गणतन्त्र दिवसः सहीद परिवार, जग्गादाता र जनयोद्धालाई सम्मान

३ महिना अघि

२0८१ जेष्ठ १५ मंगलवार
गणतन्त्र दिवसः सहीद परिवार, जग्गादाता र जनयोद्धालाई सम्मान

उदयपुर, जेठ १५

नेकपा (माओबादी केन्द्र) त्रियुगा नगर कमिटीले ‘१७ औँ गणतन्त्र दिवस’को अवसर पारेर सहीद परिवार, जेल र हिरासत जीवन बिताएका योद्धा तथा जग्गादातालाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी पार्टीले उनीहरुलाई सम्मान गरेको हो । 


तत्कालीन जनयुद्ध २०५२–०६२ को क्रममा सहीद भएका दिवंगत परिवारका सदस्य तथा जेल जीवन बिताएका योद्धाहरु र पार्टीगाई जग्गा दिएर सहयोग गरेका दाताहरुलाई सम्मान गरिएको हो । त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ३ जना सहीद परिवारका सदस्य, ३ जना जेल जीवन बिताए र २ जना  जग्गादातालाई सम्मान गरिएको हो । 


जनयुद्धको क्रममा प्रहरी गोली लागेर प्राणाहुति दिने सहीदहरु त्रियुगा नगरपालिका २ का घनश्याम खड्काका दाजु देबेन्द्र खड्का, सोही वडाका प्रकाश खड्काका दाजु ज्ञानेन्द्र खड्का र त्रियुगा ३ का डम्बर कार्कीकी दिदी दुर्गा कार्कीलाई सम्मान गरियो  । त्यसैगरी पटकपटक पक्राउ परी जेल जीवन बिताएका जनयोद्धाहरु प्रेस स्वतन्त्रता सेनानी त्रियुगा १२ का हरिकुमार राई, त्रियुगा १० की मैया खत्री (उषा) र त्रियुगा २ की रुकमिणी कार्की (रेखा) सम्मानित भए । जग्गादाताहरु त्रियुगा ३ का दानीप्रसाद चौधरी र त्रियुगा १२ का मोहम्मद जिब्रायल मियालाई पनि सम्मान गरियो ।

उनीहरुलाई संविधानसभा सदस्य तथा पार्टी वैकल्पिक केन्द्रीय सदस्य मोहन खत्री (दिपक), केन्द्रीय सल्लाहकार मीनबहादुर ज्युठकुरी, प्रदेशसभा सदस्य सम्झना पाख्रिन (योद्धा), प्रदेश कमिटी सदस्य तथा त्रियुगा नगर इन्चार्ज बिमल किराती, नगर अध्यक्ष तथा त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राई, सहइन्चार्ज नरबहादुर कार्कीलगायतले खादा, माला र सम्मानपत्र प्रदान गरेका थिए । 

 

सहीदहरु घनश्याम, प्रकाश र डम्बरलाई जनयुद्धको क्रममा प्रहरी गोली लागेर निधन भएको थियो । त्यस्तै त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका तत्कालीन अखिल कार्यकर्ता हरिकुमार राईलाई पक्राउ गरी ०५४ मा १ महिना हिरासतमा राखेको थियो भने ०५८ मा ७ महिना कारावास सजाय दिएको थियो । त्यस्तै मैया, र रुकमिणी जनयुद्धकालमा पक्राउ परी प्रहरी हिरासतमा यातापूर्ण सजाय भोग्न बाध्य भएका थिए । 

 

अर्का सम्मानित दानीप्रसाद चौधरीले बसपार्कमा १ कठ्ठा जग्गा पार्टीलाई निशूल्क दान दिएका छन् । ५० लाख हाराहारी मूल्य पर्ने चौधरीले दिएको जग्गामै निर्मित सहीद स्मृति प्रतिष्ठान भवनमा अहिले माओबादी जिल्ला पार्टी कार्यालय सञ्चालित छ । त्यसैगरी जिब्रायल मियाले त्रियुगा १२ वडा पार्टीको भवन निर्माणार्थ १० लाख बराबरको ५ धुर जमिन भर्खरै निशूल्क दान दिएका छन् । 

 

सम्मानितहरु हरिकुमार राई, मैया खत्री र दानीप्रसाद चौधरीले कार्यक्रममा जनयुद्धकालको तितो अनुभव सुनाउँदै पार्टी नेतृत्व सरकारमा भएका बेला पनि देशमा भ्रष्टाचार, बेथिति, अनियमिता र अराजकता कम नभएको गुनासो गरे । समानता, न्याय र परिवर्तनका लागि ज्यानको पर्वाह नगरी जनयुद्धमा होमिएको स्मरण गर्दै उनीहरुले तर, त्यसकै जगबाट प्राप्त भएको संघीयता र गणतन्त्र भुईतहका जनतासम्म पुग्न नसकेको उनीहरुको गुनासो थियो । 

 

गणतन्त्रले सुकिला मुकिला र ठूला ठालूलाई मात्र फाईदा गरेको भन्दै उनीहरुले गरिव, बिपन्न, पिछडा बर्ग, महिला, दलित, सीमान्तकृत सबैलाई अनुभूति हुने खालको गणतन्त्र नेपाली जनताले चाहेको बताए । उनीहरुले त्यसका लागि देशमा व्याप्त भ्रष्टाचार र अनियमितता, ढिलासुस्ती, कमिशनखोरी नियन्त्रण गर्न सरकारमा रहेको पाटी नेतृत्वलाई सुझाएका छन् । 

 

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज महेश्वर चामलिङले सहीद परिवार, घाईते, अपाङ्ग र जनयुद्धमा लागेका योद्धाहरुकै कारण अहिले संघीयता र गणतन्त्र प्राप्त भएको बताए । गणतन्त्रको परिणामस्वरुप देशमा समावेशी समानुपातिक राज्य व्यवस्था स्थापना भएकै कारण अहिले दलित, महिला, जनजाति, पिछडाबर्ग र अल्पसंख्यक तथा सीमान्तकृत बर्गले राज्यसत्ताको उपभोग गर्न पाएको भन्दै चामलिङले त्यसका लागि सहीद र जनयोद्धाहरु सम्मानका पहिलो हकदार भएको बताए । 


संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य खत्रीले १० वर्षे जनयुद्धको क्रममा उदयपुरमा ६३ जनाको सहादत प्राप्त भएको तथा ३२ जना घाईते तथा अपाङ्ग भएको तथ्याङ्क पेश गरे । उनले गणतन्त्रका लागि ज्यानाहुति दिने वीर सहीदको सम्मान गर्न उनीहरुका परिवारलाई सम्मान गरिएको बताए । ज्यानको माया नगरी देश र समाज परिवर्तनको महान् अग्रगामी मोर्चामा लामबद्ध भएका जनयोद्धाहरु सबै सम्मानको हकदार भएको उनले बताए । 


नेता खत्रीले देशमा संघीयता र गणतन्त्र ल्याउने एक मात्र महान् जनयुद्धको स्मरण गर्न सहीद परिवार, घाईते र अपाङ्गहरुलाई सम्मान गर्ने सुरुवात उदयपुरबाट गरिएको बताए । उनले आगामी दिनमा हरेक गणतन्त्र दिवस र जनयुद्ध दिवसमा यस्तो सम्मान कार्यक्रमलाई निरन्तरता दिदै नेताकार्यकर्ताहरुमा जनयुद्धको महत्व र भूमिकाबारे उजागर गर्दै जाने बताए । 


नगर पार्टी अध्यक्ष मानबहादुर राईको अध्यक्षता र सचिव कुरुङ राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश पार्टीले सञ्चालन गरिरहेको वैशाख १५ देखि असार १५ गतेसम्मको ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’को हालसम्मको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।