एमाले अधिवेशन सम्पन्नः कुन पालिकामा को भए अध्यक्ष ?

३ महिना अघि

२0८१ जेष्ठ २९ मंगलवार
एमाले अधिवेशन सम्पन्नः कुन पालिकामा को भए अध्यक्ष ?

उदयपुर, जेठ २९

५ दिनअघि सुरु भएको नेकपा (एमाले)को स्थानीयतहस्तरीय अधिवेशन कतै सर्वसम्मत त कतै चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गर्दै मंगलबार सकिएको छ । जेठ २५ गते ८ ओटै स्थानीयतहमा एकैचोटी सुरु भएको अधिवेशनमा चौदण्डीगढी नगर र ताप्ली गाउँपालिकाबाहेकका स्थानीयतहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । 


पार्टी जिल्ला सदस्इ तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ उदयपुरका अध्यक्ष राजकुमार राईका अनुसार चौदण्डीगढीमा पदाधिकारीका लागि र ताप्लीमा अध्यक्षका लागि चुनाव भएको छ । चौदण्डीगढीको चुनावी प्रक्रियामार्फत कृष्ण खत्रीलाई पराजित गर्दै विकास वञ्जराले अध्यक्षमा बाजी मारेका छन् । 


त्यस्तै उपाध्यक्षमा लिलावती राईलाई हराउँदै लुङ्गराज राई निर्वाचित हुँदा सचिवका लागि भएको चुनावमा मीनाकुमारी राईबाट कर्ण थापा पराजित भए । दुई उपसचिवको लागि भएको चुनावमा कमला खड्काबाट अञ्जना कोईराला र जगतराम चौधरीबाट रामप्रसाद मगर पराजित भए । सदस्यहरु भने सर्वसम्मत चयन भएको अध्यक्ष राईले बताए । 


 
उता ताप्ली गाउँ कमिटीका लागि भएको चुनावमा तोपबहादुर ठकुरीले फडिन्द्र राईलाई पराजित गर्दै अध्यक्षको कुसीई हात पारे । अन्य पदमा सर्वसम्मत भएको ताप्लीमा नैनकुमारी ठकुरी उपाध्यक्ष, शान्तकुमार राई सचिव र दुई उपसचिवमा केन्द्र कार्की र रामभक्त ठकुरी छानिएका छन् । 


त्रियुगा, कटारी र बेलका नगर कमिटीहरु सर्वसम्मत गठन भएका छन् । जिल्ला पार्टी अध्यक्ष भागवत राउतका अनुसार सबभन्दा लामो समयसम्म छलफल गर्नु परेको त्रियुगामा अन्तत्वगत्वा सर्वसम्मत कमिटी चयन भएको छ । ५ दिन लामो छलफल र प्रयासपछि विश्वराज भट्टराईको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको हो । आकांक्षीहरु जनार्दन रेग्मी, शम्भु काकी र गोविन्द राउतको चर्को दावेदारीका बीच सर्वसम्मत अध्यक्षमा दाउ मार्न भट्टराई सफल भएका हुन् ।


एकले अर्कालाई छाड्न नमानेपछि चुनावी प्रक्रियामार्फत नेतृत्व चयन गर्ने निश्कर्षमा पुगेको निर्वाचन मण्डलले प्रक्रियासमेत थालिसकेको थियो । तर, अन्तिममा अन्य आकांक्षीहरु भट्टराईलाई अध्यक्ष छाडन राजी भए । कमिटीको उपाध्यक्ष उर्मिला चौधरी, सचिव मेखबहादुर खत्री तथा उपसचिवमा क्रमशः अम्बर दनुवार र शिव खड्का छानिएका छन् । 


उता अध्यक्षमा नेत्रबहादुर श्रेष्ठलाई छान्दै कटारी नगर कमिटी अघिल्लो दिन नै सर्वसम्मत गठन भएको छ । उपाध्यक्षमा सुशीला राउत कार्की, सचिव राजकुमार थापा र दुई उपसचिवमा तेजबहादुर आले मगर र तारा तामाङ चयन भएका छन् । त्यस्तै बेलका नगर कमिटी अध्यक्षमा हिराजङ राई छानिएका छन् भने उपाध्यक्ष नरहरि फुयाल, सचिव टंकप्रसाद अधिकारी र उपसचिवद्वयमा मेषण राई र सरिता राई छानिएका छन् । 


लिमचुङबुङ, उदयपुरगढी र रौतामाई गाउँ कमिटीहरु भने अधिवेशन उद्घाटनको भोलिपल्टै सर्वसम्मचत गठन भईसकेका छन् । लिमचुङबुङमा ज्ञानबहादुर राई, उदयपुरगढीमा यम्बर खत्री तथा रौतामाईमा ललित मगर अध्यक्ष चयन भएको े अध्यक्ष राउतले बताएका छन् ।