उदयपुरमा साढे १९ हजार बालबालिकाले पोलियो खोप पाउने

४ महिना अघि

२0८१ जेष्ठ १३ आईतवार
उदयपुरमा साढे १९ हजार बालबालिकाले पोलियो खोप पाउने

उदयपुर, जेठ १३

देशव्यापी सञ्चालन हुने पोलियो रोगविरुद्धको खोप (आईपिभी) अभियान उदयपुरमा आईतबारदेखि सुरु भएको छ । जेठ १३ देखि २६ गतेसमम १५ दिने खोप अभियान जिल्लाभरी सुरु भएको हो । 


स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अभियान अन्तर्गत सदरमुकाम गाईघाटमा त्रियुगा नगरपालिकामातहतका विभिन्न वडाका स्वास्थ्य चौकी र स्वास्थ्य सेवा केन्द्र तथा जिल्ला अस्पताल उदयपुरमा सञ्चालन हुनेछ । त्यसैगरी चौदण्डीगढी, कटारी र बेलका नगरपालिका तथा उदयपुरगढी, रौतामाई ताप्ली र लिमचुङबुङ गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा पनि खोप दिने कार्यक्रम सुरु भएको छ । 


स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले यो अभियान अन्तर्गत जिल्लाका ८ ओटै स्थानीयतहका १९ हजार ५ सय ३३ बालबालिका लाभान्वित हुने बताए । उनका अनुसार यसअघि खोप हान्न छुटेकालाई पनि प्राथमिक्तामा राखेर अभियान चलाइने छ । ‘राष्ट्रिय खोप अभियान ०८०÷८१’ अन्तर्गत पोलियो खोप लगाउन हरेक स्थानीयतहमा आवश्यक खोप पठाई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 


स्वास्थ्यले खोप अभियानका लागि अलग अलग कार्यतालिका तय गरेको छ । जस अनुसार १३ देखि १८ गतेसम्म बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका, रौतामाई र लिमचुङबुङ गाउँपालिकामा सञ्चालन हुनेछ । त्यस्तै कटारी नगरपालिका, ताप्ली र उदयपुरगढी गाउँपालिकामा जेष्ठ २१ देखि २६ गतेसम्म खोप दिने कार्यतालिका तय भएको छ । 


विगत ०७३ देखि ०७६ सालसम्म पोलियोबिरुद्धको खोप नेपालका बालबालिकालाई नियमित रुपमा लगाइदै आएको भए पनि ०७३ बैशाखदेखि ०७५ अशोजसम्म खोप लगाउन छुटेका बालवालिकालाई लक्षित गरी पूर्णखोप दिन यो अभियान सरकारले थालेको निरौलाले बताए । जन्मेको १४ हप्ता र ९ महिना अवधिभित्र २ पटक दिइने खोप विभिन्न कारणबश छुटेकालाई ५ वर्ष उमेर समूहसम्मका बालबालिकालाई दिन मिल्ने स्वास्थ्यले जनाएको छ । 


तोकिएको समयभित्र लगाउन छुटेमा रोगप्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निश्चित समयभित्रै खोप लगाउन स्वास्थ्य कार्यालयले सुझाएको छ । पोलियो सरुवा रोग भएकाले रोग लाग्नुअघि नै सुरक्ष्ति हुन खोप अनिवार्य रहेको स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताएका छन् । 


उदयपुरमा पोलियो खोप अभियानका लागि ४ सय ४३ जना स्वाथ्यकर्मी परिचालन गरिएको छ । खोप अभियानमा प्रदेशकै उत्कृष्ट सावित भईसकेको उदयपुर स्वास्थ्य कार्यालयले यो अभियान पनि पूर्ण सफल बनाउने गरी सञ्चालन गरिएको जनाएको छ । गतवर्ष प्रदेशको उत्कृष्ट र विश्वसनीय जिल्लामा दरिएर पुरस्कृतसमेत भईसकेको उदयपुरले यो अभियानलाई पनि पूर्णरुपमा सफल बनाउन चुस्त व्यवस्थापनमा जोड दिइएको अधिकृत दासले बताए । 


देशभरका बालबालिकालाई खोप लगाउनका लागि गाभी र नेपाल सरकारको साझेदारीमा ३२ करोेड मूल्यमा खोप खरिद गरिएएको स्वास्थ्य कार्यालयले जनाएको छ । जस अनुसार देशभर १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई खोप दिने लक्ष्य सरकारले लिएको छ । त्यसका लागि नेपालभर  ५ हजार १ सय ८८ खोप केन्द्रका लागि ८ हजार ५ सय ९० जना स्वयंसेवक र ४० हजार २ सय ९५ स्वास्थ्यकर्मी अभियानमा परिचालन हुने जनाइएको छ ।