गणतन्त्र दिवसः ९२ जना मोतियाविन्दु विरामीको ज्योति फक्र्यो

३ महिना अघि

२0८१ जेष्ठ १७ बिहीबार
गणतन्त्र दिवसः ९२ जना मोतियाविन्दु विरामीको ज्योति फक्र्यो

उदयपुर, जेठ १७

‘गणतन्त्र दिवस ०८१’को उपलक्ष्यमा आयोजित निःशूल्क आँखा शल्यक्रिया शिविरमा उदयपुरका ९२ जना मोतियाविन्दुका विरामीले आँखा देख्न पाएका छन् । नेपाल नेत्रज्योति संघ उदयपुरले सगरमाथा चौधरी आँखा अस्पताल लाहानसँगको साझेदारीमा सञ्चालन गरेको शिविरले ३७ महिलासहित ९२ जना मोतियाविन्दु विरामी आँखा देख्न सफल भएका हुन् । 


सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालमा १५ र १६ गते २ दिन चलेको अप्रेसन शिविर पहिलो दिन ५४ र बाँकीको भोलिपल्ट अप्रेसन गरिएको चौधरी आँखा अस्पताल लाहानका प्राविधिक दिवाकर चौधरीले बताए । उनका अनुसार शिविरमा सबैको आँखा निःशूल्क अप्रेसन गर्नुका साथै औषधि र चश्मासमेत उपलब्ध गराइएको छ । 


अप्रेसन गरिएका विरामीको बिहीबार विहान सगरमाथा चौधरी आँखा अस्पताल लाहानका डा. महेश चौकरीले विरामीको आँखाका पट्टी खोलेका थिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अप्रेसन गरिएका विरामीलाई चश्मा हस्तान्तरण गर्दै स्वास्थ्य लाभको कामना गरे । 


नेत्रज्योति संघका उपाध्यक्ष कुमार घिमिरेले विरामीको स्वास्थ्य लाभको कामना गर्दै छरछिमेकमा रहेका आँखा रोगीहरुलाई उपचार गर्न मदन भण्डारी आँखा अस्पतालमा जान सल्लाह दिन आग्रह गरे । उनका अनुसार ०७८ सालमा उद्घाटन भएको मदन भण्डारी आँखा अस्पतालले हालसम्म ८ सय १४ जनाको आँखा निःशूल्क रुपमा उपचार गरिसकेको बताए । 


नेत्रज्योति संघमा अध्यक्ष भागवत राउतले आँखा रोगीहरुको ज्योति फर्काउने उदेश्यले स्थापना भएको अस्पतालले प्रत्येक महिना अप्रेसन शिविर सञ्चालन गर्दै आएको बताएका छन् । उनका अनुसार संघले विभिन्न स्थानीयतहहरुमा गई आँखा जाँच शिविर सञ्चालन गर्ने गरेका र त्यसमा फेला परेका मोतियाविन्दुका विरामीलाई सदरमुकाम ल्याएर अप्रेसन गरी ज्योति फर्काउने काम गर्ने गरेको छ । 


यसपटकको शिविरमा रौतामाई गाउँपालिकामा सञ्चालित शिविर र आँखा उपचार केन्द्र गाईघाटमा जँचाउँदा फेला परेका मोतियाविन्दुका विरामीको अप्रेसन गरिएको उनले बताए ।  उपचार केन्द्रका चिकित्सक डण्डीराज तिम्सीनाका अनुसार हरेक दिन आँखा जँचाउन आउने विरामीहरुमा कोही न कोही मोतियाविन्दुका विरामी फेला पर्ने गरेका छन् । 


यसरी फेला परेका मोतियाविन्दुका विरामीलाई पहिला पहिला लाहान लगेर अप्रेसन गर्ने गरिएकोमा अस्पताल स्थापनापछि गाईघाटमै अप्रेसन गर्न सहज भएको तिम्सीनाले बताए । जसले गर्दा उदयपुर र छिमेकी जिल्ला खोटाङ आसपासका विरामीले गाईघाटमै आँखा उपचार गर्न पाउने सेवा संभव भएको छ । 


नेत्रज्योति संघको पहलमा गाईघाटस्थित त्रियुगा नगरापालिका १० बाँसबारीमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिएको छ । तत्कालीन सांसद मञ्जुकुमारी चौधरीको ०७३÷७४ को संसदीय विकास कोष, उनी मन्त्री भएपछि ०७४÷७५ मा नेपाल सरकार र जापान सरकारको १ करोड गरी झण्डै ३ करोड लागतमा बनेको साढे ३ तले भवनमा मदन भण्डारी आँखा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
 

गाईघाटमा दैनिक अप्रेसन गर्ने विरामी नहुने भएकाले महिनामा एकपटक अप्रेसन शिविर सञ्चालन गरिदै आएको छ । तर, अहिलेलाई संघले विभिन्न स्थानीइतहमा सञ्चालन गरेको शिविरमा भेटिने मोतियाविन्दुका विरामीको अप्रेसन गर्ने गरिएको अध्यक्ष राउतले बताएका छन् ।