प्रदेश १ को बजेट ३५ अर्ब २८ करोड, सबभन्दा बढी पूर्वाधारमा

३ महिना अघि

२0८१ असार २ शनिबार
प्रदेश १ को बजेट ३५ अर्ब २८ करोड, सबभन्दा बढी पूर्वाधारमा

उदयपुर, असार १

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०८१–८२ को बजेट तथा नीति कार्यक्रम शनिबार प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री राम रानामगरले प्रदेशसभामा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको वार्षिक अनुमानित आयव्यय सार्वजनिक गरेका हुन् ।


उनले प्रस्तुत गरेको बजेट चालुतर्फ १४ अर्ब ४७ करोड २३ लाख रहेको छ भने  पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रहेको छ । वित्तीय व्यवस्थापनतर्फ २ करोड तथा स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन उल्लेख छ । 


बजेटको सबभन्त्दा ठूलो आकार पूर्वाधार विकासतर्फ रहेको छ । पूर्वाधारतर्फ १० अर्ब ४१ करोड ५१ लाख रहेको छ । दोसो ठूलो बजेट आकार खानेपानी, र्सिचाई तथा उर्जा मन्त्रालयलाई ४ अर्ब ३६ करोड ५४ लाख ७३ हजार रहेको छ । 


त्यस्तै तेस्रो ठूलो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ३ अर्ब ५५ करोड १९ लाख ६८ हजार र चौथो ठूलो बजेट स्वास्थ्य मन्त्रालयलाई ३ अर्ब ३७ करोड ७४ लाख ९२ हजार छुट््याइएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ४२ करोड ३८ लाख ४८ हजार विनियोजन गर्दा उद्योग, कृषि तथा सहकारी मन्त्रालयलाई २ अर्ब २४ करोड ६६ लाख ४२ हजार छुट्याइएको छ । 


बाँकी दुई मन्त्रालयहरु सामाजिक विकास र आन्तरिक मामिलालाई सवा अर्ब हाराहारी बजेट मन्त्री मगरले छुट्याएका छन् । सामाजिक विकास मन्त्रालयलाई १ अर्ब ३२ करोड ४२ लाख १६ हजार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १ अर्ब ३ करोड ९० लाख ९० हजार बजेट मन्त्री मगरले विनियोजन गरेका छन् ।


मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ३८ ४५ लाख १६ हजार छुट्याएका मन्त्री मगरले प्रदेश व्यवस्थापिका, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग, स्थानीयतह, प्रदेश कर्मचारी सुविधा तथा सेवा निबृत्त सुविधा र अर्थ विविध शीर्षकमा पनि बजेट छ्ट्याएका छन् । 


‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नाराका साथ प्रस्तुत बजेटमा मन्त्री मगरले आयतर्फ आन्तरिक स्रोत, राजश्व बाँडफाँड, संघीय अनुदान, समपुरक र विशेष अनुदानलाई मुख्य आधार मानेका छन् । त्यस्तै वैदेशिक सहयोग, वित्तीय हस्तान्तरण र नगद मौज्दातलाई पनि उनले आम्दानीको स्रोत बनाएका छन् ।