कटारी अस्पतालमा मुटु, नशा र क्यान्सरको परीक्षण  

४ महिना अघि

२0८१ जेष्ठ १२ शनिबार
कटारी अस्पतालमा मुटु, नशा र क्यान्सरको परीक्षण  

उदयपुर, जेठ १२


उदयपुरको पश्चिमी भेगलाई स्वास्थ्य सेवा दिने एक मात्र कटारी अस्पतालमा भर्खरै सुरु भएको ३ प्रकारका जटिल खाले रोगको अतिरिक्त परीक्षणले स्थानीयलाई सहज बनाउको छ । एकसातादेखि सुरु भएको नयाँ खाले सेवासुधिधाले नगराबासीलगायत छिमेकी जिल्लाका विरामीलाईसमेत सहज बनाएको छ । 


अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरब साहका अनुसार केहीदिनयता अस्पतालमा मुटु रोग (कार्डियोलोजी), नशा रोग (न्युरोलोजी र क्यान्सर (अङ्कोलोजी)को परीक्षण सेवा सुरु भएको छ । यो सेवा हरेक महिनाको तेस्रो विहीबारका दिन नियमित गर्नेगरी सुरु गरिएको डा. साहले बताए । यी तीनै प्रकारका रोगको परीक्षण, रोकथाम र प्रारम्भिक उपचारको व्यवस्था समेत कटारी अस्पतालमै गर्नेगरी बहिरङ सेवा (ओपिडी)को व्यवस्था मिलाइएको साहले बताए । 
 

अहिलेसम्म १५ शैयाको यो अस्पताल भर्खरै प्रदेश सरकारले स्तरोन्नति गरी ५० शैयाको प्रादेशिक अस्पताल बनाउने निर्णय गरको छ । नगरपालिका मातहतमा सञ्चालित अस्पतालमा दिनदिनै विरामीको चाप बढ्दै जानुका साथै र सेवाक्षेत्र पनि बढी भएकाले प्रादेशिक अस्पताल बनाउन नगरपालिकाको गवरेको आग्रह अनुसार प्रदेश सरकारको गत वैशाख पहिलो साताको निर्णय अनुसार ५० बेडसहितको प्रादेशिक अस्पताल बनाउने निर्णय भएको हो । 


प्रादेशिक अस्पतालको मान्यता पाएसँगै विद्यमान उपचार सेवा थप्दै ३ प्रकारको विशिष्ट सेवा दिन अस्पतालले यो कदम चालेको डा. साहले बताए । डा. साहले विरामीलाई सहज र सुलभ सेवा दिने उदेश्यले परीक्षण शूल्क २० रुपैँया मात्र तोकिएको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच पुगोस् भन्ने उदेश्यले स्वास्थ्य बिमाले तोके अनुसार मात्र टिकटको शूल्क लिने निर्णय भएको पनि डा. साहले बताए । 


यो सेवा दिनका लागि अस्पतालले विराट मेडिकल कलेजसँग सहकार्य गरेको जनाइएको छ । नशा, मुटु र क्यान्सरजस्तो जघन्य रोगको उपचार गर्न अहिले नै संभव नभए पनि रोग पत्ता लगाउनसम्म सकियोस् भनेर यस्तो सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ । अस्पतालसँग दक्ष जनशक्ति नभएका कारण विराट मेडिकल कलेजसँगको सहकार्यमा सेवा दिने गरी दुईपक्षीय सम्झौता भएर कार्यान्वयनमा ल्याइएको साहले बताए । 


हाल कटारी अस्पतालमा दैनिक १ देखि ३ सयसम्मको सङ्ख्यामा विरामी स्वास्थ्य परीक्षण र उपचार गर्न आउने गरेका छन् । अस्पतालमा अहिलेलाई जटिल खाले गर्भवतिको अप्रेसनसहित सुत्केरी गराउने (सिएस) सेवाका लागि दक्ष जनशक्तिसहित भने अन्य सामान्य उपचार सेवा उपलबध छ । तर, अव अस्प्तालले मुटु, क्यान्सर र नशा रोगको पनि परीक्षण र उपचार गर्ने सेवा सुरु गरेपछि स्थानीयबासीलाई स्वास्थ्य सेवा सहज पाउने अपेक्षा गरिएको छ । 


नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले कटारीमा ५० बेडको अस्पताल अपरिहार्य भएकाले सरकारसँग माग गर्दै आएको र भर्खर स्वीकृत हुँदा खुसी लागेको बताए । पूर्वमा झापाको बाहुनडाँगीदेखि धरान–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौडा भएर पश्चिम डढेलधुराको रुपाल जोडिने राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’ले चिरेर गएको कटारीमा कम्तीमा ५० शैयाको प्रादेशिक अस्पता अनिवार्य हुने उनले बताए । 


कटारीबासीको माग प्रदेश सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गर्दै मेयर श्रेष्ठले अव प्रादेशिक अस्पतालका लागि चाहिन आवश्यक भौतिक संरचना निर्माण गर्न आवश्यक बजेट र दक्ष जनशक्ति पदपूर्ति गर्न पनि सम्बन्धित मन्त्रालयसँग आग्रह गरेका छन् । सो अस्पतालले कटारी नगरका १४ र ताप्ली गाउँपालिकाका ५ वडा, छिमेकी जिल्लाहरु सिन्धुली, खोटाङ, ओखलढुङ्गा तथा सप्तरी र सिराहाको उत्तरी भेग, धनुषा र सलाीहरुको पूर्वी भेगका जनतालाई स्वास्थ्य सेवा दिदै आएको छ ।