साकेला खोटाङको पहिलो ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषित

४ महिना अघि

२0८१ जेष्ठ ५ शनिबार
साकेला खोटाङको पहिलो ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषित

खोटाङ, जेठ ५

साकेला गाउँपालिका जिल्लाकै पहिलो ‘पूर्ण खोप सुनिश्चित गाउँपालिका’ घोषित भएको  छ । गाउँपालिकाभित्रका १५ देखि ५९ महिना मुनिका सबै बालबालिकाले पूर्ण खोप लगाईसकेको र ० देखि १५ महिनासम्मका बालबालिकाले विश्व स्वारुथय संगठनले तोकेका सबै खोप लगाईराखेको सुनिश्चित भएसँगै साकेलालाई पूर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा गरिएको हो ।


शुक्रबार गाउँपालिका मुकाम मानेभञ्ज्याङमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई र स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतले संयुक्त रुपमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै औपचारिक रुपमा सो घोषणा गरिएको हो । 


गाउँपालिका अध्यक्ष रविप्रकाश राईले साकेलालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको बताउँदै यो सफलताले स्वास्थ्यक्षेत्रमा ठूलो फड्को मारेको स्पष्ट पारे । २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीयतह रहेको खोटाङमा सबभन्दा पहिला साकेलालाई पूर्णखोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने सफलता ल्निु गौरवको कुरा भएको उनको भनाई थियो । 


अध्यक्ष राईले यस कार्यमा अहोरात्र खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सरोकारवाला संघसंस्था र कार्यालय तथा व्यक्तिहरुलाई धन्यवाद दिए । उनले स्वास्थ्यकर्मी कर्मचारीलाई आगामी दिनमा पनि नागरिकको स्वास्थ्यप्रति संवेदनशिल र सचेत भएर निरन्तर लागिरहन आग्रह गरे । साकेलाले सजाएको समृद्धिको गन्तव्यमा पुग्न विभिन्न नीति निर्माण गरिसकेको भन्दै उनले ती नीति कार्यक्रमलाई विधिभित्र हुलेर अरुभन्दा पृथक तरिकाले कार्यान्वयन गर्न आग्रह गरे । 


अध्यक्ष राईले साकेलाको शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माणलगायत विकासको क्षेत्रमा साकेललो काम गरिरहेको बताउदै भने ‘हामी हरेक काम गर्नुपर्दा सरकारको मुख ताक्छौं तर, आफु कहिल्यै गर्दैनौँ । सबै कामको आस सरकारले गरिदेवस् भन्ने सोचाई राख्छौँ ।’ सफलता पाउनलाई अरुको आस गर्नुभन्दा मनैदेखि लागेर काम गर्दा जुनसुकै कुरामा पनि सफलता मिल्ने भन्दै उनले साकेलाको विकास र समृद्धिमा पनि यो कुरा लागू हुने बताए । साकेलाले भईरहेका विकासमा आवश्यकता र अपरिहार्यता पहिचान गरी कुनै सौदाबाजी नगरी सबैलाई समान व्यवहारका साथ संवेदनशिल बनेर काम गरिरहेको पनि उनले बतँए । 


कार्यक्रममा जिलला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चित घोषित साकेलाले यो कार्यक्रमलाई दिगो रुपमा अगाडि बढाउन सुझाए । जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित हुन सफलता पाएकोमा जनप्रतिनिधि र कर्मचारी परिवारलाई राईले धन्यबाद दिए । 


कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई ५ वटै वडाका बालबालिकालाई सरकारले तोके बमोजिम सबैखाले खोप लगाउन सुझाए । पूर्ण खोप कार्यक्रम नेपाल सरकारको प्राथमिक्तामा परेको कार्यक्रम भएकाले यसलाई जनस्वास्थ्यको सफलमध्ये प्रमुख कार्यक्रम भएको चौलागाईले बताए । स्वास्थ्य क्षेत्रमा सवैभन्दा लागत प्रभावकारी र बाल मृत्युदर घटाउन प्रमुख भूमिका खेल्ने यस कार्यक्रमले खोपलाई प्रमुख मानेको छ । 


नेपाल सरकारको मापदण्ड अनुसार विभिन्न १३ सरुवा रोगबाट बच्न खोप अनिवार्य दिनुपर्ने गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ । जस अनुसार क्षयरोग, पोलियोमाइलाईटिस, रोटा, निमोनिया, मेनिन्जाईटीस, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, जापानिज ईन्सेफालाईटिस, दादुरा, रुबेला र टाइफाइड बिरुद्धका खोपहरु बालबालिकालाई अनिवार्य दिनुपर्ने प्रावधान छ । 


कार्यक्रममा पूर्व गाउँपालिका उपाध्यक्ष सरीता खड्का, वडाध्यक्षहरु हेमन राई, गोविन्द तामाङ, एमाले प्रदेश सदस्य दूधराज तामाङ, सरस्वती मावि मात्तिमका प्रअ सितल राई, साकेला अस्पतालका डा. किसन घिमिरे लगायतको उपस्थिति थियो ।