त्रियुगाको प्रशासनिक भवन अन्तिम चरणमा

३ महिना अघि

२0८१ जेष्ठ ३0 बुधबार
त्रियुगाको प्रशासनिक भवन अन्तिम चरणमा

महेश्वर चामलिङ 
उदयपुर, जेठ २८

सदरमुकाम त्रियुगा नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य द्रुत गतिमा भईरहेको छ । १० वडाको बाँसबारीस्थित नगरको आफ्नै स्वामित्वको डेढ बिगाहा क्षेत्रफल जमिनमा निर्माणाधीन भवन वर्षदिनमै स्ट्रक्चरल कार्य सम्पन्न हुन लागेको छ । 

भूमिगत तला (अण्डरग्राउण्डेड) सहित ५ तले ८४ कोठाको अत्याधुनिक र सुविधासम्पन्न भवन १४ करोड लागतमा निर्माणाधीन रहेको छ । अघिल्लो कार्यकालमै तत्कालीन नगरप्रमुख बलदेव चौधरीले सिल्यान्यास गरेको भवन अहिलेका मेयर बसन्त बस्नेतले निर्माण गर्न थालेका हुन् । ०८० मंसिर तेस्रो सातादेखि निर्माण कार्य सुरु भएको भवन डेढवर्षमै ५ तला ढलान सकेर भित्री बाहिरी प्लास्टरको कामसमेत सम्पन्न भईसकेको छ ।


नगरपालिका सहरी पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर निर्मल चौधरीका अनुसार भूमिगत तलालाई पार्किङको रुपमा प्रयोग गरिने भवनको प्रत्येक तलामा २१ कोठाका दरले ४ तलामा ८४ कोठा हुनेछन् । १५ करोड ९० लाख ९० हजारको लागत इस्टीमेट रहेको टेण्डर आव्हान गरेर निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा गराउँदा मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक १२ करोड २६ लाख ३९ हजार २ सय ९३ रुपैँयामा ठेक्का लागेको इन्जिनियर चौधरीले बताए । 


भवन निर्माणको जिम्मा पाएको ज्ञानज्योति बिल्डर्स प्रालि काभ्रेले इस्टीमेट अनुसार छिटो काम भईरहेको पनि इन्जिनियर चौधरीले बताएका छन् । भवन निर्माणको सम्झौता ०७९ असार १५ गते नै भए पनि वर्षायाम लगत्तै प्रतिनिधि तथा प्रदेशसभा चुनाव आएकाले आचारसंहिता लागू हुँदा त्यसबेला काम सुरु हुन नसकेको नगरले जनाएको छ । चुनावले गर्दा ६ महिना ढिला सुरु भए पनि काम फटाफट भएर झण्डै ८५ प्रतिशत सम्पन्न भईसकेको छ । भवन निर्माण अवधि ३ वर्ष अर्थात ०८२ असार १३ गतेसम्म रहेको सम्झौतामा उल्लेख भए पनि समयमै बजेट आएको खण्डमा ६ महिनाअघि नै सकिने अनुमान नगरपालिकाले गरेको छ । 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ करोड र नगरपालिकाबाट ८ करोड लागत सहभागितामा निर्माणाधीन भवनका लागि आवश्यक बजेट बेलामा नपाउँदा समस्या भईरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए । अहिलेसम्म संघीय सरकारबाट जम्माजम्मी २ करोड मात्र रकम प्राप्त भईरहेको छ । पहिलो चरणमा १ करोड ७० लाख र दोस्रो चरण ३० लाख मात्र बजेट आएको छ । नगरपालकिाको आन्तरिक आय सङ्कलन पनि सीमित रहेकाले भौतिक प्रगति अपेक्षाभन्दा छिटोछिटो भए पनि वित्तीय प्रगति अपेक्षा अनुसार हुन नसकिरहेको हाकिम सिग्देलले बताए । 


अत्याधुनिक भवनमा विद्युतीय भर्याङ (लिप्mटिङ)सहित बालमैत्री, अपाङ्गमैत्री र फराकिलो पार्किङ, फुलबारी तथा पुरुष–महिलाका लागि अलग अलग शौचालय र खानेपानी सविधा  हुने अधिकृत सिग्देलले बताएका छन् । पुरानो भवन अत्यन्त साँघुरो भएकाले नगरपालिका सञ्चालनमा निकै बाधा भईरहको हुँदा नयाँ भवन चाँडो निर्माण गर्नुपर्ने दबाव रहेको हाकिम सिग्देलले बताएका छन् । 


मेयर बस्नेतले अहिलेको भवन अत्यन्त साँघुरो भएकाले नयाँ भवन बनाउने काम भईरहेको बताउँदै छिटो र समयमै निर्माण सक्नेगरी काम भईरहेको बताए । चुस्त र छिटोछरितो सेवा प्रवाह गर्न आवश्यक पूर्वाधारमध्ये भवन पहिलो सर्त अनुसार भवन बनाउने काम भईरहेको उनले बताए । सदरमुकाम बजार, भूगोल र जनसङ्ख्याको हिसावले त्रियुगा जिल्लाकै जेठो र ठूलो नगरपालिका हुनाले भवन पनि ठूलै बनाइएको बस्नेतको भनाई छ ।


०५३ सालमा स्थापना भएको त्रियुगा नगरपालिका ०५४ सालको प्रथम निर्वाचित मेयर लालशेर राईको पालमा ३ तले भवन बनोको थियो । त्यो बेला पर्याप्त रहेको यो भवन स्थानीयतह पुनर्संरचनापछि आधा कर्मचारी जनशक्ति पनि थेग्न नसक्ने हुन पुग्यो । भवन साँघुरोभ एका कारण नगरपालिकाका शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवा शाखा बोक्सेस्थित साबिक महिला तथा बालबालिका कार्यालय भवनमा राखिएको छ । जसले गर्दा नगरबासीले एकद्वार नीति अनुसार सेवा पाउन नसकिरहेका छैनन् । 


कोठा अभावमा भवनको बरण्डा, लबि र आँगनमा समेत आल्मुनियम जोडेर निकालिएको कोठामा कर्मचारीहरु काम चलाउन बाध्य छन् । अढाईसय बढी कर्मचारी जनशक्ति भएको नगरको निर्माणाधीन भवन सकिएपछि कार्यालय त्यहाँ स्थानारन्तरण गरिने छ भने पुरानो नगर भवनमा ११ नं. वडा कार्यालय सञ्चालन गरिने मेयर बस्नेतले बताए ।