लिमचुङबुङका कर्मचारी ओली नेतृत्वमा एकत्रित  

३ महिना अघि

२0८१ जेष्ठ २१ सोमबार
लिमचुङबुङका कर्मचारी ओली नेतृत्वमा एकत्रित  

उदयपुर, जेठ २१

जिल्लाको लिमचुङबुङ गाउँपालिकाका कर्मचारीहरु एकत्रित भएका छन् । नेकपा (माओवादी केन्द्र) निकट कर्मचारीहरुको छाता संगठन ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन’ लिमचुङबुङको आईतबार सम्पन्न भेलाले प्रशासकीय अधिकृत युवराज ओली नेतृत्वमा गाउँपालिकास्तरीय समिति गठन गरेको हो । 


गाउँपालिका केन्द्र बाराहामा आईतबार दिउसो सम्पन्न संगठनको प्रथम भेलाको बन्दसत्रले ओलीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिकास्तरीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संगठनका उदयपुर अध्यक्ष रितकुमार राउतको उपस्थितिमा सम्पन्न भेलाले उपाध्यक्षमा रुपा राई र श्यामबहादुर कार्कीलाई छानेको छ भने सचिव जनजित अधिकारी, सहसचिवमा भोलानाथ भट्टराई र कोषाध्यक्ष प्रमिला चौधरी चयन भएका छन् ।


भेलाले सदस्यमा बिजय कार्की, केशवकुमार थापा, बबिन राई, सृजना खड्का, रुपक तामाङ, सञ्जु राई, राजु दाहाल, न्यूमा अधिकारी, सबिता राई र मनिषा राईलाई छानेको छ । त्यस्तै अन्य सदस्यमा बिसन राई, राजन बिक, तारा राई, बिपन राई, सुशीला सुब्बा, अमिन राई, गीता बिष्ट, गुमानसिंह भुजेल र शोभा बुढाथोकी चयन भएका छन् । भेलाले हापेन्द्र भट्टराई, निसन खत्री, तुलसा बोहरा, सबिता मगर, चन्द्रकुमारी बुढाथोकी र सगुन आछामेलाई पनि सदस्य चयन गरेको छ ।


आईतबार विहान भेलाको उद्घाटन गर्दै प्रदेश पर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जा मगरले  राष्ट्र सेवक कर्मचारीहरु स्थायी सरकार भएकाले देश र जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । मन्त्री, प्रधानमन्त्री, मेयर, अध्यक्षजस्ता जनप्रतिनिधि ५ वर्षका लागि मात्र जनानुमोदित हुने भएकाले अस्थायी हुने तर कर्मचारीहरु एकपटक परीक्षा उत्तिर्ण गरेपछि जीवनभर तलबभत्ता र बृत्तिभरण पाउने भएकाले पनि देश र समाजप्रति इमान्दार र जिम्मेबार भएर लाग्नुपर्ने उनको भनाई थियो । 


कर्मचारी प्रशासनले चाहेमा भ्रष्टाचार, अनियमितता र बेथिति नियन्त्रण र न्यूनिकरण गर्न संभव हुने भन्दै मन्त्री मगरले पहुँचमा भएका र सुकिलामुकिलालाई मात्र नभई भुईतहका नागरिकलाई पनि उत्तिकै सम्मानपूर्वक र समान व्यवहारका साथ सेवा प्रवाह गर्न सुझाए । प्रदेश सरकारले ल्याएको कर्मचारी ऐन्ले पर्याप्त सेवा सुविधा नदिएको भए आगामी दिनमा कर्मचारीमैत्री थप ऐन् र कार्यविधिहरु निर्माण गरेर सहज बनाउने प्रतिबद्धता उनको थियो । 


गाउँपालिका अध्यक्ष मेजरकुमार राईले कार्यरत कर्मचारीहरु जनमैत्री र सेवाप्रवाहमा चुस्त दुरुस्त हुन आग्रह गरे । जनताको सेवा प्रवाहमा कर्मचारीको व्यवहार अति महत्वपूर्ण हुने भन्दै अध्यक्ष राईले विकास र सुशासनको प्रत्याभूति कर्मचारीको व्यवहारबाट प्रष्टिने हुनाले कर्मचारीहरु सँधै जनमैत्री र सुशासनमैत्री हुनुपर्नेमा जोड दिए । 


सगठनका प्रदेश उपाध्यक्ष ताराकिरण राईले प्रदेश सरकारले कर्मचारीमैत्री कानुन बनाउन नसकेको भन्दै गुनासो गरेका थिए । उनले स्थानीयतह, प्रदेश र संघीय कर्मचारीबीच भेदभाव हुने गरेको गुनासो गर्दै समान व्यवहार गर्न सरकारलाई सुझाएका थिए । त्यसैगरी जिल्ला सहसचिव चुडामणि थापाले नेपाल राष्ट्रिय कर्मचारी संगठन नामैले कुनै पनि कर्मचारीप्रति भेदभाव नराख्ने एक मात्र संगठन भएको बताए । 


काँग्रेसनिकट कर्मचारीको ‘नेपाल निजामति कर्मचारी युनियन’ र एमालेनिकटको ‘नेपाल निजामति कर्मचारी संगठन’ भए पनि माओबादीनिकटको ‘राष्ट्रिय कर्मचारी संगठन’मा गैरनिजामति कर्मचारी पनि समेटेको थापाले बताए । उनका अनुसार यो संगठनमा निजामति, स्वास्स्य, शिक्षा, प्राविधिक, विद्यालय सबै तह र तप्काका कर्मचारी सदस्य भएर काम गर्न पाउने भएकाले खुल्ला र उदार संगठन हो । 


संगठनका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका पर्व अध्यक्ष महेश्वर चामलिङ, कार्यक्रममा लिमचुङबुङ १ का वडाध्यक्ष जनदिप थापामगर, २ का वडाध्यक्ष जितेन्द्र राई, संगठनका जिल्ला सचिव लक्ष्मण दनुवार, सदस्य हिमाल दनुवार, पत्रकार गजेन्द्र राईलगायतको पनि उपस्थिति थियो ।