गीता राई स्मृति रनिङ सिल्ड’को उपाधि हाँसपोसा इटहरीलाई 

३ महिना अघि

२0८१ असार १0 आईतवार
गीता राई स्मृति रनिङ सिल्ड’को उपाधि हाँसपोसा इटहरीलाई 

उदयपुर, असार ८


साकेला उभौलीको अवसरमा आयोजित ‘गीता राई स्मृति साकेला रनिङ सिल्ड प्रतियोगिता ०८१’को उपाधि किरात राई यायोक्खा इटहरीले चुमेको छ । शनिबार सम्पन्न प्रतियोगितामा इटहरी उपमहानगर १, १९ र २० स्थित यायोकखा टोली हाँसपोसाले सिल्ड कब्जामा लिन सफल भएको हो । 


सदरमुकाम गाईघाटस्ति साकेलाथान परिसरमा आयोजित प्रतियोगितामा विभिन्न ११ समूहलाई पछि पार्दै हाँसपोसा ११ औँ संस्करणको उपाधि चुम्न सफल भएको हो । यसअघि २ पटक हाँसपोसाले जितिसकेको हाँसपोसा लगातार तेस्रो पटक उपाधि चुम्दै सिल्ड पच गर्न सफल भएको छ । लगातार तेस्रो पटक जितेपछि सिल्ड उसको स्थायी हुन पुगेको आयोजक किरात राई यायोक्खा त्रियुगा नगर कमिटी अध्यक्ष सर्बधन राईले बताए । 


अध्यक्ष राईका अनुसार यसअघि यायोक्खा मोरङको पथरी समूहले ४ वर्षअघि सिल्ड पच गरेको थियो । पथरीपछि दोस्रो पटक सिल्ड पच गर्ने समूह हाँसपोसा हुन पुगेको छ । उपाधि चुमेसँगै हासपोसाले ३० हजार नगद पुरस्कार पनि प्राप्त गरेको छ । 


यायोक्खा त्रियुगा नगर प्रारम्भिक कमिटी उपविजेता बन्दै २० हजार नगदको भागीदार बनेको छ । त्यसैगरी १५ हजार नगद पुरस्कार पाउने गरी तेस्रो स्थान धरान उपमहानगरपालिका १५ ले लिएको छ । प्रतियोगितामा किरात राई पुमा तुप्पा वाङ्खला साकेला समूह त्रिनपा १२, यायोक्खा लेटाङ मोरङ, कौवाई बुङ साकेला समूह र यायोक्खा चौदण्डीगढी नगरले सान्त्वना स्थान पाएका छन् । 


प्रतियोगिा समापन कार्यक्रममा विजयी समूहहरुलाई गीता राई स्मृति प्रतिष्ठानका संरक्षक नरध्जव राईको तर्फबाट छोरी बिमला राईले सिल्ड, नगद तथा प्रमाणपत्र प्रदान गरिन् । त्यस्तै यायोक्खा प्रमुख सल्लाहकार प्रेम चामलिङ र सल्लाहकार महेन्द्र राईले उपविजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 


उपविजेताको पुरस्कार प्रायोजक स्वर्गीय प्रमिला राई स्मृति प्रतिष्ठानका सञ्चालक प्रेम चामलिङले नगद तथा प्रमाणपत्र प्रदान गरे । तेस्रो स्थान पाउने धरान १५ लाई अर्का प्रायोजक भूपध्जव–निर्मला स्मृति प्रतिष्ठानका तर्फबाट नवीन राईले १५ हजार नगद र प्रमाणपत्र प्रदान गरे । 


सान्त्वना पुरस्कार पाउने समूहहरु प्रत्येकलाई ७ हजारका दरले नगद तथा प्रमाणपत्र प्रदान गरियो । जस अनुसार यायोक्खा लेटाङलाई स्वर्गीय लालशेर–मिथिला राई स्मृति प्रतिष्ठानको तर्फबाट छोरा सागर समिप राईले, कौवाई बुङ त्रिनपा ३ चाँपलाई अरुण राई स्मृति प्रतिष्ठानकी संरक्षक हिरामोति राईले, किरात पुमा बाङखला १२ लाई जगतबहादुर–विष्णुदेवी स्मृति प्रतिष्ठानको तर्फबाट छोरा कालीदास राईले र चौदण्डीगढीलाई बुद्धिसरा स्मृति प्रतिष्ठानका संरक्षक रत्नबहादुर राईले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । 


आयोजक यायोक्खाका सचिव कर्ण राईका अनुसार प्रतियोगितामा उदयपुरका विभिन्न नगर यायोक्खाका साथै सुनसरी र मोरङबाट १२ टोलीको सहभागिता थियो । प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी रमेश थापा, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसनधान, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँगै हजारौँको सर्वसाधारणले उपस्थिति जनाएको कार्यक्रम सञ्चालक सशिका राईले बताईन् ।