एमाले अधिवेशनः लिमचुङबुङमा राई, रौतामा मगर र गढीमा खत्री

३ महिना अघि

२0८१ जेष्ठ २६ शनिबार
एमाले अधिवेशनः लिमचुङबुङमा राई, रौतामा मगर र गढीमा खत्री

उदयपुर, जेठ २६

सत्तारुढ दलमध्येको एक नेकपा (एमाले)को लिमचुङबुङ गाउँ पार्टी अध्यक्षमा ज्ञानबहादुर राई चयन भएका छन् । अघिल्लो दिन विहान सुरु भएको अधिवेशनको शनिबार विहान सम्पन्न बन्दशत्रले राईको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।


नवगठित कमिटीको उपाध्यक्षमा केशरमणि राई, सचिवमा चित्रकुकार राई र दुई उपसचिवमा क्रमशः भविन्द्र राई र बिन्दा कार्की राउत छानिएको जिल्ला कमिटी सदस्य राजकुमार राईले बताए । गाउँपालिका केन्द्र बाराहामा शुक्रबार विहान प्रदेश कमिटी सदस्य देवराज राईले उद्घाटन गरेको  अधिवेशनको बन्दशत्रले लामो छलफलपछि सर्वसम्मत कमिटी चयन गरेको उनले बताए । 


उता रौतामाई र उदयपुरगढी गाउँपालिकाको अधिवेशन पनि कमिटी गठन गर्दै सकिएको पार्टीले जनाएको छ । रौतामाईमा ललित मगरको अध्यक्षतामा तेजबहादुर थापा सचिव रहेको ७५ सदस्यीय कमिटी गठन भएको छ । त्यस्तै उदयपुरगढीमा यम्बरबहादुर खत्री अध्यक्ष र खेमबहादुर पाचेमगर सचिव रहेको ७५ सदस्यीय कमिटी सर्वसम्मत गठन भएको राईले बताए । 


जिल्लाका ४ नगर र १ गाउँपालिकास्तरीय अधिवेशन भने जारी छ । सदरमुकाम त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगर तथा ताप्ली गाउँपालिकाको अधिवेशन  नेतृत्व चयन हुन नसकेका कारण टुंगिन बाँकी रहेको पार्टीले जनाएको छ । ती स्थानीयतहमा अध्यक्षलगायत पदाधिकारीका आकांक्षी धेरै देखिएकाले सर्वसम्मत नेतृत्व चयन हुन नसकेर ढिला भएको हो । 


अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास भईरहेको तर, त्यस्तो हुन नसके लोकतान्त्रिक पद्धति अनुसार उदार र स्वस्थ्य प्रतिस्पर्धा गर्दै कमिटी चयन गर्ने विकल्प खुल्ला राखिएको छ । त्रियुगामा ४ जना अगुवा कार्यकर्ताले अध्यक्षमा दावी गरेको बताइएको छ । अन्य स्थानीयतहमा पनि अध्यक्षका दावेदार धेरै भएकैले चुनावी प्रक्रिया अपनाउनु पर्ने भएकाले अधिवेशन लम्बिएको जनाइएको छ ।