त्रियुगाका अपाङ्गतालाई स्वास्थ्य परीक्षणसँगै परिचयपत्र 

४ महिना अघि

२0८१ जेष्ठ ७ सोमबार
त्रियुगाका अपाङ्गतालाई स्वास्थ्य परीक्षणसँगै परिचयपत्र 

उदयपुर, जेठ ७

त्रियुगा नगरपालिकाका अपाङ्गता भएका नगरबासीलाई स्वास्थ्य परीक्षण गराउँदै अपाङ्गता परिचयपत्र वितरण गरिदैछ । प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको  िलागत सहभागिता र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा नगरपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो । 


राष्ट्रिय अपाङ्ग महासंघद्वारा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’ अन्तर्गत बैशाख २८ देखि सुरु स्वास्थ्य परीक्षण तथा परिचयपत्र वितरण कार्यक्रम नगरका विभिन्न वडाहरुमा जारी रहेको छ । अपाङ्गता भएका नगरबासीको स्वास्थ्य अवस्था बुझ्दै सँगसँगै परिचयपत्र वितरण गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख बसन्तकुमार बस्नेतले बताए । 


मेयर बस्नेतका अनुसार नगरपालिकाका १६ वटै वडामा अपाङ्गता भएका नगरबासीहरुलाई यो सेवा उपलब्ध गराइदैछ । नगरपालिकामा १ हजार ९ सय ३२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्याङ्क छ । अपाङ्गता भएकालाई शिविरमार्फत स्वास्थ्य परीक्षण गर्दै परिचयपत्र वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । 


नगरपालिका सामाजिक विकास शाखामार्फत स्वास्थ्य परीक्षणसँगै परिचयपत्र वितरण गर्ने काम आईतबारसम्ममा वडा नं. १, २, ३, ४, १२, १४, १५ र १६ मा सकिएको छ । अन्य वडाहरुमा पनि शिविर सो कार्य भईरहेको सामाजिक विकास शाखा अधिकृत राजकुमार खड्काले बताए । 


शिविरमा अपाङ्गता भएकाहरुलाई फिजियोथेरापी पनि गराइएको छ भने आँखा र कानको परीक्षण पनि भईरहेको छ । अपाङ्गतालाई लक्षित गरी सञ्चालन गरिएको शिविर भए पनि सवलाङ्गहरु पनि सहभागी हुन पाउने व्यवस्था मिलाइएको छ । त्यसैले यो कार्यक्रम सबैखाले नगरबासीका लागि उपलबब्धिमूलक भएको खड्काले बताए ।