर लगानी गर्ने योजना बनाउको अध्यक्ष मगरले बताए । 


गाउँँसभाले कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत र रोजगारी सिर्जना गर्ने योजनाहरु पनि पारित गरको छ । युवा पलायन रोक्दै स्वरोजगार बनाउन युवा तथा  महिलामैत्री कार्यक्रममार्फत आयआर्जनमुखी व्यवसाय गर्न पनि नीति कार्यक्रमले उत्तिकै प्राथमिक्ता दिने योजना गाउँसभाले पारित गरेको छ । 


त्यसैगरी गाउँगाउँमा सडक, घरघरमा खानेपानी, उज्यालो रौतामाई कार्यक्रम अन्तर्गत सबै घरमा विजुली बत्ती र प्रत्येक वडामा सञ्चालित स्वास्थ्य चौकीहरुर्ला स्तरोन्नति गरी स्वास्थ्य सेवालाई हरेक नागरिकको पहुँचमा पु¥याउने लक्ष्य पनि नीति कार्यक्रमले समेटेको छ । 


गाउँसभा कार्यक्रममा वडाध्यक्षहरु १ नं. का रुद्र कार्की, २ का होमबहादुर खत्री, ३ का दीपेन्द्र दाहाल, ४ का रबिन्द्र खत्रीको उपस्थिति थियो । त्यस्तै ५ नं. वडाध्यक्ष पाण्डोव राई, ६ का पृथ्वी राई, ७ का मनोज रानामगर र ८ का घमानसिंह थापामगर सहभागी थिए । कार्यक्रममा गाउँसभा सदस्यहरु, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, महिला, युवा, शिक्षक र कर्मचारीको पनि अर्थपूर्ण सहभागिता रहेको गाउँपालिकाका लेखा सहायक भेषराज पराजुलीले बताए ।