मात्तिमका किसानले थाले व्यवसायिक केरा खेती

३ महिना अघि

२0८१ असार ३ आईतवार
 मात्तिमका किसानले थाले व्यवसायिक केरा खेती

साकेला, असार २ 

खोटाङको साकेला गाउँपालिका ५ मात्तिमबिर्तामा खेराको व्यवसायिक खेती गर्ने योजना गाउँपालिकाले अघि बढाएको छ । मात्तिमविर्ता क्षेत्रलाई केरा उत्पादनको पकेटक्षेत्रको रुपमा विकास गर्ने योजनका अनुसार प्रदेश सरकारले चालु आर्थिकवर्ष आवश्यक वजेटसमेत दिएको छ । 


प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले केरा खेतीको पकेटक्षेत्र विस्तारका लागि उपलब्ध गराएको २० लाख रुपैँया अनुदानमा २५ प्रतिशत लागत साझेदारी गर्नेगरी कार्यक्रम अघि बढाइएको छ । त्यसका लागि वडामा केरा खेती विस्तार योजना कार्यान्वयन सुरु भएको गाउँपालिकाले जनाएको छ । 


सो वडाको ४ सय ६६ रोपनी क्षेत्रफल जमिनमा यसै वर्षदेखि व्वसायिक केरा खेती सुरु गरिएको छ । जसका लागि गाउँपालिकाले ‘जी नाईन’ जातको तन्तु प्रजनन (टिस्यु कल्चर)बाट उत्पादित २८ हजार केराका विरुवा खरिद गरेर वितरण गर्न सुरुगरेको छ । सो विरुवा रौतहटको चन्द्रनिगाहपुरबाट खरिद गरि ल्याइएको हो । 


विरुवासँगै केरा खेती लगाउन खाडल खन्ने ३ वटा उपकरण (मेसिन) पनि किसानलाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईले रोपेको केराको बिरुवालाई जगाउन र सिंँचाई गर्न २५ एमएमको पोलिथिन पाईप पनि वितरण गरेका छन् । किसानलाई आवश्यक पर्ने ८ सय ७० मिटर पाईप सोही योजना अन्तरर्गत खरिद गरी टोल सुधार समितिमार्फत अध्यक्ष राईले किसानलाई हस्तान्तरण गरेका हुन् । 


अध्यक्ष राईले ५ नं. वडालाई केरा उत्पादन गर्ने पकेटक्षेत्रको रुपमा विकास गर्ने गरी संघ, प्रदेश तथा स्थानीयतहबाट साझेदारीमा लगानी बढाउँदै लैजाने योजना रहेको बताए् । कृषिबाटै आत्मनिर्भर बनाउने योजनाका साथ केरा खेती हुँदै आएको मात्तिमबिर्ताका किसानलाई व्यवसायिक रुपमा केरा खेती गर्न प्रोत्साहन गर्ने योजना अनुसार सो कार्यक्रम लागू गरिएको अध्यक्ष राईको भनाई छ । 


किसानले उत्पादन गरेको खाद्य तथा कृषि उपजको बजार व्यवस्थापन गर्ने जिम्मा पनि गाउँपालिकाले लिने उनले बताएका छन् । हरेक उत्पादनमा आत्मनिर्भर बन्नसके साकेलालाई समृद्ध बनाउन समय नलाग्ने उनको बुझाई छ । मात्तिममा केरा खेतीजस्तै अन्य वडामा कुनकुन फलफल र अन्नबालीको व्यवसायिक खेती गर्न सकिन्छ भन्ने खुट्याउन गाउँपालिकाभित्रका विभिन्न स्थानको माटो परीक्षण गर्ने काम पनि भईसकेको छ ।


गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले माटो परीक्षण प्रतिबेदन आएपछि कुन भूगोलमा के लगाउने भन्ने विस्तृत प्रतिवेदन आएपछि निर्धारण गरेर अघि बढ्ने बताइन् । तत्कालका लागि ५ नं. भूगोलमा सुहाँउदो केरा, कफी, कागती, लिचीलगायतको व्यवसायिक खेती हुने देखिएकाले त्यसकै लागि विरुवा रोप्न किसानलाई प्रोत्साहन गर्न थालिएको उनले बताईन् । 


साकेला ५ का वडाध्यक्ष जीवन खत्रीले केरा खेती विस्तार गर्न स्थानीय मात्तिम कृषि तथा पशुपंक्षी कृषक समूहमार्फत काम अघि बढाइएको बताए ।