सुन नदीमा डुबेका मृतक परिवारलाई राहत वितरण

३ महिना अघि

२0८१ जेष्ठ २७ आईतवार
सुन नदीमा डुबेका मृतक परिवारलाई राहत वितरण

साउने, जेठ २७

होलीमा रङ खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर ज्यान गुमाएका बालबालिकाको परिवारलाई त्रियुगा नगरपालिकाले राहत उपलब्ध गराएको छ । गत चैत ११ गते होली खेलेर नदीमा नुहाउने क्रममा बेपत्ता भएर ज्यान गुमाएका त्रियुगा नगरपालिका १४ साउनेका ३ बालबालिकाको परिवारलाई नगरले राहत दिएको हो । 


विहानैदेखि होली खेलेर ६ किलोमिटर तल उदयपुर र खोटाङको सीमा धाब्लाङस्थित सुन नदीमा नुहाउदै गर्दा डुबेर साउनेका रुद्र पुलामीकी छोरी १२ वर्षीया रेखा, केदार मगरका छोरा ९ वर्षीय रिदम र मेहरमान मगरका छोरा १२ वर्षीय लोकबहादुरको निधन भएको थियो । 


शनिबार साउनेमा आयोजित एक कार्यक्रममा नगरप्रमुख बसन्त बस्नेतले मृतक परिवारलाई नगद राहत प्रदान गरे । नगर कार्यपालिका बैठक निर्णय अनुसार प्रति परिवार २५ हजारका दरले राहत दिइएको वडाध्यक्ष हिमराज मगरले बताए । पीडित परिवारलाई राहत दिदै मेयर बस्नेतले समबेदना व्यक्त गरे । उनले तत्काल र धेरै राहत दिन चाहे पनि स्रोतको अभावमा चर्केको घाउमा मल्हमपट्टी लगाउने मात्र भए पनि थोरै रकम राहत दिएको बताए । 


घट्ना भएलगत्तै राहत दिन चाहे पनि समयमा बजेट प्राप्त नहुँदा केही ढिला भएकोमा मेयर बस्नेतले माफी मागे । बिपत् अकस्मात आईपर्ने र आफ्ना कारणले पनि हुने भन्दै मेयर बस्नेतले दुवैखाले बिपतबाट बँच्न सचेतना र सतर्कता अपनाउन पूर्वतयारीमा लाग्नुपर्ने बताए । 


भूगोल र जनसङ्ख्याको हिसावले निकै ठूलो, पहाड र भित्री मधेस समेटिएको त्रियुगा नगरपालिकामा वर्षेनी विभिन्न विपतजन्य घटना घटिरहने भएकाले राहत र उद्धारमा धेरै खर्च हुँने गरेको उनले बताए । वर्षेनी हुने बिपतजन्य घट्नाको ठूलो जनधनको क्षति कम गर्न पनि सबै सचेत र पूर्व तयारीमा लाग्न मेयर बस्नेतको आग्र थियो । 


उनले नगरपालिका जनताको आर्थिक हैसियत उकास्न विभिन्न कार्यक्रम र योजना बनाएर अघि बढिरहेको भन्दै पेशा र उद्यम व्यवसायमा लाग्नेलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्लो समय अरुको कमजोरी खोज्दै कुरा काट्ने काममा मात्र लाग्ने डरलाग्दो प्रबृत्तिको विकास भएको गुनासो गर्दै त्यसको साटो उद्यम, व्यवसाय र पेशामा लागेर उत्पादन र उत्पादकत्वमा जोडिन आग्रह गरे । 


त्रियुगाको १४ नं. वडा अदुवा, बेसार र कफी खेतीका लागि उर्वर भूमि र माटो, हावापानीेको ठाउँ रहेको प्रमाणित भईसकेकाले त्यस्तो व्यवसायमा लाग्न सके रोजगारी सिर्जना हुनुका साथै आयआर्थन बढेर आत्मनिर्भर हुन सकिने उनको भनाई थियो ।