अपाङ्गतालाई स्वास्थ्य परीक्षण परिचयपत्र 

३ महिना अघि

२0८१ असार ५ मंगलवार
अपाङ्गतालाई स्वास्थ्य परीक्षण परिचयपत्र 

उदयपुर, असार ३

सदरमुकाम त्रियुगा नगरपालिकाले अपाङ्गता भएका नगरबासीको स्वास्थ्य परीक्षण गर्नुका साथै अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ । नगरपालिकाले प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत सहभागिता र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा सो कार्य सञ्चालन गरेको हो । 


अपाङ्ग महासंघले सञ्चालन गरेको ‘अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ अन्तर्गत बैशाख २८ देखि सुरु स्वास्थ्य परीक्षण र परिचयपत्र वितरण कार्यक्रम अहिले नगरका विभिन्न वडाहरुमा जारी रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बुझ्दै परिचयपत्र पनि वितरण गर्ने उदेश्यले यो संयुक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 


त्रियुगा नगरपालिकाको तथ्याङ्क अनुसार नगरका १६ वटै वडामा अपाङ्गता भएका नगरबासीहरु रहेका छन् । जसमध्ये वडा नं. १ जोगीदह, २ खैजनपुर, ३ मोतिगडा, ४ देउरी, ५ दमौटी, ६ जलजलेमा धेरैजसो अपाङ्गता भएकाहरु रहेकाले शिविर राखेर स्वास्थ्य परीक्षण गर्दै परिचयपत्र वितरण गरिएको हो । त्यसैगरी पहाडी ग्रामिण भेगका वडाहरु १४ नं. साउने, १५ डहर र १६ चिलाउनेमा पनि विभिन्न बर्ग समूहका अपाङ्गता भएकाहरु रहेका छन् । 


नगरपालिका अपाङ्ग शाखाकी कर्मचारी अम्बिका भट्टराईका अनुसार नगरभरी १ हजार ९ सय ३२ जना अपाङ्गता भएका व्यक्तिहरु छन् । नगर सामाजिक विकास शाखामार्फत उनीहरुको स्वास्थ्य परीक्षणसँगै परिचयपत्र वितरण गर्ने काम यसै वर्षदेखि शिविरमातर्फ लागू गरिएको भट्टराईले बताईन् । 

 

जस अनुसार आईतबारसम्ममा १, २, ३, ४, १२, १४, १५ र १६ नं. वडामा स्वास्थ्य परीक्षण र परिचयपत्र वितरण कार्य सम्पन्न भईसकेको छ । अव अन्य वडाहरुमा पनि शिविर राखेर स्वास्थ्य परीक्षण र परिचयपत्र वितरण कार्य भईरहेको सामाजिक विकास शाखा अधिकृत राजकुमार खड्काले बताए । 


शिविरमा अपाङ्गता भएकाहरुलाई स्वास्थ्य जाँचसँगै फिजियोथेरापी पनि गराइएको छ । जस  अन्तर्गत आँखा र कानको परीक्षणसहित फिजियोथेरापी र औषधि वितरण कार्यसमेत भईरहेको छ । अपाङ्गता भएकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा सवलाङ्ग पनि सहभागी हुन पाउने भएकाले यो कार्यक्रम नगरबासीका लागि उपलबब्धिमूलक भएको खड्काले बताए ।