लेखा एकाईमा कर्मचारी धर्ना, संघर्ष सशक्त हुदै

३ महिना अघि

२0८१ असार १0 आईतवार
लेखा एकाईमा कर्मचारी धर्ना, संघर्ष सशक्त हुदै

उदयपुर, असार ८

गार्इृघाटस्थित प्रदेश सरकार लेखा एकाई परिसरमा आईतबार विहानदेखि कर्मचारीहरु धर्नामा छन् । निजामति ऐन्ले चरम विभेद गरेको भन्दै आन्दोलनरत प्रदेश लेखा समूहका कर्मचारहरु धर्नामा उत्रिएका छन् । 

 

यसअघि पटकपटक आफ्ना मागहरु राख्न प्रदेश सरकार, मुख्यमन्त्री र विभागीय मन्त्री तथा प्रमुख सचिवको ध्यानाकर्षण गराईसके पनि बेवास्ता गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरुको भनाई छ । प्रदेश मातहत लेखा समूहका कर्मचारीको मागबारे सरकारले चासो नदिएकै कारण आन्दोलित कर्मचारीहरु संघर्षलाई निरन्तरता दिन बाध्य भएको बताईरहेका छन् । 

 

आन्दोलनका अगुवा डिभिजन वन कार्यालय कटारीका लेखा अधिकृत रोहित श्रेष्ठले आफुहरु पटकपटक ज्ञापनपत्र बुझाउँदै छलफल र बहस गरे पनि सुनुवाई नगरेकाले संघर्ष गर्नुपरेको बताए । उनका अनुसार गत विहीबारदेखि सुरु आन्दोलन थप सशक्त गर्नुपर्ने बाध्यता आईलागेको छ । 

 

आफुहरुको मागको संबोधनका लागि लामो समयदेखि गर्दै आएको अनुनय विनयप्रति सरकार बेसरोकार देखिएपछि आन्दोलन गर्न बाध्य भएको अर्का प्रदेश लेखा एकाईका अधिकृत विजय गेलाल बताउँछन् । उनका अनुसार गत विहीबार हातमा कालोपट्टी बाँधेर काम गरेका कर्मचारहिरु शुक्रबार ‘पेन ठाउन’ गरेर आन्दोलनमा उत्रिएका थिए ।


 
शनिबारसम्ममा माग सम्बेधन नभए सामुहिक विदा बसेर कडा संघर्षमा उत्रिने चेतावनी दिए पनि सरकारले कुनै चासो नदिएको उनीहरुको गुनासो छ । माग पुरा नभएसम्म कुनै पनि हालतमा आन्दोलन फिर्ता नलिने अडानमा रहेका उनीहरु बरु संघर्षलाई सशक्त बनाउदै लान प्रतिबद्ध छन् । 

 

प्रदेश लेखा समूहका कर्मचारीमाथि सौताको व्यवहार भएकाले संघर्षमा उत्रिन बाध्य भएको धर्नामा सहभागी जिल्ला अस्पतालका लेखा अधिकृत महेश वाग्लेले बताए । माग पुरा नभएसम्म संघर्ष नरोक्ने निर्णय प्रदेशभरीका लेखा कर्मचारीहरुबीच भएको हुनाले आन्दोलन जारी रहने उनले सुनाए । 

 

लेखा कर्मचारीहरुको आन्दोलनका कारण आर्थिक वर्ष अन्त्यका बेला जिल्लाका विभिन्न योजनाहरुको भुक्तानी प्रभावित भएको छ । आर्थिक वर्षको अन्त्यमा विकास निर्माण योजनाको फरफारक र भुक्तानी गर्नुपर्ने हुन्छ । तर, बेला लेखाकै कर्मचारी आन्दोलित भएका कारण भुक्तानी प्रक्रिया अवरुद्ध हुँदा हजारौँ योजना, त्यसको जिम्मा लिने ठेकेदार र उपभोक्ता समितिहरु मार्कामा परेका छन् । 

 

उदयपुरमा प्रदेश मातहका १२ कार्यालय सञ्चालनमा छन् । कतिपय कार्यालय खोटाङ र उदयपुुर गरी २ जिल्लाको रेखदेख गर्ने जिम्मेबारीमा छन् । पूर्वाधार विकास कार्यालय, आयुर्बेद अस्पताल, भेटनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्र, यातायात व्यवस्था सेवा कार्यालय र प्रदेश लेखा नियन्त्रण एकाई २ जिल्ला रेखदेख गर्ने निकायहरु हुन् । 

 

स्वास्थ्य, कृषि ज्ञान केन्द्र, उदयपुर अस्पताल, सिँचाई विकास डिभिजन, डिभिजन वन कार्यालय गाईघाट र कटारी, घरेलु तथा साना उद्योग र खानेपानी डिभिजन कार्यालय खोटाङ अन्तर्गत फिल्ड कार्यालय गाईघाट प्रदेश मातहका निकाय हुन् । यी कार्यालय मातहत भए गरेका वार्षिक विकास निर्माणका कामहरुको फरफारक र भुक्तानी आन्दोलनका कारण रोकिन गएको छ ।