किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध 

३ महिना अघि

२0८१ जेष्ठ १९ शनिबार
किराती सभ्यताको जगेर्ना गर्न गाउँपालिका प्रतिवद्ध 

खोटाङ, जेठ १९

साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले किराती संस्कार संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन् । साकेला उभौली (धिरिनाम)को अवसरमा गाउँपालिकामा आयोजित ‘साकेला शिली प्रतियोगिता ०८१’मा विजयी प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् । 


शुक्रबार किरात राई यायोक्खा र किरात राई चामलिङ खाम्मातिम वडा समिति रतन्छाद्वारा  आयोजित प्रतियोगिता समापनमा बोल्दै अध्यक्ष राईले साकेला सरकार कुनै पनि जाति समुदायको संस्कार, संस्कृति, भाषा, परम्परा र रितीरिवाजको संरक्षण र विकासमा प्रतिबद्ध रहेको बताए । 

 

किराती संस्कार संस्कृति ऐतिहासिक, प्राकृतिक, बस्तुवाती र वैज्ञानिक भएको भन्दै यसको संरक्षण र प्रबद्र्धनमा स्थानीय सरकार सँधै लागिरहने प्रतिबद्धता उनको थियो । किराती सँस्कृति र सभ्यता बँचाउन गरेको कोशिस गरेकोमा आयोजकको प्रशंसा गर्दै अध्यक्ष राईले यस्तो क्रियाकलाप थप बढाउँदै लैजान आग्रह गरे । 


गाउँपालिका उपाध्यक्ष तथा यायोक्खा केन्द्रीय सदस्य बिर्सिका राईले संस्कार संस्कृति भनेको सबैका लागि अमूल्य निधि हुने बताउँदै संरक्षण र प्रबद्र्धन गर्नु अनिवार्य रहेको बताईन् । किराँती सँस्कार, संस्कृति र सभ्यता बचाउँन सबैले फराकिलो मन, उच्च विचार र बुहत सोँचका साथ अघि बढ्नुपर्ने बताउँदै उभौली उधौलीमा नाचिने शिलीको आवश्यक प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्नेमा पनि जोड दिए । 


वडा नं. २ रतन्छाको दारुलाटार खेलमैदानमा आयोजित कार्यक्रममा यायोक्खा वडा समिति रतन्छाकी अध्यक्ष चुनु राईले साकेला उभौलीको प्रचारप्रसार, संरक्षण र विकासका लागि धिरीनामको अवसर पारेर साकेला शिली प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले हरेक वर्ष उभौली उधौलीमा यस्ता प्रतियोगिताहरु आयोजना गर्न सके नयाँ र युवा पुस्तामा संस्कार हस्तान्तरण गर्न सकिने बताईन ।
 

‘हाम्रो सँस्कृति हाम्रो पहिचान, सँस्कृति संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा विभिन्न ५ वटा समूहले प्रतिस्पर्धा गरेका थिए । जसमा युवा जनसाँस्कृतिक परिवार माचास्का प्रथम हुँदै १५ हजार मूल्यको ढोल झ्याम्टा पुरस्कार प्राप्त गरेको छ ।


त्यस्तै पारुहँ युवा सेवा समाज दोस्रो हुँदै १२ हजार मूल्यको ढोल झ्याम्टा पायो भने तेस्रो स्थान पाउने किरात भुसुरी यायोक्खा बुतेपालाई ९ हजार मूल्यको ढोल झ्याम्टा पुरस्कार पायो । सान्त्वना स्थान पाउने महरुङ मिस्रित सामुदायिक संस्थालाई पुरस्कारस्वरुप ६ हजार मूल्यको झ्याम्टा प्रदान गरिएको छ । 


विजयी सबै समूहलाई गाउँपालिका अध्यक्ष रविप्रकाश र यायोक्खा अध्यक्ष चुनु राईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा नछुङ (धामी)को भूमिका निर्वाह गरेका देशवीर राई, भिमबहादुर राई र धिराज राईलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 


शिलीले भाषा, कला, ज्ञान, सीप, संस्कार र संस्कृतिको जगेर्ना गर्न मद्धत पुग्ने बुढापाकाहरु बताउँछन् । साकेलाको मौलिकतालाई उजागर गर्दा किराती र गैरकिरातीबीचमा सद्भाव र सहिष्णुता कायम हुने मान्यता किराती विद्वान जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई बताउँछन् । साकेला शिलीको विषयमा समान बुझाईको विकास गर्न पनि शिलीले सघाउ पुग्ने प्रमुख राई बताउँछन् । 


प्रतिस्पर्धीहरुले मछामा, बेसारा, सेन्हमा, वापालगायत दर्जन बढी शिली प्रस्तुत गरेको प्रतियोगितामा यायोक्खा केन्द्रीय सदस्य अञ्जना राई, पूर्व जिविस उपसभापति बाबुराम राई, वडाध्यक्ष जितेन्द्र राई, गोविन्द तामाङलगायत जनप्रतिनिधिहरु, समाजसेवी, राजनीतिकर्मीले सामुहिक शिली नाचेर सद्भाव आदानप्रदान गरेका थिए ।