इनामेको यारी खोलामा पक्की पुल निर्माण सुरु  

३ महिना अघि

२0८१ असार २ शनिबार
इनामेको यारी खोलामा पक्की पुल निर्माण सुरु  

ताप्ली, असार १

उदयपुरको बिकट पहाडी गाउँपालिका ताप्लीको यारी खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ । ५ नं. वडा रुपाटारमा रहेको गाउँपालिका केन्द्र र वडाबासीलाई आउजाउ गर्ने मुख्य नाका रहेको ३ नं. वडाको इनामेस्थित सति जङ्घारमा पुल बनाउन थालिएको हो । 


नुनथला–ठानागाउँ–माझखर्क सडक खण्ड अन्तर्गत सति जङ्घारमा पुल नहुँदा स्थानीयबासीलाई वर्षायाममा आउजाउ गर्न समस्या पर्दै आएको ठाउँमा पुल बनाउन थालिएको हो । गाउँपालिका मुकाम रुपाटार र वडा कार्यालय आउजाउ गर्न पनि वर्षायाममा जोखिमयुक्त रहकाले त्यसको समाधान गर्न पुल बनाउन थालिएको गाउँपालिका अध्यक्ष ढुङ्गराज विकले बताए । 


अध्यक्ष विकका अनुसार पुल बनेपछि ताप्ली ३, ४, ५ लगायत अन्य वडाबासीलाई पनि वर्षायाममा आउजाउ गर्न सहज हुनेछ । गाउँपालिकाले आवश्यक्ता र प्राथमिक्ताको आधारमा विभिन्न खोलाहरुमा पक्की पुल, सडक, विद्युत र खानेपानीका योजनाहरु निर्माण गरिहेको पनि अध्यक्ष विकले बताएका छन् । 


आउँदो ३ वर्षभित्र पुल बनाईसक्ने सो पुल सङ्घीय सरकारको विशेष अनुदान रकममा पुल बनाउन लागिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईका अनुसार वहुवर्षीय योजना अन्तर्गत चालु वर्ष सङ्घीय सरकारले १ करोड ९ लाख बजेट सुनिश्चित गरिदिएको रकम खर्च हुनेछ । जसमध्ये चालु आव ३० लाख पेश्की निकासा भईसकेको र बाँकी आउने क्रममा रहेको राईले बताए । 

 

गत वैशाख १० गते नै ठेक्का सम्झौता भए पनि सिल्यान्यास भने सातादिनअघि मात्र गरिएको छ । अध्यक्ष विक र उपाध्यक्ष धनमाया मगरले सिल्यान्यास गरेको सो पुलको काम आउँदो ३ वर्षभित्र अर्थात ०८३ वैशाख ९ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । 


ुगाउँपालिकका इन्जिनियर मनिषकुमार यादवले पुल निर्माणको जिम्मा आरएन–बिएनबी–शाहिल जेवी कटारी ३ ले मूल्य अभिबृद्धि कर (भ्याट)सहित ३ करोड ५९ लाख ९० हजार ८ सय ४१ मा पाएको बताए । ४ करोड ४ लाख ४१ हजार ४ सय ६३ रुपैँयाको लागत इस्टीमेट भए पनि निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा हुँदा सो अंकमा ठेक्का सकार भएकोे यादवले बताएका छन् । 


७.४० मिटर चौडाई र २०.६२ मिटर लामो उक्त पुलको दुवैतर्फ पैदल यात्राका लागि १.४० मिटर सडक पेटी र ६ मिटर सवारी आउजाउ गर्न मिल्ने प्राविधिक इस्टीमेट छ ।