आत्महत्याको ग्राफ चुलिदो, प्रहरीले थाल्यो न्यूनिकरण अभियान

४ महिना अघि

२0८१ जेष्ठ ५ शनिबार
आत्महत्याको ग्राफ चुलिदो, प्रहरीले थाल्यो न्यूनिकरण अभियान

उदयपुर, जेठ ५

उदयपुर प्रहरीले आत्महत्या न्यूनिकरण अभियान थालेको छ । पछिल्लो समय 
 अत्यासलाग्दो बढ्दै गएको आत्महत्या रोक्न जिल्ला प्रहरी कार्यालय उदयपुरले स्थानीय सरकारसँग मिलेर जनचेतनामूलक अभियान थालेको हो । 


विद्यमान सामाजिक विबृति विसंगतिविरुद्ध गतिबिधि तिब्र पार्दै आएको प्रहरी प्रमुख एसपी रमेश थापा नेतृत्वको टिमले भयावह हुँदै गएको आत्महत्या न्यूनिकरण गर्ने उदेश्यका साथ शनिबारदेखि जनचेतना अभियान थालेको हो । जस अनुसार गाईघाटमा शनिबार प्रभातफेरी, सडक नाटक र मनोपरामर्शलगायत गतिबिधि सम्पन्न गरेको छ । 

 

कार्यक्रममा प्रहरी अभियानलाई सूचना संप्रेषणलगायत विभिन्न तह र तप्काबाट साथ दिने माझखर्कका संपादक महेश्वर चामलिङलगायत पत्रकारहरु भक्तिविलाश पोखरेल, तुलसी कोईराला, अञ्जनी अधिकारी तथा प्रहरी कर्मचारीहरु र अन्य पेशा व्यवसायमा संलग्नहरुलाई कदरपत्र दिएर सम्मान गरिएको थियो ।  


लोकतान्त्रिक चोक (पिपल चोक)मा आयोजित कार्यक्रम गर्नुअघि आत्महत्या निरुत्साहित गर्ने सन्देशमूलक व्यानर र प्लेकार्डसहित बृहत जनसमूहले बजार परिक्रमा गरेको थियो । प्रभातफेरी ¥यालीमा प्रहरी कर्मचारी, पूर्व प्रहरी, अमर प्रहरी परिवार, नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि, निजामति कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, खेलाडी, युवा, विद्यार्थी, कलाकार, रङ्गकर्मी, नागरिक समाज, राजनीतिककर्मी, अधिकारकर्मी र व्यापारी व्यवसायी सम्मिलित थिए । 


एसपी रमेश थापाले स्थानीय सरकार र सरोकारवाला निकायहरुसँगको सहकार्यमा अभियान थालिएको बताउँदै आत्महत्या रोकथाम सम्बन्धी सचेतना जगाउँने गतिबिधि सदरमुकामदेखि गाउँगाउँसम्म पु¥याउन सबैसँग सहयोग मागेका छन् । कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक बृत्तचित्र (भिडियो) प्रदर्शन,  सडक नाटक, कथा वाचन र मनोपरामर्शसमेत दिइएको थियो । 


जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले चालु आर्थिकवर्षको आत्महत्या विवरण प्रस्तुत गर्दै अवस्था भयावह हुँदै गएको चित्रण गरे । डिएसपी चापागाईका अनुसार चालुवर्ष साउन १ देखि वैशाख ४ गतेसम्ममा त्रियुगा नगरपालिकामा मात्र ९६ जनाले आत्महत्या गरिसकेका छन् । जसमा ४१ महिला र ५५ पुरुषको ज्यान गएको छ । डिएसपी चापागाईले प्रस्तुत गरेको विवरण अुनसार बितेको ९ महिना अवधिमा ७८ महिला र ६७ पुरुष गरी १ सय ४७ जनाले आत्महत्या प्रयास गर्दा ९६ को इहलिला समाप्त भएको हो । 


त्रियुगामा ६० वर्षमाथिका ९ पुरुष र २ महिलाले आत्महत्या प्रयास गरेकोमध्ये ८ पुरुष र २ महिलाको ज्यान गएको छ । त्यसैगरी त्रियुगाका १६ मध्ये १५ वटा वडामा महिला ३० र पुरुष २० गरी ५० जनाले आत्महत्या प्रयास गरेकोमा महिला ९ र पुरुष ११ गरी २० जनाको मृत्यु भएको छ । 


स्थानीयतहगत रुपमा आत्महत्याको प्रयास र मृत्युको अवस्था हेर्दा त्रियुगामा ५० ले प्रयास गर्दा २० को मृत्यु, कटारी नगरपालिकामा ११ महिलासहित २५ जनाले प्रयास गरेकोमा ३ महिलासहित १४ को मृत्यु भएको डिएसपी चापागाईले बताए । त्यसैगरी चौदण्डीगढी नगरपालिकामा ८ महिलासहित १४ को प्रयासमा ६ महिलासहित १४ को ज्यान गएको छ भने ९ महिलासहित २० ले आत्महत्या प्रयास गर्दा ७ महिलासहित १६ जनाको ज्यान गएको छ । 


अत्य स्थानीयतहहरु उदयपुरगढी गाउँपालिकामा १० महिलासहित १७ को मृत्यु, रौतामाई गाउँपालिकामा ३ महिलासहित ७ जनाले गरेको आत्महत्या प्रयासमा सातैजनाको ज्यान गएको छ । लिमचुङबुङ गाउँपालिकामा ४ महिलासहित ७ जनाले प्रयास गरेकोमा ३ महिलासहित ५ जनाको ज्यान गएको छ भने ताप्ली गाउँपालिकामा ३ महिलाले आत्महत्या गरेको विवरण डिएसपी चापागाईले प्रस्तुत गरे । 


कार्यक्रममा एसपी थापाले उदयपुरको प्रमुख चुनौतीको रुपमा रहेको आत्महत्याको रोकथाम र न्यूनिकरण गर्न प्रहरी एक्लैबाट संभव नहुने भएकाले समाज, स्थानीय सरकार, परिवार र अन्य सबै पक्षले प्रहरीलाई सहयोग गर्न आग्रह गरे । सबै मिलेर जनचेतना अभियान चलाए मात्र आत्महत्या न्यूनिकरण गर्न सकिने भन्दै उनले प्रहरीले थालेको सचेतनामुलक कार्यक्रममा जनप्रतिनिधिदेखि सर्वसधारणसम्मको साथ र सहयोगको अपेक्षा गरे । 


त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले एसपी थापा नेतृत्वको जिल्ला प्रहरीले थालेको आत्महत्या तथा लागूऔषधलगायत विभिन्न बिकृति बिसंगतिविरुद्धको अभियानलाई पूर्ण साथ र सहयोग गर्ने बताउँदै यसमा अन्यपक्षको पनि सहयोग हुनुपर्ने बताए । सचेतनामुलक कार्यक्रममा नगरले आर्थिक, भौतिक र नैतिकरुपमा पूर्ण साथ रहने प्रतिबद्धता उनको थियो । आत्महत्या समाजको प्रमुख चुनौती भएको भन्दै मेयर बस्नेतले रोकथाम र न्यूनिकरणका लागि चेतना जगाउनुका साथै मनोपरामर्शमा ध्यान दिनुपर्नेेमा जोड दिए । 


नगर उपप्रमुख महेश्वरी राईले बाउआमाले जन्माएर, कैयौँ दुःख कष्ट सहेर हुकाईबढाई, पढाई लेखाई गरेका सुन्दर जीवन सामान्य कमी कमजोरीकै कारण आत्महत्या गरेर गुमाउन नहुने बताईन् । संसारमा मान्छे मात्र नभएर कुनै पनि प्राणी दुःखमुक्त नहुने र कुनै न कुनै समस्या भईरहने भन्दै दुःखमा आत्तिएर ज्यान फाल्नेजस्तो गम्भीर गल्ती गर्नुको साटो साथीभाइ, आमाबाउ, अभिभावक, समाजसँग समस्या सुनाएर समाधानको उपाय निस्कने र आत्महत्या नै गर्नुपर्ने अवस्था नआउने उपमेयर राईको भनाई थियो । 


प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अन्य कार्यक्षेत्रहरुमा भोगेका अनुभवहरु आदान प्रदान गर्दै जिल्ला प्रहरीले समाजमा शान्तिसुरक्षा र अमनचयनका लागि सुरु गरेको सुधार अभियान कार्यक्रमलाई साथ सहयोग गर्न सबैसँग आग्रह गरे । सुन्दर जीवन ज्युनका लागि जन्मेको हुनाले कसैले पनि आत्महत्या नगर्न अनुरोध गर्दै सिडिओ घिमिरेले जीवनलाई सुन्दर बनाउन आफु पनि रमाउन र अरुलाई पनि रमाईलो वातावरण बनाईदिन आग्रह गरे । 


कार्यक्रममा जिल्ला अस्पतालमा सञ्चालित एकद्वार शंकट व्यवस्थापन केन्द्र (ओसिएमसी) उदयपुृरकी वरिष्ठ मनोपरामर्शदाता रञ्जना ताजपुरीया र उदयपुर अस्पतालका विशेषज्ञ मनोचिकित्सक डा. रणदिप राउतले मनोपरामर्श विधिबारे प्रवचन दिएका थिए । उनीहरुले मानसिक विरामीलाई समयमै उचित परामर्श र औषधि उपचार गरे आत्महत्याबाट बचाउन सकिने भन्दै तर, परामर्श र उपचार नपाए सामान्य मानसिक विरामी बढेर जटिल हुँदै आत्महत्याको मुखमा पुग्ने बताए । परामर्शले सहजै आत्महत्या रोक्न सकिने उदाहरण दिदै उनीहरुले जनचेतना नै सबभन्दा ठूलो उपाय भएको सुझाएका थिए । 


स्थानीय कलाकारहरु गोपाल कृति, नुनु तिम्सीना, वीरशबाबु शाही, गोठकृष्ण ठकुरी र राजन खड्काले आत्महत्याबाट बच्ने सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका थिए । आत्महत्याले आफु, परिवार, समाज र राष्ट्रलाई अपुरणीय क्षति हुने भन्दै समस्याको निकास आत्महत्या नभई डटेर सामना गर्नु उत्तम हुने सन्देश नाटकको थियो ।