बाहिनीपति ट्रफि प्रतियोगिता सुरुः फुटबलमा दुर्गा बक्स गणको विजयी यात्रा सुरु

३ महिना अघि

२0८१ जेष्ठ २१ सोमबार
बाहिनीपति ट्रफि प्रतियोगिता सुरुः फुटबलमा दुर्गा बक्स गणको विजयी यात्रा सुरु

उदयपुर, जेठ २१

नेपाली सेनाको १८ नं. बाहिनी अड्डा भुल्केको आयोजनामा गाईघाटमा सोमबारदेखि ‘बाहिनीपति ट्रफि २०८१ खेलकुद प्रतियोगिता ०८१’ सुरु भएको छ । बाहिनीको आयोजनामा त्रियुगा नगरपालिका १३ गाईघाटस्थित थरुहट उदयपुर रङ्गशालामा विभिन्न विधामा प्रतियोगिता सुरु भएको हो । 


प्रतियोगितामा बाहिनी अड्डा अन्तर्गतका पशुपतिप्रसाद गण उदयपुर, दुर्गाबक्स गण ओखलढुङ्गा र रणभीम गण खोटाङका खेलाडीको सहभागिता रहेको आयोजक बाहिनी अड्डाले जनाएको छ । फुटबल, तेक्वान्दो, बक्सिङ, स्विमिङ, सुटिङ र एथलेटिक्समा स्पर्धा गराइने प्रतियोगिता वार्षिक तालिका अनुसार आयोजना गरिएको बाहिनीले जनाएको छ । 


सोमबार बाहिनीपति सहायक रथी मनोज बैदवारले प्रतियोगिताको उद्घाटन गर्दै नेपाली सेनाका सकल दर्जालाई सैनिक तालिमसँगै खेलकुदक्षेत्रमा पनि अभ्यस्त बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार वार्षिक तालिका अनुसार यो प्रतियोगिता गरिएको हो । 


आगामी १० दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन सम्पन्न फुटबल खेलमा दुर्गाबक्स गण ओखलढुङ्गा १–० गोल अन्तरले विजय भएको छ । खेलको मध्यान्तरअघि गोकुल कुँवरले गरेको पहिलो गोल नै अन्तिम र निर्णायक बन्दै दुर्गाबक्सका लागि विजयी यात्रा सहज बनेको हो । 


लिग प्रणालीमा खेलाइने फुटबलको अर्को स्पर्धा बुधबार हुने प्रतियोगिताका खेल संयोजक सहसेनानी देवराज गुरुङले बताए । गुरुङका अनुसार सो दिनको पशुपति र रणभीम गणबीच प्रतिस्पर्धा हुनेछ । सोमबारको खेलमा भने तेक्वान्दोका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।